भारतमाथि ऐतिहासिक जितसँगै नेपाल फाइनलमा



काठमाडौं ।

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाली राष्ट्रिय महिला फुटबल टोली छैटौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार साँझ भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि १-० गोलअन्तरको एेतिहासिक जित निकाल्दै फाइनलमा प्रवेश पाएको हो । उक्त खेलको पहिलो हाफमा नेपालले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समर्थकको गतिलो साथ पाएको नेपालले पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता लिएको थियो । प्रीति राईले १८ यार्ड बक्सको बायाँ साइडबाट निकालेको पासमा रश्मीकुमारी घिसिङले गोल गरिन् । उक्त गोलको अग्रतालाई नेपालले खेलको पुरै समय जोगाउन सफल भएसँगै फाइनलमा स्थान पक्का गरेको हो। महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । त्यस्तै, भारतलाई समग्रमा नेपालले दोस्रो पटक हराएको हो ।

अब नेपालले सेप्टेम्बर १९ मा हुने फाइनलमा उपाधिको लागि बंगलादेशको सामना गर्नेछ । शुक्रबार दिउँसो नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्