म्याग्दीमा नवौं राष्ट्रिय खेलकुदको तयारी



म्याग्दी । 

बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदको लागि आवश्यक तयारी तीव्र बनाइएको छ ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याग्दीमा सञ्चालन गर्न लागिएको राष्ट्रिय महिला भलिबल प्रतियोगिता र तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्रता दिइएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।

महिला भलिबल प्रतियोगिताको लागि बेनीको खुलामञ्चमा खेलमैदान तयार पारिएको छ भने तेक्वान्दो प्रतियोगिताको लागि कालीपुलस्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सञ्चालनको आवश्यक तयारी गरिएको छ । खुलामञ्च र कालीपुलमा दुईवटै प्रतियोगिता सञ्चालन गर्न आवश्यक पर्ने तयारीलाई तीव्रताका साथ अगाडि बढाइएको हो ।

महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न खुलामञ्चमा खेलमैदानलाई व्यवस्थित बनाउने, अभ्यास खेल र भलिबलको कोर्ट तयार गर्ने, प्याराफिट रङ्ग्याउने, सरसफाइ गर्नेलगायत कामहरू गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । यसैगरी, तेक्वान्दो प्रतियोगिता सञ्चालनका लागि पनि कालीपुलस्थित कभर्डहलमा आवश्यक पर्ने सबै व्यवस्थापनसहितका तयारी गरिएको छ ।

हालसम्म दुवै प्रतियोगिता सञ्चालनको ८५ प्रतिशत तयारी पूरा गरिएको जनाइएको छ । असोज २७ गतेदेखि आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सय जना भन्दा बढी खेलाडी तथा अफिसियलहरू म्याग्दी आउने भएका छन् । महिला भलिबलका लागि सात प्रदेश र विभागीय टिमसहित १० र तेक्वान्दोका लागि सात प्रदेश, विभागीय र एनआरएन गरेर कुल ११ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

म्याग्दी जिल्लामा पहिलोपटक हुन लागिरहेको राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताले जिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामार्फत जिल्लाको खेलकुद क्षेत्रको विकासमा समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्