चारै युगमा चिरञ्जीवी र प्रतापी हनुमान



अञ्जनेय नन्दन श्री बजरङ्गबली पवन पुत्र हनुमानको विषयमा गोस्वामी श्री तुलसीदासले हनुमान चालीसामा ‘चारो जुग परताप तुम्हारा’ भनी प्रशंसा गर्नुभएको पाइन्छ । यसै विषयमा विचार गरी हेरौं कि हनुमान सत्य, त्रेता, द्वापर र कली युगमा कहाँ–कहाँ कहिले–कहिले कुन–कुन स्वरुपमा अवतरित हुनुभएको थियो ?

अञ्जनी गर्भ सम्भूतो वायुपुत्रो महाबलः ।
कुमारो ब्रह्मचारी च हनुमान प्रसिद्धिताम् ।

सर्वप्रथम सत्ययुगको चर्चा गरौं । यस युगमा पवनपुत्र हनुमान भगवान् शंकरको स्वरुपमा अवस्थित रहनुभएको थियो । त्यसैले त हनुमानलाई रुद्रावतार शिव स्वरुप भनिएको हो । गोस्वामी श्री तुलसीदासले हनुमान चालीसामा नै ‘शंकर सुवन केसरी नन्दन’ भनी सम्बोधन गर्नुभएको छ ।
यतिमात्र होइन, जब–जब भगवान् शंकरले पार्वतीलाई रामको कथा सुनाउनुहुन्थ्यो तब–तब हनुमानको चरित्रको प्रसंग आउँदा भोलेनाथ शंकर स्वयं सावधान भई मनलाई पनि सम्मोहित गरेर हनुमानको चरित्र सुनाउनुहुन्थ्यो । त्यसको एक झलक यस्तो पाइन्छ–
सावधाना पुनि मनकर शंकर ।
लागे कहन कथा अति सुन्दर ।
यस चौपाइको यो प्रसंग लंका दहनको हो । लंका दहन गरिसकेपछि हनुमानले प्रभु श्री राघवेन्द्रको चरण वन्दना गर्नुहुन्छ र प्रभुले हनुमानलाई हृदयमा लगाउनुहुन्छ । तब शंकर भोलेनाथ कति प्रसन्न हुनुहुन्छ, त्यसको एक झलक यस चौपाइमा देखिन्छ ।
ऋष्य मूक पर्वतको मैदान स्थानमा जब पहिलोपटक राम र लक्ष्मणसँग हनुमानको भेट हुन्छ तब प्रभु रामले आफ्नो परिचय दिनेबित्तिकै हनुमान प्रभु रामको पावन पाउमा पर्नुहुन्छ, तब भोलेनाथ शंकरले गिरिजालाई बताइहाल्नु हुन्छ कि–
प्रभु पहिचान गहेउ पहि चरना ।
से सुख उभा जाहिं नहिँ वरना ।
यस प्रकार आफ्नो स्वरुपको वर्णन भोलेनाथ शंकरले पार्वतीसँग गर्नुहुन्छ । अतः यो प्रमाणित हुन्छ कि श्री हनुमान सत्ययुगमा शिवरुपमा रहनुहुन्छ, त्रेतायुगमा त पवन पुत्र हनुमान श्री रामको छायाझैँ बन्नुहुन्छ । उहाँविना रामायणको सम्पूर्ण चरित्र नै पूर्ण हुँदैन ।श्री राम, भरत, सीता, सुग्रीव, विभिषण आदि र सम्पूर्ण कपिमण्डल कोही पनि हनुमानको ऋणबाट मुक्त हुन सक्दैनन् । यस प्रकार त्रेतायुगमा त हुनुमान साक्षात रुपमा रहनुभएको थियो ।

द्वापर युगमा हुनमान अर्जुनको रथमा विराजमान रहनुभएको थियो । यससम्बन्धमा एक रोचक एवं रमाइलो प्रसंग रहेको छ । एकपटक कुनै तीर्थाटन अर्थात् यात्रामा अकस्मात् अर्जुनको भेट हनुमानसँग हुन पुग्छ । भनिन्छ कि भक्तजनहरुमा एक भक्तको भेट जब अर्को भक्तसँग हुन्छ तब त्यहाँ निश्चय नै भागवत चर्चा प्रारम्भ भइहाल्छ । त्यसै बेला हनुमानसँग अर्जुनले सोधे– ‘राम र रावणको युद्धको समयमा त तपाईं हुनुहुन्थ्यो नि !’ तब हुनमानले जवाफमा भन्नुभयो– ‘म त्यति बेला केवल उपस्थित मात्र थिइन युद्ध पनि गरिरहेको थिएँ ।’

तब अर्जुनले भन्नुभयो, ‘तपाईंको स्वामी मर्यादा पुरुषोत्तम श्री राम श्रेष्ठ धनुषधारी हुनुहुन्थ्यो फेरि उहाँलाई समुद्र पार जानलाई ढुंगाको पुल बनाउन किन आवश्यकता प-यो ? यदि म त्यहाँ भइदिएको भए समुद्रमा वाणको पुल बनाउँथेँ, जसबाट तपाईंका पूरा बानर सेना पार गर्थे ।’हनुमानले भन्नुभयो– ‘असम्भव, वाणको पुल त्यहाँ कुनै काम लाग्दैनथ्यो, हाम्रा यदि एकजना मात्र बाँदर चढ्दा वाणको पुल छिन्नभिन्न हुन जान्थ्यो ।’ अर्जुनले भन्नु भयो– ‘होइन, हेर्नुस् यो अगाडि सरोवर छ, म त्यस सरोवरमा वाणको पुल बनाइदिन्छु, तपाईं त्यसमा चढेर सरोवर पार गर्न सक्नुहुनेछ । यदि तपाईं हिँडेर पुल भाँचिएमा म अग्निमा प्रवेश गर्नेछु ।

यदि पुल भाँचिएन भने तपाईं अग्निमा प्रवेश गर्नुपर्नेछ ?’ हनुमानले पनि अर्जुनको यो सर्त स्वीकार गर्नुभयो । तब अर्जुनले आफ्नो प्रचण्ड वाणद्वारा पुल तयार गरिदिनुभयो । जबसम्म पुल बनेर तयार भएको थिएन तबसम्म त हनुमान आफ्नो लघुरुपमा अर्थात् सानो रुपमा रहे तर पुल बनिसकेपछि हनुमानले आफ्नो रुप पनि त्यसै समयका जस्तै बनाइदिए । अर्थात् ठूलो बनाइदिए । जसरी तुलसी दासजीले राम चरित मानसमा वर्णन गर्नुभएको छ– ‘कनक भूदराकार शरीर, समय भयंकर अति बल वीरा ।’

श्री रामको स्मरण गर्दै हनुमानले त्यस वाणको पुलमा चढे र पहिलो कदम राख्नेबित्तिकै पुल साराका सारा डगमगाउन थाल्यो, दोस्रो पाउ राख्नेबित्तिकै पुल चलमलायो तर पुल भाँचिएन अनि तेस्रो पाउ राख्नेबित्तिकै पूरा पुल ध्वस्त भएर सरोवरमै डुब्यो तब हनुमान पुलबाट तल आएर अर्जुनसँग भने कि अग्नि तयार पार ।अग्नि प्रज्वलित पारियो । जसै अर्जुन अग्निमा होमिन लागे, त्यसै बेला त्यहाँ लीला पुरुषोत्तम श्री कृष्ण प्रकट हुनुभयो र भन्नु भयो– पख–पख । तब अर्जुन र हनुमानले श्री कृष्णलाई प्रणाम गरे । श्री कृष्णले सोध्नुभयो– ‘यहाँ कुन कुरामा विवाद भएको छ ?’ तब अर्जुनले सारा वृत्तान्त बताउँदै भन्नुभयो– ‘यो सबै मेरै इच्छाले भएको हो ।’

यति कुरा श्री कृष्णलाई बताइसकेपछि अर्जुनले क्षमा माग्दै भन्नुभयो– ‘म त ठूलै अपराधी भएँ, प्रभु मेरो यो अपराध कसरी हटाऊँ ?’ तब दयालु श्री कृष्णले भन्नुभयो– ‘यो सबै मेरै इच्छाबाट भएको हो, मन खिन्न नपार्नू, मेरो आज्ञा छ कि हनुमानले अर्जुनको रथ र ध्वजामा स्थान ग्रहण गर्नुहोस् ।’ यसैले द्वापर युगमा हनुमान अर्जुनको रथको ध्वजामा रहनुभएको थियो । यो त भयो द्वापरको प्रसंग ।

यत्र यत्र रघुनाथ कीर्तन तत्र कृत मस्तकाञ्जलिम् ।
वाष्य वरि परिपूर्ण लोचन मारुति नमत राक्षसान्तकम् ।

कलियुगमा जहाँ–जहाँ भगवान् श्री रामको कथा–कीर्तन हुन्छ, त्यहाँ–त्यहाँ हनुमान गुप्तरुपमा विराजमान रहनुहुन्छ । कलियुगमा हनुमान गन्धमादन पर्वतमा निवास गर्नुहुन्छ । यो कुरा श्रीमद्भागवतमा वर्णन गरिएको छ । हनुमानलाई अष्टचिरञ्जीवीमध्ये एक चिरञ्जीवी पनि मानिन्छ । चारै युगमा उहाँको प्रताप फैलिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्