मधेशमैत्री एमाले



मधेश विरोधी भनेर चिनिएको नेकपा एमाले अहिले मधेशी नेताहरूको पहिलो रोजाइमा परेको छ । विभिन्न मधेशी दलमा आवद्ध रहेका नाम चलेका नेता तथा कार्यकर्ता अहिले एमाले प्रवेश गर्ने लहर नै चलेको देखिन्छ ।

मधेशवादी दलको प्रमुख मुद्दाको रूपमा रहेको नागरिकता विधेयक एमालेकै कारण राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएपछि निष्क्रिय भएको आरोप लागिरहेकै बेला एमाले प्रवेश गर्नेको संख्या हरेक दिन बढ्नुले एमालेलाई लागेको मधेस विरोधी छाप बिस्तारै हट्दै गएको आंकलन गरिएको छ । २०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गर्नुले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एकाथरी विश्लेषकहरूले अहिले मधेशवादी दलमा आवद्ध नेताहरू राष्ट्रिय राजनीतिको मूलधारमा आउन खोजेको बताइरहेका छन् भने अर्काथरी विश्लेषकहरूले अवसरको खोजीमा रहेकाहरू अवसर पाउनका लागि एमाले प्रवेश गरेको बताउँदै आएका छन् । तर, एमाले प्रवेश गर्नेहरू भने केपी ओलीको पछिल्लो प्रधानमन्त्रीको कार्यकालमा मधेशमा विकासका चरणहरू शुरू गरेको र आफूलाई मधेश विरोधी होइन भनेर एमालेले प्रमाणित गरेको बताइरहेका छन् ।

अहिले पाँच दलीय गठवन्धनभित्र आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि टिकट बाँडफाँटमा देखिएको लफडाले गर्दा पनि अवसरको खोजीमा रहेका मधेशी नेताहरूका लागि एमाले पहिलो विकल्पको रूपमा देखिएको छ । एमाले अहिले एक्लै चुनावमा जाने तयारी गरिरहेको बेला एमाले प्रवेश गरेर टिकट लिने मधेशी नेताहरू एमालेका नेता केपी ओलीमा प्रष्ट भिजन भएको र मधेशको विकासका लागि उहाँसँग एजेन्डासमेत रहेकाले अव मधेमा एमाले निषेध होइन एमालेमय मधेश बनाउने दाबी नवप्रवेशीहरूले गरिरहेका छन् ।

सत्ता गठवन्धनका कारण मधेशवादी दल पनि विभाजित हुने अवस्थामा पुगेका छन् । मुलुकको विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थका कारण जनताबाट समेत तिरस्कृत हुने अवस्थामा सरकार पुग्नु र एमालेप्रति आकर्षण बढ्नुले आगामी मङ्सिर ४ गते हुने संसदीय चुनाव निकै रोचक बन्ने देखिएको छ । सत्ता गठवन्धनमा रहेका मुख्य दलहरूले अहिलेसम्म टिकट बाँडफाँट गर्न नसक्नु, प्रमुख दल नेपाली कांग्रेसभित्र विद्रोही समूह चुनावमा आफूहरूले भने जति सिट नपाए विद्रोह गर्ने धम्की दिनुले पनि पाँच दलीय गठवन्धनभित्रको विवादले एमालेलाई फाइदा पुग्ने देखिन्छ ।

प्रतिगमनको मतियारको संज्ञा पाएका पूर्व प्रधानमन्त्री ओलीप्रतिको आकर्षणले एमाले उत्साहित देखिन्छ तर दलको विकल्पमा अहिले देशभर स्वतन्त्रबाट उठ्ने समूहप्रति युवा आकर्षण बढ्दो अवस्थामा रहेकाले परम्परावादी दलहरूका लागि चुनौती नबन्लान भन्न सकिँदैन । यसको प्रत्यक्ष असर एमाले, कांग्रेस र माओवादीलाई पर्ने देखिन्छ । अब पनि दलहरू व्यक्तिगत स्वार्थमा अल्झिरहने हो भने दलको विकल्प पनि हुन्छ भन्ने सन्देश जाने भएकाले दलहरूले सोच्ने बेला आएको छ । त्यसैले दलले आफ्नो दम्भलाई त्याग गर्न सकेनन् भने भोलि जे पनि हुने अवस्था नआउला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्