पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

टुकुचामाथि निरन्तर डोजर



काठमाडौं । 

काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको (इच्छुमति) टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरुले धमाधम घर खाली गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हाल, त्यससँगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् ।

टुकुचालाई खुला रुपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिनअघि जय नेपालबाट टुकुचा क्षेत्र खाली गर्न थालिएको हो । त्यस क्रममा हिजो शनिबार लक्ष्मी बंैकको छेउको रुख काटेको थियो । त्यसलगत्तै बेसमेन्टमा प्वाल पारेर ढाकिएको टुकुचा खाली गर्न शुरु गरेको हो ।

कामपालाई सबैभन्दा ठूलो तनाव लक्ष्मी बैंकको मुख्यालय भत्काउनु रहेको छ । कामपा शहरी विकास विभाग प्रमुख सुरज शाक्यले भन्नुभयो– ‘हामीले दिएको सूचना पालना नगरेपछि एक्सनमा गएका हौं ।’ कामपाले चुकुचा हडपेको विषयमा ड्रोनबाट तस्वीर खिचेर पत्ता लगाएको थियो ।

कामपाका अनुसार सो क्षेत्रमा ३३ वटा नक्सा पास नगरी बनाइएका घर रहेका छन् । ‘पहिलो चरणमा काठमाडौं मलसम्मको क्षेत्र खाली गर्नेछौं, त्यसपछि दायाँबायाँका संरचना हटाउनेछाैं । यो काम गर्न महानगरलाई अझै एक महिना लाग्न सक्छ । नारायणहिटी दरबार परिसरबाट बाहिर निस्केदेखि नै टुकुचा छोपिएको छ । छोपिएको भाग खोतलेर पूर्ण रुपमा टुकुचालाई सौन्दर्यीकरण गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । मेसिन लगाए चाँडै खाली हुनेछ भने मान्छेले काम गरे धेरै समय लाग्नेछ’ –काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो ।

महानगरले पहिलो चरणमा करिब ७ अर्ब रुपियाँ खर्चेर टुकुचा खोला खाली गर्नेछ ।४ सय ४० मिटर खण्डमा टुकुचा कहाँ–कहाँ बग्छ भन्ने विषयमा कामपाले ड्रोन र स्थानीयको सहयोग लिएको थियो । महानगरले स्रोतबाटै टुकुचा सफा र खुला गर्ने तयारी गरिरहेको छ । शहरी विकास विभागका निर्देशक शाक्यले पहिलो चरणको काम सकेलगत्तै दोस्रो चरणको काम शुरु गरिने जानकारी दिनुभयो । कामपाले पहिलो दिन मध्यरातसम्म काम गरेको थियो । जय नेपालको पर्खाल भत्काएर चुकुचा बगिरहेको क्षेत्र पहिचान गरेपछि महानगरले सबै क्षेत्रमा भत्काउन शुरु गरेको हो ।

टुकुचाको पहिलो स्रोत शंखपार्क र बाँसबारी क्षेत्र हो । त्यहाँबाट शुरु भएको टुकुचा भाटभटेनीको टुँडालदेवी मन्दिरनिर पुग्छ । त्यसपछि नारायणहिटी, नील सरस्वती मन्दिर, तीनधारा मार्ग, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली, त्रिपुरेश्वर हुँदै कालमोचन घाटमा पुगेर वागमतीमा मिसिन्छ । महानगरले महत्वाकांक्षी योजनालाई सफल बनाएर अन्य खोलाको अतिक्रमित जग्गा सरकारी नाममा दर्ज गराउनेछ ।

पहिलो चरणको काम सकेलगत्तै वागबजारबाट दोस्रो चरणको काम शुरु गर्ने योजना रहेको महानगरले जनाएको छ । वागबजार क्षेत्रको वडा कार्यालयले सम्बन्धित निकाय र खोला छोपेर बनाइएका संरचना खाली गर्न आग्रह गरिसकेको छ । सोही आग्रहको आधारमा हामीले केही दिनपछि मात्रै बाँकी क्षेत्र खाली हुने शाक्यको भनाइ छ ।

पहिलो चरणमा ३८ अवैध संरचना भत्काउँछौं

नवीन मानन्धर प्रवक्ता, काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले पहिलो चरणमा करिब ३८ वटा साना र ठूला संरचना भत्काइने बताउनुभयो । सबैभन्दा ठूलो संरचना रहेको लक्ष्मी बैंक भत्कने विषयमा उहाँले भन्नुभयो– ‘कसको कति घर भत्कन्छ मतलब भएन टुकुचामाथि बनेका सबै घर र र टहरा भत्काउनेछौं ।’

उहाँले लक्ष्मी बैंक भत्किने विषयमा महानगरलाई कुनै समस्या नभएको दाबी गर्नुभयो । घर बनाउने समयमा यस्ता विषयमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘नक्सा पास गर्दा टुकुचा खोला भएको भागमा किन घर बनाउनुप¥यो ।’ उहाँले महानगरले चलाएको टुकुचालाई खुला गराउने अभियानमा सबैले सहयोग गर्नुपर्ने बताउँदै भन्नुभयो– ‘हाम्रो योजना खोलाको बाटो क्लियर हुनुपर्छ, हामीलाई सबैले सहयोग गर्नेछन् ।’

काल्पनिक कुरा गर्नु उचित हुँदैन

सुरज शाक्य विभागीय निर्देशक, काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिका शहरी विभाग विभागका निर्देशक सुरज शाक्यले टुकुचा खोलाको विषयमा आएका ऐतिहासिक दस्तावेजलाई पूर्ण रुपमा मान्न नसकिने बताउनुएको छ । अमेरिकामा रहेका अनुसन्धानकर्ता मनोज मनुजले राणा प्रधानमन्त्री वीर शमशेरको कार्यकालमा जय नेपालदेखि टुकुचापारि पटाङ्गिनी ( आँगन) बनाउन खोलालाई सुरुङबाट कटाएको उल्लेख गर्नुभएको छ । उहाँको भनाइलाई आधार मान्ने हो भने राणाकालमै टुकुचा छोपिएको उल्लेख छ । तर त्यसलाई आधिकारिक दस्तावेज मान्न नसकिने विभागीय निर्देशक सुरज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनताको मन जितिरहेका बेला काल्पनिक कुरा गरेर काम गर्न नदिने षड्यन्त्र भइरहेको छ, यो केही दस्तावेज होइन, हामी काम गर्दै जान्छौं, परिणामले बताउनेछ ।’

निरन्तर डोजर चलाएर टुकुचाक्षेत्र खुला गर्दै छौं

राजुनाथ पाण्डे प्रहरी उपरीक्षक, कामपा प्रहरी

काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहान ६ देखि राति १ बजेसम्म काम गरेर भए पनि टुकुचा खोलाको दायाँबायाँ र पुरिएको भाग खाली गरिने स्पष्ट पार्नुभयो । उहाँले महानगरले गरेको निर्णय कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै चार दिनयता चुकुचाको अवैध संरचना हटाउन दैनिक १८ घण्टा खटिने गरेको बताउनुभयो ।

शनिबार बिहानैदेखि लक्ष्मी बैंकको भवन भत्काउन शुरु गरेका छौं, त्यसपछि अन्य संरचना हटाउने र टुकुचालाई ब्युटिफिकेसन गर्न पूर्ण रुपमा लागिरहेका छौं’, उहाँले भन्नुभयो– ‘टुकुचा खोला हडपेर मापदण्डविपरीत निर्माण भएका सबै संरचना हटाउनेछौं । महानगरभित्र बग्ने टुकुचालाई पूर्ण सफा गर्नेछौं ।’ उहाँले हालसम्म ४५ वटा अवैध संरचना हटाइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्