सडक दुर्घटना न्यूनीकरण सम्बन्धी पूर्व अभ्यास



रामेछाप । रामेछापमा सडक दुर्घटना सम्बन्धी कृति अभ्यास गरिएको छ । सडक दुघटनाबाट हुने मानवीय क्षति कम गर्न शनिवार रामेछापमा पूर्व अभ्यास गरिएको हो ।

अभ्यासमा रामेछाप नगरपालिका–८ भँगेरीमा यात्रु बाहक बस दुर्घटना भएको हुन्छ । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिन्छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियता हुन्छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले यदि कुनै दुर्घटना भइहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्न सक्ने बताउनुभयो । विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले जुनसुकै समयमा विपद्का घटना हुने भएकाले सम्बन्धित निकाय सदैव तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । कुनै पनि विपद्का घटना थाहा दिएर तथा बाजा बजाएर आउँदैनन्, तर सडक दुर्घटना भने लापरबाहीले नै बढी हुने गरेका छन्, त्यसैले यस्ता अभ्यासको ठुलो महत्त्व छ उहाँले भन्नुभयो ।

रामेछापमा आर्थिक वर्ष २०७८÷०७९ मा ३३ वटा भन्दा बढी सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी २२ जनाले ज्यान गएको थियो भने ९८ जना घाइते भएको थिए ।

प्रतिक्रिया दिनुहोस्