ललितपुर–१६ वडामा वर्षभरि योग सञ्चालन हुँदै



ललितपुर । ललितपुर महानगरपालिका–१६ वडा कार्यालयले एक वर्षसम्म हरेक दिन योग सञ्चालन गरिने भएको छ ।

वडाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेशी गरी यसलाई वर्षभरि निरन्तरता दिन लागिएको हो । दैनिक योग सञ्चालनको लागि वडाअध्यक्ष निर्मलरत्न शाक्यको अध्यक्षतामा १६ वडा योग साधना केन्द्र गठन गरिएको वडाले जनाएको छ । केन्द्रलाई पतञ्जली योग पीठ नेपालको वाग्मती प्रदेशको शाखाको रुपमा आबद्धता गरिएको छ ।

सो समितिमा योग साधनाको अभ्यास गर्दै आएका १७ जना व्यक्तिहरु रहेका छन् । नकबहील योग साधना केन्द्रको व्यवस्थापनमा वडाले दुई महिना अघि योग सञ्चालन शुरुआत गरेको थियो।दैनिक योग गर्दै आएका वडाबासीहरुको सल्लाह र सुझावमा वडाले समिति गठन गरी योग कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

वडाअध्यक्ष शाक्यले दैनिक जीवनमा योगको आवश्यकता र महत्वलाई बोध गरी योगलाई दीर्घकालीन महत्वको कार्यक्रमको रुपमा राखेको शुक्रबार आयोजित सदस्यता वितरण कार्यक्रममा बताउनुभयो ।

योग सञ्चालनको लागि वडाले चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजित गरिएको जनाउँदै वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘यो वर्षभरि हरेक दिन सञ्चालन हुनेछ । योग सञ्चालन गर्न अशोक हलसंग सम्झौता गरिसकेकोे छ । यसको निरन्तरतामा कसैले शंका नगरे हुन्छ ।’

दैनिक रुपमा योगको अभ्यास गर्दै आएका वडाबासीको एक समूहको प्रस्तावमा वडाले यस अघि गत श्रावण ३ देखि ७ गतेसम्म योग शिविर सञ्चालन गरेको थियो । ‘शिविरपछि योगको महत्वलाई बुझ्दै वडाले दैनिक रुपमा योग सञ्चालन गर्ने निर्णय ग¥यो । यस कार्यबाट योग गर्नेहरुको निकै उत्साह मिलेको छ ।

दैनिक योग कार्यक्रममा सहभागी हुँदै आउनुभएका समितिका सल्लाहकार समेत रहुनभएका उषा बज्राचार्यले भन्नुभयो ।सोही कार्यक्रममा वडाले दैनिक योग गर्दै आएका ५० जनालाई टिशर्ट वितरण गरेको थियो । सो अवसरमा वडाका सल्लाहकार धर्मेन्द्र शाक्यले वर्षभरि योग सञ्चालन अनुभव बटुलेर योग सम्बन्धी अस्पताल नै खोल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्