‘तिम्रो तस्बिर’ पछि ‘दशैं आयो तिहार आयो’ (भिडियोसहित )



काभ्रे। 

‘तिम्रो तस्बिर’ पछि पत्रकार तथा कानुन व्यवसायी काभ्रे पनौती ३ कुशादेवी निवासी सरिता सापकोटाले ‘दशैं आयो तिहार आयो’ नामक म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । पत्रकारिता र कानुन व्यवसायमा संलग्न भई निरन्तर क्रियाशील सापकोटा गीत लेखनसँगै गायनमा पनि सक्रिय हुनु भएको छ ।

सापकोटाको असोज २ गते आइतबार युट्युब च्यानल फाइभ स्टार्स मार्फत दशैं आयो तिहार आयो नामक गीत सार्वजनिक भएको छ । गीतमा परदेशी नेपाली र स्वदेशमा रहेका परिवारको पीडा समेटिएको छ । सापकोटाले लेखेको गीतमा उनी सहित सञ्जय बडालले स्वर दिएका छन् भने संगीत  मनोज चौलागाईंको रहेको छ ।

गीतको म्युजिक भिडियो शशिविक्रम थापाले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा योगेश कार्की, आशिका केसी, आवाज थापा, रुबी दंगाल, जगदीश अधिकारी र आस्था गौतमले अभिनय गरेका छन् । गीतकार एवं गायिका सापकोटाको यो दोस्रो साङ्गीतिक कोसेली हो ।

गीतमा नेपालमा रोजगारको अभाव पछि बिदेसिएका नेपाली युवा दशैं र तिहार जस्तो महान चाडमा समेत फर्कन सक्दैनन् । परदेशमा श्रम गरिरहँदा चाडबाडमा फर्कन नपाउँदा व्यक्त गरेका पीडा, आँसु, पसिना गीतमा समेटिएको छ । आफ्नी प्यारीको चाहना, बच्चा र बाबुआमाको सम्झना र पखाईको पीडा गीतमा समेटिएको छ । लालाबाला नेपालमा हुँदा परदेश गएका बाबा आउने, दशैंमा पिङ खेल्ने, चङ्गा उडाउने, टिका लगाएर आर्शिवाद लिन नपाउँदा भक्कानिएको मनको आवाज गीतमा समेटिएको छ । गरिब हुनुको पीडाले दशैमा घर नआउँदा सन्तान रोएको दर्दनाक अवस्था गितले बोलेको छ ।

दशैसँगै तिहारको पीडा पनि गीतमा समेटिएको छ । मखमली फूल टिपेर माला गाँसेर पर्खदा पनि दाजु नआएको पीडा उत्तिकै छ । परदेशबाट श्रीमानले हातमुख जोड्न पसिना काटिरहेको, धन कमाउन मेहनत गरेकाले आउन नपाएको बताउँदा श्रीमतीले खोले र सिस्नु खाएर बसमला तत्कालै फर्कुन् भन्ने अनुरोध गर्छिन् । यस्तै भाव भरिएको गीत समेटिएको एल्बम दशै आयो तिहार आयो सापकोटाले सार्वजनिक गरेकी हुन् ।

यसअघि उनको रचना तथा प्रताप दासको स्वरमा रहेको तिम्रो तस्बिर बोलको गीत गत सातामात्रै सार्वजनिक भएको थियो । उक्त एल्वममा मनोज चौलागाईको संगीत रहेको थियो ।

उक्त एल्वममा प्रेममा भएको खटपट तथा एक विना अर्को बाँच्न सिकेको भाव व्यक्त गरिएको छ । युवापुस्ता माझ लोकप्रिय उक्त गीत लेखन पछि सापकोटाले अर्को प्रस्तुति गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्