एलेन र इभानालाई स्वर्ण



काठमाडौं । 

आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम-एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो भएका हुन् ।

काठमाडौं खेल मण्डल (केकेएम)-न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई ११–५, ११–७ र ११–७ को सोझो सेटमा पराजित गरे । केकेएम-एनआरटीका शंकर पहाडी र एभीएमका अतित गुरुङ तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको गल्र्सको स्वर्ण भिडन्तमा इभानाले केकेएम- एनआरटीकी नर्मदा खाइतुलाई ११–८, ११–६ र ११–३ को सीधा सेटमा हराए । एभीएमका आर्सना महर्जन र साइरा शाक्य तेश्रो बने । प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष-महिला, क्याडेट र जुनियर ब्वाइज-गल्र्स सिंगल्स ६ तथा भेट्रानमा ५ गरी जम्मा ११ स्पर्धा समावेश छन् ।

भेट्रानका ५ स्पर्धा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष-महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०-१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । जुनियर ब्वाइज-गल्र्स सिंगल्स (यु–१९) तथा क्याडेट ब्वाइज-गल्र्स सिंगल्स (यु–१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय-२ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्