मुटुरोग विशेषज्ञ डा. ओममूर्तिलाई कामना सम्मान



काठमाडौं।

कामना न्यूज पब्लिकेसन तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले नेशनल कार्डियाक सेन्टरसँगको सहकार्यमा बिहीबार कामनाकर्मीहरूको मुटु जाँच गरेको छ ।

विश्व मुटु दिवसका सन्दर्भमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल र उहाँका चिकित्सक टिमले करिब ५० जना कामनाकर्मीको विशेष मुटु जाँच गर्नुभएको थियो ।

स्वास्थ्य जाँचपश्चात डा. ओममूर्ति अनिलले मुटुरोग लाग्नुका कारण तथा यसको रोकथामका उपायका विषयमा जनचेतनामुलक प्रस्तुति दिनु भएको थियो । जीवनशैलीमा परिवर्तन, आनबानीमा सुधार तथा नियमित स्वास्थ्य परीक्षण, उच्च रक्तचापप्रतिको होसियारी, नियमित औषधि सेवन गरेको अवस्थामा मुटुरोगबाट हुन सक्ने सम्भावित दुर्घाटनबाट बच्न सकिने डा. अनिलको भनाइ थियो ।

मुटु, मष्तिस्क तथा मृगौलालाई उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्याले असर पु¥याउने भन्दै उहाँले समस्याको पहिचान र नियमित स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह बमोजिम आफ्नो जीवनशैली खानपानमा परिवर्तन गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘सामान्यतया मुटुरोग ४० देखि ७० वर्ष उमेर समूहका मानिसमा लाग्ने गरेको पाइन्छ । त्यो उमेरका प्रायः मानिस परिवारको मुख्य सदस्य हुन्छन् । यदी, घरमुलीमा यस्तो समस्या देखा प¥यो भने त्यस घरमा आइपर्ने आर्थिक तथा मानसिक संकट दयनीय हुन्छ ।’ डा. अनिलले भन्नुभयो–‘मुटुरोगप्रति सचेतना जरुरी छ । यद्यपि, विगतको तुलनामा नेपालमा क्रमशः मानिसको चेतनास्तर वृद्धि हुँदै गएको छ ।’

मुटुरोगको समस्या धनी राष्ट्रमा भन्दा गरिब राष्ट्रमा बढी रहेको उल्लेख गर्दै उहाँले नेपालको सन्दर्भमा मुटुरोगको समस्या गम्भीर उहाँले बताउनुभयो ।

सन् २०१९ को एउटा अध्ययनअनुसार नेपालका करिब २५ प्रतिशत जनतामा उच्च रक्तचापको समस्या छ । आफूलाई उच्च रक्तचाप भएको थाहा नै नपाउनेको संख्या ५५ प्रतिशत, समस्याको पहिचानपछि चिकित्सकले औषधि सेवन गर्न सल्लाह दिँदा पनि औषधि खान नमान्ने ५५ प्रतिशतभन्दा बढी र ७३ प्रतिशतले आफूमा मधुमेहको समस्या भएको थाहा नपाएरै बसिरहेको अवस्थाबाटबारे चित्रण गर्दै उहाँले उच्च कोलेस्ट्रोल ११ प्रतिशत मानिसमा देखिएको छ भने करिब ९८ प्रतिशतलाई कोलेस्ट्रोल भएको जानकारी नै नरहेको तथ्य औंल्याउनुभयो ।

त्यस्तै, नेशनल कार्डियाक सेन्टरका चिकित्सक डा. शुभ जबराले स्वस्थ जीवनशैलीले मुटुरोगको रोकथाम हुनसक्ने बारे प्रस्तुति दिनुभएको थियो । साथै नेशनल कार्डियाक सेन्टरकै अर्का चिकित्सक डा. अभिषेक ठाकुरले मुटुरोग तथा अन्य कारणले अनाचक बेहोस भएको मानिसलाई कसरी तत्कालै प्राथमिक उपचार गर्न सकिन्छ भन्ने बारे प्रयोगात्मक शिक्षा दिनु भएको थियो ।

विश्व मुटु दिवसका सन्दर्भमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई कामना न्यूज पब्लिकेसन तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले सम्मान गरेको छ । मुटुरोगको रोकथामका निम्ति डा. अनिलले लामो समयदेखि पु¥याउँदै आउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

त्यसैगरी कामना न्यूज पब्लिकेसन तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले आयोजना गरेको मुटु जाँच शिविरमा योगदान पु¥याउने नेशनल कार्डियाक सेन्टरका चिकित्सकहरू डा. शुभ जबरा, अभिषेक ठाकुर, डा. सन्तोष साह रौनियार, डा. विजय खड्का, डा. विनय खड्कालगायत नेशनल कार्डियाक सेन्टरका नर्सिङ स्टाप, प्याथेलोजी स्टापलगायतलाई सम्झनाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा कामना न्यूज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ तथा नेपाल समाचारपत्रका सम्पादक कफिल काफ्ले मुटु जाँचमा सहयोग पु¥याउने चिकित्सक तथा नर्सिङ स्टाफलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्