सत्यमोहन जोशी आईसीयूमा



काठमाडौं ।

सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा सारिएको छ ।

ललितपुरको किष्ट मेडिकल कलेजले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको हो ।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ । १७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला तीन/चार दिनदेखि उनमा खानामा पटक्कै रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको जारी  स्वास्थ्य बुलेटिनमा उल्लेख छ । उनमा युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको छ ।

‘जोशीज्यूको समग्र अवस्थामा उल्लेखनीय प्रगति भएको पाइएको छैन,’ किष्ट मेडिकल कलेजको बुलेटिनमा लेखिएको छ ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै घरमा रहेको बेलामा पनि नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्