अपराध रोकथाम तथा नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई तालिमको आवश्यक : गृहमन्त्री



काभ्रेपलाञ्चोक । आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित एवं विशिष्टिकृत तालिमहरू प्रदान गर्न आवश्यक रहेको गृहमन्त्री बालकृष्ण खाणगृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

समाजमा नयाँ–नयाँ अपराध र आपराधिक प्रकृतिहरूको विकास भइरहेको र शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको दायरा समेत फराकिलो हुँदै गईरहेको अवस्थामा यस्तो परिवेश र परिस्थितिसँग जोडिएर आउने सुरक्षा र आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित तालिम प्रदान गर्न आवश्यक रहेको बताएका हुन् ।

भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतिस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उक्त कुरा बताए ।

समारोहमा गृहमन्त्री खाण तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना काभ्रेको भूमि पूजन गरेका थिए ।

सम्बोधनको क्रममा गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका अपराधहरूको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने र देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण र जटिल जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न गुणस्तरीय प्रशिक्षण महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षणको माध्यमद्वारा प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी समग्र प्रहरी संगठनको क्षमता विकास हुने र समष्टिगत रुपमा सिंगो संगठनको उत्पादकत्व वृद्धि हुने बताए ।

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने उक्त प्रतिष्ठानले दक्ष र सक्षम प्रहरी जनशक्ति उत्पादन गरी जनअपेक्षा बमोजिम गुणस्तरीय र भरपर्दो प्रहरी सेवा प्रदान गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपाल प्रहरीको तालिमको गुणस्तर वृद्धि गरी नेपाल प्रहरीका अधिकृतहरूलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन मद्दत गर्नुका साथै नेपाल प्रहरीमा सकारात्मक परिवर्तनको लागि महत्वपूर्ण सावित हुने विश्वास उनले बतथाए ।

गृहमन्त्री खाणले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि निरन्तर सौहार्द र सुमधुर रहेको, दुवै राष्ट्रबीच राजनीतिक, व्यापारिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत हेरक क्षेत्रमा साथ र सहयोग रहेको चर्चा गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने कार्यमा भारतीय सहयोगमा निर्माण हुन गइरहेको परियोजनाले इँटा थप्ने कार्य गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्