फेडेररले लिए व्यावसायिक टेनिसबाट संन्यास



लन्डन, (एजेन्सी) ।

स्विजरल्यान्डका टेनिस स्टार रोजर फेडेररले व्यावसायिक टेनिस खेल जीवनबाट सन्यास लिएका छन् । लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर खेलेको खेलपछि फेडेररले टेनिसबाट सन्यास लिएका हुन् ।

यो खेल यसकारण पनि महत्वपूर्ण थियो, किनकि लेभर कपको यो खेलमा उनका साथी लामो समयसम्म प्रतिद्वन्द्वी रहेका राफेल नाडाल थिए । खेलपछि कोर्ट छाड्दै गर्दा ४१ वर्षे खेलाडीका लागि दर्शकहरूले उठेर लामो समयसम्म ताजी बजाएका थिए । लन्डनको ओटू एरियामा भएको यो खेलमा हजारौं प्रशंसक यो ऐतिहासिक पलको साक्षी बन्न उपस्थित भएका थिए । फेडेररले जब नाडाल र आफ्ना साथी खेलाडीलाई अंकमाल गरे, आँसु रोक्न सकेनन् । त्यसपछि ३६ वर्षे स्पेनिस खेलाडी नाडालले पनि फेडेररसँगै आँसु झारे ।

पुरुषतर्फ फेडेरर र नाडाल लामो समयसम्म एक–अर्काका प्रतिस्पर्धी थिए । तर, लेभर कपमा युरोपको तर्फबाट दुवैले मिलेर खेलेका थिए । उनीहरूको प्रतिस्पर्धा अमेरिकी जोडी ज्याक सक र फ्रान्सेस फाइफोसँग थियो ।एक वर्ष कोर्टबाहिर रहेका फेडेररले अमेरिकी जोडीविरुद्ध शानदार खेल खेले, तर ४–६, ७–६ (७–२) र ११–९ ले खेल गुमायो । यो खेलमा फेडरर र नाडालको जोडीलाई फेडाल नाम दिइएको थियो र, यो हारका कारण फेडेररको २५ वर्ष लामो प्रोफेसनल करियर समाप्त भयो । १७ हजार ५ सय समर्थक उपस्थित उक्त खेलपछि फेडेररले सन्यास लिएको घोषणा गर्दै कोर्टमा आफ्नो सम्बोधनका क्रममा भने,–‘म फेरि एकपटक भन्छु, यो एक शानदार यात्रा रह्यो ।’ २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १ हजार ७ सय ५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन् ।फेडेररले यसअघि नै लन्डनमा हुने लेभर कपबाट सन्यास लिने घोषणा गरेका थिए । सोहीअनुसार उनले आफ्नो शरीरले हालै स्पष्ट सन्देश दिएको र २५ वर्षमा १५ सय भन्दा बढी खेल खेलेको स्मरण गराए । फेडेररको सन्यासको घोषणासँगै टेनिसमा एक युगको अन्त्य भएको छ । पाँच सिजन लगातार शीर्ष वरियतामा रहेका फेडेररले राफयल नाडाल र नोभाक जोकोभिचसँग पुरुष टेनिसको स्वर्णिम युग बिताएका छन् ।

विगत दुई वर्षको धेरैजसो घुँडाको चोटसँग लडिरहेको थियो र समस्यालाई हटाउन फेडररले तीनवटा शल्यक्रिया गर्नुपर्ने थियो । गत वर्ष विम्बल्डनको क्वार्टरफाइनलमा पोल्यान्डका ह्युबर्ट हुर्काकजसँग पराजित भएपछि उनले प्रतिस्पर्धात्मक खेल खेलेका थिएनन् ।उनको सर्भिङ, फोरह्यान्ड, फुटवर्क र आक्रमण गर्ने शैली सबै याद रहनेछन् । उनका प्रतिद्वन्द्वी ३६ वर्षीय नाडाल र ३५ वर्षीय जोकोभिचसँगको खेलहरू पनि अविस्मरणीय थिए, जसले दुवैले बराबरी गरे । नाडाल २२ ग्रान्डस्लामसहित शीर्षमा रहँदा जोकोभिचले २१ ग्रान्डस्लाम उपाधि जितेका छन् । सन् १९९८ मा व्यावसायिक टेनिसमा १६ वर्षको उमेरमा डेब्यु गरेका फेडेररले पहिलोपटक २००३ मा ग्रान्डस्लाम उपाधि विम्बल्डन टेनिस जितेका थिए । फेडेररले ८ विम्बल्डन, ६ अस्ट्रेलियन ओपन, ५ यूएस ओपन र एक फ्रेन्च ओपन जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्