इमेज अवार्डमा प्रविण र अञ्जु सर्वोत्कृष्ट महलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड



काठमाडाैं  ।

गीत संगीतका विभिन्न १५ विधामा सोमबार साँझ राजधानीमा २२औँ ईमेज अवार्ड सम्पन्न भएको छ। सोल्टीमोडस्थित सोल्टी होटलमा भव्यताका साथ सम्पन्न अर्वाड समारोहमा ख्यातिप्राप्त हास्यव्यंग्य जोडी तथा गायकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। मह जोडीलाई सो अवार्डबाट सम्मानित गरिँदा संगीतप्रेमीले स्वतस्पूर्तरूपमा सिटबाट उठेर उनीहरूप्रति सम्मान व्यक्त गरेका थिए।

१८ बाट १५ विधामा समायोजन गरिएको अवार्ड समारोहमा छुट्नुपर्ने बोलको गीतबाट प्रवीण बेडवाल र पुरानो घाउ बोलको गीतबाट अञ्जु पन्तले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुमेका छन्। त्यसैगरी, माया मारेरबाट धर्मेन्द्र सेवान र अकस्मातबाट बानिका प्रधानले पप गायक गायिकाको अवार्ड उचाले भने मेरो देश बिरामीबाट युनिक पोयटले सर्वोत्कृष्ट नेपहप÷¥याप प्रस्तुतिको अवार्डलाई आफ्नो बनाए।

विभिन्न मनोरन्जन प्रस्तुतिका साथ अघि बढेको समारोहमा घुमी घुमीबाट सुजन चापागाईं र शान्तिश्री परियार लोक गीत गायन तथा डाँडाघरे साइलीबाट स्वरूपराज आचार्य र लक्ष्मी मल्ल दोहोरी गायनको अवार्ड विजेता बने। त्यस्तै नबोली नबोलीबाट प्रवीण बेडवाल र समीक्षा अधिकारी समूह वा युगल गायनको विजेता बन्दा रमेश दाहाल आफैँ हिँड्ने बाटोबाट गीत रचना, तड्पी तड्पीबाट कर्मा ग्याल्जेन बम्जन संगीत, देखेर तिमीलाईबाट सुजन चापागाई र विद्या तिवारी सर्वोत्कृष्ट गीतको अवार्ड विजेता भए। त्यस्तै, मिलन नेवार फुलबुट्टे सारीबाट टुर्बोग पब्लिक च्वाइस अवार्ड विजेता भएकी छन् भने नुनको भारीबाट भीमसेन कल्याल ठकुरी म्युजिक भिडियो छायाँकार, पदम सुबेदी म्युजिक भिडियो सम्पादक र विनयराज पौडेल म्युजिक भिडियो निर्देशक विधाको अवार्ड विजेता भए।

कोरोना संक्रमण कारण अघिल्ला दुई वर्ष हुन नसकेको अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, संगीत, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो। कार्यक्रममा कलाकारहरूले मनोनयनमा परेका गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए। ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले दर्शक, श्रोता, विज्ञापन दातालगायतको साथ र सहयोगका कारण इमेज अवार्डले २२औँ संस्करण सम्पन्न गर्न सकेको बताए।

प्रतिक्रिया दिनुहोस्