पहिरोमा परी १३ को मृत्यु , मलामी गएका १३ जनाको खोजी कार्य जारी



अर्जुन बोहरा, हुम्ला/वीरबहादुर बम, मुगु
कालीबहादुर मल्ल, कालीकोट

हुम्लामा अविरल वर्षाका कारण ५ जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका–६ मेल्छाममा एकै घरका ४ जना र ताजाँकोट गाउँपालिका–४ मा १ जना गरी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । चंखेली–६ मा वर्षाका कारण घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा ६० वर्षीया तुलसा कामी, ७ वर्षीय वसन्त विक, ९ वर्षीया सुस्मिता विक र १२ वर्षीय हैजाली विकको मृृत्यु भएको छ । सोही परिवारका ४२ वर्षीय देउचे विक, उनकी २८ वर्षीया श्रीमती अवकति विक, ११ वर्षीया छोरी निरू विक, १३ वर्षीया ममता विक र एक वर्षका छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

निरन्तरको वर्षाले माथिबाट आएको पहिरोमा परेर चंखेली गाउँपालिका–६ मासिधाराको जनबाडाका देउच्या विकको घर छोपिँदा उनकी श्रीमतीसहित १ छोरा र २ छोरीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । त्यसै गरी ताँजकोट गाउँपालिका–४ का खेमराज ढंकालको पनि माथिबाट आएको पहिरोको ढुंगाले लागेर मृत्यु भएको मृतकका आफन्त धनराज ढंकालले बताउनुभयो ।

लगातारको वर्षाले ताँजकोट गाउँपालिका ३ को मदना गाउँमा माथिबाट आएको पहिरोमा परी ७ वर्षीय बालक केनिश परियार सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षाले नाम्खा गाउँपालिकाको च्याछहरालगायतका स्थानमा सडक भत्किएर आवतजावतमा समस्या भएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवमा पनि कम्तीमा पाँच घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो ।

पहिरोले विकको घरमा पूरै क्षति पुगेको र घाइते विकसहितका घाइतेको स्थानीय मैल्छाम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेहरूको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । अविरल वर्षाले जिल्लाभरि बाढी–पहिरो बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिको आपत्कालीन बैठकबाट तत्काल उद्धार र राहतका लागि छलफल गरिएको प्रजिअ परियारले बताउनुभयो ।
त्यसै गरी मुगुमा १९ गते रातिबाट लगातार परेको वर्षाका कारण आइतबार दिउँसो ३ बजे घरको माथिबाट आएको पहिरोमा परी छायानाथ रारा नगरपालिका–११ तलि सालिमका दुई घरका आठ जनाको मृत्यु भएको छ ।

छायानाथ रारा नगरपालिका–११ तलि सालिमामा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको वडाध्यक्ष कुन्जुमा कुमाईंले जानकारी दिनुभयो । आइतबार दिउँसो हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि उहाँको परिवार समानसहित छिमेकी मानबहादुर भग्रीको घरमा सारेका थिए । दुवै घरका परिवार एउटै घरमा बसेका बेला पहिरोले उनीहरूलाई बगाएको वडाध्यक्ष कुमाईले बताउनुभयो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमाम छायानाथ रारा नगरपालिका–११ कि ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहोरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजिरा भग्री रहेको वडा अध्यक्ष कुमाईले जानकारी दिनुभयो ।

आइतबार दिउँसो ३ बजे घटना भएको भए पनि दशंैदेखि जिल्लाभर सञ्चार सेवा अवरुद्ध हुँदा घटना जिल्ला प्रशासन तथा प्रहरीमा सोमबार बिहान १० बजे सञ्चारले काम गरेपछि मात्र जानकारी आएको थियो । सर्वसाधारणमार्फत प्रशासन र प्रहरीमा घटनाको जानकारी आएपछि उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको २५ जनाको टोलीलाई बिहान ७ बजे घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुभास हमालले जानकारी दिनुभयो ।

बर्षाले खत्याड गाँउपालिका–९ को खोलीबाडा सोही वडाका देनबाडाका पुरै बस्ती विस्थापित भई विद्यालयमा राखिएको छ । छायानाथ रारा नगरपालिकाको भामबाडा, ढुमा, कार्कीबाडा पिना, तुमा, बालै घुइर, झयारी, टोप्ला, कोटीलालगायत एक दर्जन बस्तीका सयौं घर परिवार विस्तापित भएका स्थानीयले जानकारी दिएका छन् ।

यसैबीच लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलाम गएका १३ जना पहिरोमा परी बेपत्ता भएका छन् ।मलाम गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ५३ जनामध्ये अरु भाग्न सफल भएका छन् भने १३ जनालाई पहिरोले बगाएर तिला कर्णाली नदीमा पु-याएको अनुमान गरिएको छ ।बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजंग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतीलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन् ।बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । पाँच दिनको वर्षाले कालीकोटमा ठूलो क्षति भएको प्रजिअ शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्