महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र



काठमाडौं । 

टुकुचामाथि कानुनसम्मत निर्माण भएका भवन र १ सय ३० वर्ष इतिहास बोकेको टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगपालिकाविरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ती पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले नेपाल समाचारपत्रको जिज्ञासामा एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गर्नुभएको थियोे । अदालतका कर्मचारीले कामपा महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि

उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । मेयर बालेन्द्र साहको सचिवालयमा पुगेका पत्र फरकफरक प्रकृतिका छन् । १ सय ३० वर्षअघि राणा प्रधानमन्त्री वीर शम्शेरले बाटोमा आवातजावत गर्न भन्दै उक्त क्षेत्रको बाटोमा बग्ने टुकुचालाई छोपेका थिए । मेयर साहले अदालतको आदेशलाई समेत लत्याउँदै टुकुचा खोल्ने काम जारी राख्नुभएको छ ।

कामपाको ज्यादतिविरुद्ध जय नेपालदेखि कमलादीसम्मको स्थानीय र व्यवसायीले अदालतमा मुद्दा दायर गरेका थिए । अधिकांशले नक्साअनुसार भवन निर्माण गरेको प्रमाणको आधारमा मुद्दा दायर गरेपछि उच्च अदालतले कामपालाई तत्काल काम रोक्न पत्र पठाएको हो ।कामपालाई कारबाही गर्न माग गरिएको सो मुद्दाको विषयमा असोज २६ गते छलफल हुने भएको छ । कामपाले ४ सय ४० मिटर खण्डको खोला सफा गर्ने भन्दै नक्सा भएका घरमा समेत डोजर आतंक फैलाएको थियो ।

महानगरका प्रवक्ता मानन्धरले घर भत्काउने काम तत्काल रोक्ने तर टुकुचाको धार खोज्ने कामलाई निरन्तरता दिने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो–‘काम रोकेको होइन, मेसिन नभएका कारण केही दिन स्थगित भएको हो । हामीसँग १५ फिट गहिराइसम्म खन्न मिल्ने मेसिन मात्र छ । त्यहाँ ३५ मिटरसम्म खन्नु पर्ने भएकोले मेसिनको अभावमा काम रोकिएको हो ।’
पुरातात्विक महत्वको गुम्बज आकारको डुँड भत्काएको विषयमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो– ‘अब भत्काउँदैनौं ।

सरोकारवालाको सहयोगमा कार्यविधि बनाएर काम गर्नेछाैं । हामी टुकुचा बग्ने बाटो खोल्ने कामलाई निरन्तरता दिनेछौं । अदालतले पनि सोही आदेश दिएको हो । अब घर भत्काउने विषयमा तत्काल निर्णय गर्दैनौं ।’कामपाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तिसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा जयनेपाल हल, त्यससँगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौ तले भवन गरी ७ वटा ठुला संरचना रहेका छन् ।टुकुचालाई खुला रूपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिन अघिदेखि जय नेपालबाट टुकुचाको क्षेत्र खाली गर्न थालिएको हो । महानगरले पहिलो चरणमा करिब ७ अर्ब रुपियाँ खर्चेर टुकुचा खोला खाली गर्ने तयारी गरेको थियो ।

पछिल्लो समयमा मेयर बालेन्द्रको आतंकका कारण समस्या बढेको स्थानीयको आरोप छ । अधिकांशले धोबीखोला, विष्णुमति, रुद्रमतीलगायत काठमाडाैं भएर बग्ने नदीको विषयमा चासो नदेखाएर केवल ढल मात्र बग्ने टुकुचामा हात हालेपछि मेयर बालेन्द्रको विरोध शुरू भएको छ । सो विषयमा जानकारी लिन नेपाल समाचारपत्रले पटकपटक सम्पर्क गर्न खोज्दा पनि मेयरका स्वकीय सचिव भुपदेव साहको फोन उठेन ।

महानगरले स्रोतबाटै टुकुचा सफा र खुला गर्ने तयारी गरिरहेको छ । शहरी विकास विभागले पहिलो चरणको काम सकेलगत्तै दोस्रो चरणको काम शुरू गरिने जनाएको थियो । टुकुचाको पहिलो स्रोत शंखपार्क र बाँसबारी क्षेत्र हो । त्यहाँबाट शुरू भएको टुकुचा भाटभटेनीको टुँडालदेवी मन्दिरनिर पुग्छ । त्यसपछि नारायणहिटी, निल सरस्वती मन्दिर, तीनधारा मार्ग, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली, त्रिपुरेश्वर हुँदै कालमोचन घाटमा पुगेर वागमतीमा मिसिन्छ ।

प्रतिक्रिया दिनुहोस्