प्रधानसेनापति शर्माद्वारा सेनाका प्रशिक्षक तथा खेलाडीलाई सम्बोधन



काठमाडौं । प्रधानसेनापति प्रशुराम शर्माले नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरुलाई सम्बोधन गरेका छन् । आज (शुक्रबार) त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई प्रधानसेनापति शर्माले सम्बोधन गरेका हुन् ।

यहीँ महिनाको २८ गतेदेखि आगामी कार्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली सेना, त्रिभुवन आर्मी क्लवमा आबद्ध प्रशिक्षक तथा खेलाडीहरुको हौसला तथा मनोवल वृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानसेनापतिले नेपाली सेनाको सदस्यका रुपमा खेलकुद क्षेत्रमा आबद्ध भई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा नेपाली सेनाको छविलाई अभिवृद्धि गर्न योगदान दिनु हुने प्रशिक्षक एवं खेलाडीहरुलाई धन्यवाद दिएका छन् ।

सोही क्रममा खेलकुदका माध्यमबाट समग्र नेपाली सेनाको प्रतिनिधित्व गर्दै नियमित रुपमा आम नागरिकहरुसँग सम्पर्कमा रहने सम्पूर्ण नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरु नागरिक सैनिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण सेतुका रुपमा स्थापित रहेको उल्लेख गर्दै सम्पूर्ण खेलाडीहरुलाई आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिष्पर्धामा सहभागी हुँदा सबैभन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात गर्दै नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रुपमा प्रस्तुत हुन समेत निर्देशन दिएका थिए ।

नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनामा खेलकुदको विकासका लागि व्यवस्था गरिएको १० करोडको अक्षयकोषले आगामी दिनमा खेलाडीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।

नले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आफुलाई प्राप्त प्रशिक्षणलाई मनन् गर्दै आफ्नो क्षमता प्रदर्शन गरी बढीभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै पुनः त्रिभुवन आर्मी क्लबलाई टिम च्याम्पियन बनाउन सम्पूर्ण प्रशिक्षक तथा खेलाडीहरुलाई शुभकामना दिएका थिए । साथै, उक्त कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ्ग ट्रफीसमेत प्रदर्शनी गरेको सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्