आम निर्वाचन २०७९ : प्रत्यक्षको चुनाव चिह्न सेतो कागजमा रातो मसी



काठमाडौं । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पर्सिबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ गर्ने भएको छ । दशैंअघि सामानुपातिकतर्फको ४ करोड मतपत्र छपाइ पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाइ शुरू गर्न लागेको हो । केन्द्रले करिब एक महिना लगाएर समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेको थियो । निर्वाचन आयोगले प्रदेश र संघको प्रत्यक्षतर्फको मतपत्रको चिह्नमा सेतो कागजमा रातो रङले छपाइ गर्नेछ । समानुपातिकको सेतो कागजमा कालो रङको छपाइ भएको छ ।

केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले २७ गतेबाट समानुपातिकतर्फको ४ करोड थान मतपत्र छपाइ हुने जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको ४ वटा छापाखानामा मतपत्र छपाइ जारी राखेको छ । भदौ तेस्रो साता नमुना मतपत्र छपाइ पूरा गरेको केन्द्रले समानुपातिकको सूची तयार हुनासाथ समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गरेको थियो । ‘दशैंअघि नै समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेका छौं’ –प्रवक्ता आचार्यले भन्नुभयो ।

आयोगले २६ गते बुधबार अन्तिम नामावली प्रकाशन गरेलगत्तै प्रत्यक्षतर्फको मतपत्र छपाइ हुनेछ । आयोगको निर्देशनमा केन्द्रबाटै मतदान केन्द्रमा प्याकिङ गरी ढुवानी हुनेछ । तीन तहको सुरक्षा घेराभित्र मतपत्र मतदान केन्द्रमा पु¥याइनेछ । सकेसम्म स्थलमार्ग र स्थल मार्गले नसक्ने मतदान केन्द्रमा हेलिकोप्टरबाट ढुवानी गर्ने तयारी भइरहेको छ ।

केन्द्रले आगामी मङ्सिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा ८ करोड मतपत्र छपाइ गर्ने योजनाअनुसार प्रत्यक्षतर्फको ४ करोड मतपत्र छपाइ हुन लागेको हो । केन्द्रले करिब तीन साताभित्र प्रत्यक्ष तर्फको मतपत्र छपाई पुरा गर्ने तयारी गरेको छ ।
आयोगको निर्देशन अनुसार जिल्ला अनुसारको मतपत्र छपाइ हुनेछ । शुरूमा कम मतदाता भएको र त्यसपछि बढी मतदातामा भएको जिल्लाको मतपत्र छपाइ गर्ने तयारी भइरहेको छ । मतपत्र छपाइ सुरक्षार्थ सुरक्षण मुद्रणालयमा ५० र अन्य स्थानमा गरी करिब ६५ सीसीटिभीले निगरानी गरेको छ ।

मतपत्र छाप्न केन्द्रका करिब २ सय कर्मचारी खटिएका छन् । मुद्रणालयमा प्रवेश गर्दा नेपाली सेनाले सम्पूर्ण सुरक्षा जाँच गर्नेछ । नेपाली सेनाले सुरक्षा जिम्मा लिएपछि प्रेसका कर्मचारीले सेनाकै सुरक्षा निर्देशन मान्नुपर्नेछ । छापाखाना सुरक्षा गर्न १ सय ५० जना नेपाली सेना परिचालित हुनेछन् ।
मतपत्र छाप्ने क्रममा फुटेज राख्ने र अन्य सुरक्षा जाँच समेत नेपाली सेनाबाटै हुनेछ । तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाई गर्न उच्च सुरक्षा संयन्त्र परिचालन हुनेछ । आयोगले उपत्यका र शहरी क्षेत्रबाहेका अन्य निर्वाचन क्षेत्रमा निर्वाचन आउनु करिब एक साताअघि मात्र मतपत्र पु¥याउने गरी तयारी थालेको छ ।

केन्द्रका प्रवक्ता आचार्यले मतपत्र ढुवानी गर्न प्याकिङ शुरू भइसकेको जानकारी दिनुभयो । उहाँले आयोगको निर्देशनअनुसार कार्टुनमा प्याकिङ गरिएको मतपत्र जिल्लामा पु-याउने गरी धमाधम काम भइरहेको बताउनुभयो । आयोगका कर्मचारीले मतदान केन्द्रमा रहेको मतदातासंख्याको आधारमा प्याकिङ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्