जनसरोकारका विषय छोडेर राजनीति गर्नु दुर्भाग्यपूर्ण !



राजन केसी
नेकाबाट काठमाडौं–१० का उम्मेदवार

नेपाली कांग्रेसका युवा नेता राजेन्द्रकुमार केसी (राजन) को चर्चा त्यस बेला चुलियो जब उहाँले काठमाडौंको कीर्तिपुर क्षेत्र अर्थात् १० नम्बर क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संविधानसभाको दोस्रो निर्वाचनमा पराजित गर्नुभयो । पहिलो, २०६४ सालको निर्वाचनमा अत्यधिक बहुमतले जितेका अध्यक्ष प्रचण्डलाई त्यहाँका जनताले दोस्रो निर्वाचनमा २० हजारका विरूद्ध १३ हजार मत पनि दिएनन् । नेका केन्द्रीय सदस्य राजनले त्यस जितलाई २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि निरन्तरता दिनुभयो । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका केसी २०४६ सालबाट नेपाली कांग्रेसको पूर्णकालीन कार्यकर्ता भएर काम गर्दै २०५९ मा गाउँविकास समितिको वडा अध्यक्ष बन्नुभयो । पछि जिल्ला विकास समिति सभापतिसमेत भएर काम गरेका केसी क्षेत्र नम्बर १० को क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । उहाँ आगामी मंसिर ४ को निर्वाचनमा पार्टीबाट एक्ला प्रत्यासीका रूपमा सिफारिस हुनुभएको छ । प्रस्तुत छ, निर्वाचनकै आँगनमा उभिएर उहाँसँग कपिल काफ्ले र जीवन शर्माले नेपाल समाचारपत्रका लागि गरेको कुराकानी:

दार्शनिक हिसावले भन्नुपर्दा नेपालमा यो पार्टी यो चरित्रको र यो सिद्धान्तको भन्ने राजनीतिक पार्टीहरू बीचको भिन्नता छ ?

पछिल्ला गतिविधि र व्यवहार हेर्दा रानीतिक पार्टीहरूबीच भिन्नता छैन । जनतालाई पनि सिद्धान्त र आदर्शका कु्राहरूभन्दा पनि विकास चाहिएको छ । भौतिक तथा मानवीय विकासका क्षेत्रमा देशले जुन गति लिनुपथ्र्यो त्यो लिन सकेन । हामीले ३० वर्ष राजा र पञ्चायती व्यवस्थालाई गाली ग-यौं । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र आएको पनि ३३ वर्ष भइसक्यो । गणतन्त्र आएको पनि १६ वर्ष भैसक्यो । तर मुलुकलाई कसरी ठीक ढंगले अगाडि लाने भन्ने सन्दर्भमा कुनै पनि पार्टीले खास काम गर्न नसकेको म स्वीकार गर्छु । हामीले हाम्रो कच्चा पदार्थमा आधारित उद्योग र स्रोतमा आधारित अर्थतन्त्रलाई अघि बढाउने गरी मुलुकले सोच्नुपर्ने हो । जलस्रोत, कृषि र पर्यटनलाई सँंगसँगै लिएर जान सक्नुपर्ने हो, यसो गरेको खण्डमा ८४ हजार मेघावाट उत्पादन क्षमता भएको नेपाल, ब्राजिल पछिको विश्वकै दोस्रो जलस्रोतको धनी नेपाल चन्द्रज्योति विद्युत् गृह स्थापना गरेको एक सय १३ वर्ष पछि पनि यति पछाडि पर्नेथिएन । हामीले एक वर्षमा १० युनिट पनि विद्युत् उत्पादन गर्न सकेका छौनौं । यस प्रकारको तितो यथार्थलाई बिर्सेर सिद्धान्त र दर्शनको कुरा गर्नु जनताका लागि पाच्य हुन सक्तैन ।

देशमा कोरोनाको महामारी नसकिँदै डेंगुको प्रकोप बढेको छ । तर, राजनीतिक तवरबाट जनजीविकाको सवालमा आवाज उठ्न सकिरहेको छैन । यो प्रवृत्तिगत कमजोरी हो या चुनावको बेला हुने नै यही हो ?

पहिलो कुरा त जनताको जनजीविका जनस्वास्थ्य र शिक्षाको सवालमा जुनसुकै सरकार आए पनि सरकारको पहिलो दायित्व त्यो नै हुनुपर्ने हो । तर चुनावमा चुनावको बढी कुरा हुनु अस्वाभाविक चाहिं होइन । दशैं आउँदा दशंैको कुरा हुन्छ माघेसंक्रान्तिमा त्यही कुरा हुन्छ, यसलाई पनि स्वाभाविक मान्नुपर्छ । तर, अहिले हाम्रो ध्यान केन्द्रित हुनुपर्ने यो महामारीतर्फ हो । यसमा सत्तापक्ष र प्रतिपक्ष सबैको ध्यान जान नसकेको कुरालाई हामीले स्वीकार्नु पर्छ । विकास निर्माण र जनजीविकाका सवालमा दलहरूले ध्यान नदिएको र राजनीतिलाई मात्रै ध्यान दिएको मैले अनुभूत गरेको छु । कोरोना र डेंगुजस्ता जनसरोकारका विषयभन्दा माथि राजनीतिक गतिविधि हुनु, दुर्भाग्यपूण हो ।

काठमाडौंको १० नम्बर क्षेत्रका लागि तपाईंको एकल सिफारिस मात्र भएको हो, औपचारिक रूपमा तपाईं नै उम्मेदवार हो भनेर घोषणाचाहिँ कहिले हुन्छ ?

काठमाडौं क्षेत्र नम्बर १० बाट सर्वसम्मत एकल उम्मेदवारका रूपमा मेरो नाम सिफरिस भएको छ । पार्टीका साथीहरूले मेरो मात्रै नाम सिफरिस गर्नुभएकोले मेरो दलबाट यसमा कुनै विवाद बाँकी रहेन । नेपाली कांग्रेसले नै जित्दै आएको यस क्षेत्रको जनमत कांग्रेसकै पक्षमा छ । जनमतकै आधारमा पार्टीले मलाई मूल्यांकन गरेको मेरो विश्वास छ । समानुपातिकको बन्द सूचीमा असोज २ र ३ गते नाम जान्छ र प्रत्यक्षतर्फको चाहिँ असोज २३ गते उम्मेदवारी दिनुपर्ने हुन्छ । बाहिर जिल्लामा टिकट पनि पु-याउनुपर्ने भएकाले पहिला जिल्लाको टुंगो लाग्ला । हामीलाई त २२ गते नै टिकटको टुंगो लागे पनि २३ गते उम्मेदवारी दिन भ्याउँछौं । दशैंपछि टिकट वितरणको कामले रफ्तार लिन्छ होला ।

अहिले युवाहरू र स्वतन्त्रको लहर चलेको देखिन्छ । यहाँलाई के लाग्छ, मतदाताहरूले नयाँ अनुहार खोजिरहेका पो छन् कि ? तपाईंले आफूलाई कहाँनेर पाउनुहुन्छ ?

मैले माथि पनि भनें, जनताले यो मुलुकमा विकास र परिवर्तनको जुन अपेक्षा गरेका थिए, त्यो अपेक्षा अनुसारको परिवर्तन हामीले दिन सकेनौं । यो त्यो पार्टी नभनौं । त्यसको एउटा कारण के हो भने, जनताले स्वाभाविक रूपमा धारा खोल्दा पानी पाउनुप-यो, हिँड्दा सडक हिलो हुनुभएन, घर पायकमा गुणस्तरीय शिक्षा दिने स्कुल चाहियो ।

आफ्ना आधारभूत कुराहरूलाई जनताले हेरिरहने भएकाले यो बीचमा कुनै पनि पार्टीले राम्रो गर्न नसकेपछि स्वतन्त्रलाई मत दिनु एक किसिमको आक्रोश हो । अहिले जतिपनि स्वतन्त्र छन्, तिनीहरूले विकास निर्माणको खास योजना दिएर परिवर्तन नै गर्छु भन्नेखालको एजेन्डा लिएर आएका चै हैनन् । नयाँ एजेन्डा त उनीहरूको पनि देखिँदैन । घोषणापत्रकै कुरा गर्ने हो भने कांग्रेस कम्युनिस्ट सबैले एकदमै राम्रोसँग एजेन्डा पेश गरेका हुन्छन् ।

तर, अहिले जनताले चाहेको पूर्वाधार र विकासका कुरा हुन्, जनताको जीवनस्तर उकास्ने कुरा हुन्, त्यो अपेक्षा गरिएअनुसार प्राप्त भएन र त्यसको आक्रोशको रूपमा स्थानीय निर्वाचनमा नयाँ अनुहार आएका हुन् । तर, यस सत्यलाई नेपाली कांग्रेसले गम्भीर रूपमा बुझेको छ, जनताको जीवनस्तरको परिवर्तनमा हामी केन्द्रित छौं । म केन्द्रित छु । मेरो विगतको व्यवहारले पनि यही पुष्टि गर्नेभएकाले यस पटक पनि आफ्नो जितमा मलाई कुनै शंका छैन ।

आफ्नो बारेमा थप विश्लेषण गरिदिनुस् न– राजनका आँखामा राजन ?

म वास्तवमा राजनीतिका धेरैे दर्शन र सिद्धान्तभन्दा पनि आधारभूत हिसाबले जनताको जनजीविकाको सवालमा ध्यान केन्द्रित गर्ने मान्छे हुँ । नागरिकलाई रोजगारीसँग जोड्ने सवालमा र आफ्नो भूगोललाई कसरी विकास गर्न सकिन्छ भन्ने नै मेरो राजनीतिको मूल एजेन्डा हो । त्यही एजेन्डाअनुरूप म २०४९ सालदेखि नै पहिलो स्थानीय चुनावदेखि नै लगातार राजनीतिमा छु । २०७० सालमा संविधानसभाको चुनावमा विजयी भएँ । त्यसपछि २०७४ सालमा पाँच वर्षका लागि संसदमा विजयी भएँ । यसरी निरन्तर जनताले विजयी गराउनुको एउटै कारण चै विकास प्रतिको मेरो चाहना हो । यस क्षेत्रका जनताले चाहेको परिवर्तन मेरो चाहना हो । र, जनताका सानातिना समस्याहरू कसरी समाधान गर्नसकिन्छ भन्ने मेरो चाहनाअनुरूप नै मैले काम गरेको छु । अब मप्रति जनताका कति अपेक्षा थिए, ती सबै अपेक्षाहरू शतप्रतिशत पूरा गरेंँ भन्ने त म भन्न सक्दिनँ, यद्यपि मैले स्रोत र साधनले भ्याएसम्म मेरो क्षेत्रमा देखिनेगरी नै काम गरेको छु । मसँंग आम मतदाताहरू धेरै असन्तुष्ट हुनुहुन्न भन्ने मैले बुझेको छु, र उहाँहरूले अन्य क्षेत्रको परिवर्तनभन्दा र अन्य उम्मेदवारभन्दा १० नम्बरमा कांग्रेसले गरेको सानातिना कामदेखि खाने पानी, विद्यालय, बाटोघाटो लगायतका विकास निर्माणका काममा मैले खेलेको भूमिका सबैका सामु घामजस्तै छर्लंग छ । मेरो अनुभवका आधारमा र मैले गरेको जनसेवाकै कारणले मलाई मतदाताले फेरि एकपटक स्वीकार गर्ने अवस्था मैले देखेको छु ।

काठमाडौं क्षेत्र नम्बर १० मा अरूलाई हैन, राजन केसीलाई नै भोट दिनुपर्छ भन्ने आधारहरू के–के हुन् ? किन तपाईंलाई नै भोट दिने ?

मेरो क्षेत्रमा तीनवटा नगरपालिका पर्छन् । त्यसमा एउटा कीर्तिपुर नगरपालिका जो नेवार समुदाय बाहुल्य भएको सहर हो । यहाँ नेवार जातिको संस्कार र संस्कृति आकर्षणको विषय रहेको छ । त्यस्तै, चन्द्रागिरी नगरपालिका राजधानीको प्रवेशद्वार हो । जहाँ प्रचुर उद्योगधन्दा र केबुलकारलगायत पर्यटकीय विकास निर्माणका कुरामा समेत राम्रो सम्भावना छ । अर्को दक्षिकाली नगरपालिका जहाँ कृषिको यथेष्ट सम्भावना रहेको छ । चाहे तरकारी खेती होस् चाहे खाद्यान्न बालीको कुरा होस् अथवा फलफूल लगायतको कुरा होस्, यहाँ बढी सम्भावना छ । यो धार्मिक शहरका रूपमा विकास हुँदै गएको छ । यहाँ मुलुकभरिका मानिसहरूले दक्षिणकाली माताको दर्शन गर्न आउने गरेका छन् । यो क्षेत्र विविधताले भरिएको छ । यी ठाउँको आवश्यक्ता र सम्भावना पहिचान गरेर काम गरेको छु । जस्तै, कीर्तिपुर भित्रको मूल क्षेत्रमा मैले त्यहाँ भएको सम्पदाहरूको संरक्षण गर्ने, नेवार जातिको परम्परागत संस्कार र संस्कृतिलाई संरक्षण गर्नेगरी काम गरेको छु । त्यस्तै, दक्षिणकालीमा तरकारी फलफूल खेतीलाई जोड दिएको र धार्मिक सहरका रूपमा विकास गर्नका लागि आवश्यक योजनाहरू ल्याएको छु । चन्द्रागिरीको सन्दर्भमा पर्यटकीय क्षेत्रका रूपमा विकास गराउन पूर्वाधार विकासका लागि काम गरेर यस क्षेत्रको समृद्धिका लागि निरन्तर लागेको छु । त्यस्तै आगामी पाँच वर्षमा चाहिं विशेषगरी श्रम र उत्पादनका क्षेत्रमा काम गर्ने, र त्यहाँ बेरोजगार युवा र गृहिणी महिला सहितका नागरिकलाई जोड्ने योजना बनाएको छु । यी नै कुरालाई पूरा गर्नका लागि मलाई यहाँका जनताले मत दिएर संसद्मा पठाउनुहुन्छ भन्ने विश्वास गरेको छु ।

तपाईंको क्षेत्रमा सुख्खा बन्दरगाह छ, तर चलेको छैन । त्यस विषयमा के सोच्नुभएको छ ?

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा यो सुख्खा बन्दरगाह एउटा विकासको ढोका नै हो । तर, यसका सम्बन्धमा, हाम्रो नाकाहरूमा जुन भन्सार रहने चलन छ, वीरगञ्जमा सुख्खा बन्दरगाह बनायौं, केरूङमा बनायौं, राजधानीमा पनि नाकाहरूमा धेरै नै सामान आवतजावत भयो भनेर एउटा काठमाडांैमा पनि सुख्खा बन्दरगाह बनाउने भन्ने अभिप्रायले चोभारमा यो बनेको छ । तर, कतिपय व्यापारीहरूले त्यहाँ सामान ल्याउन मानिरहेका छैनन् । भन्सार छुटाउन पनि भन्सार एजेन्टदेखि पूर्वाधार विकास हुँदैछ । अहिले जति पनि कार्गोहरू आउँछन् तिनीहरूका लागि जनशक्ति र आवश्यक पूर्वाधार बढाउँदै लाने र आउँदा दिनहरूमा यसलाई राम्रोसँग उपयोग गर्नेगरी अघि बढ्ने योजना छ ।

अर्को पार्टीले कीर्तिपुरबाट नेवार समुदायको उम्मेदवार यउठाए भने त्यसले तपाईंलाई जातीय र भौगोलिक हिसाबले असर पर्छ कि पर्दैन ?

अहिले सम्मका दुईवटा चुनावमा असर परेको देखिएन । यसपटक हामीले स्थानीय तहको निर्वाचनमा कीर्तिपुरमा नेवार समुदायकै साथीलाई उठायौं । चन्द्रागिरीमा उपमेयर नेवार र मेयर गिरी हुनुहुुन्छ, दक्षिणकालीमा पनि नेवार तामाङ र क्षेत्रीलाई मिलाएर जनप्रतिनिधि बनाएका छौं । यसरी हामीले जातीय, क्षेत्रीय र भौगोलिक हिसाबले मिलाएर टिकट दिएका थियौं । प्रदेशसभामा पनि सबै जातीय र भौगोलिक सन्तुलन मिलाएरै उम्मेदवारहरू सिफारिस हुनुभएको छ । यस कारण हामी समावेशी र समानुपातिक हिसाबले सबै जाति, भाषा, क्षेत्र, र वर्गकोे सहभागिता सुनिश्चित हुनेगरी सबैलाई सम्मान गरेका छौं । यस हिसाबले मलाई समस्या हँुदैन । निष्कर्षमा भन्दा जातको भन्दा उसको व्यवहार र विकास प्रतिको चाहनालाई मतदाताले बढी हेर्नेगरेका छन् । यस क्षेत्रका जनता चेतनशील भइसक्नुभएको छ ।

मुलुकमा युवा नेतृत्वको लहर छ । नेपाली कांग्रेसभित्र आत्मसमीक्षा गरेर हेर्दा के–के सुधार गर्नुपर्ला ?

नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास राख्ने र लामो समयसम्म लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेको पुरानो पार्टी हो । अहिले विस्तारै युवाहरूको सहभागितामा वृद्धि भैरहेको छ । पार्टी सभापति बाहेक उपसभापति महामन्त्री सहमहामन्त्री र केन्द्रीय सदस्यहरू समेत हेर्दा पार्टीमा ६० प्रतिशतभन्दा बढी ६० वर्ष मुनीका युवाहरू आइसक्नुभएको छ । हरेक परिवर्तन र विकासमा युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ, हुनुपर्छ र संसारको परिवर्तन हेर्दा पनि युवाहरूले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यो अर्थमा पनि हाम्रो पार्टीसँगै अन्य दलहरूमा पनि युवाहरूकै प्रतिनिधित्व बढ्ने देखेको छु । अहिले पार्टीमा युवाहरूको उपस्थितिले विधि विधानमा केही परिवर्तन भएको महसुस भएको छ । विधिविधानमा पार्टी चल्नुपर्छ भन्ने कुराले प्राथमिकता पाएको छ । त्यस्तै, घोषणापत्र बनाउँदा पनि हरेक मतदाताहरूलाई सम्बोधन गर्नेगरी कार्यक्रमहरू ल्याउने अभ्यास सुरू भएको छ । यसले स्थानीय तहको निर्वाचनमा राम्रो मत परिणाम आएको अवस्था छ । आगामी मंसिरमा हुने निर्वाचनमा पनि जनतालाई छुने कार्यक्रमहरू बन्दै छन् । पार्टीमा परिवर्तन सुरू भएको छ । तर जति हुनुपर्ने हो त्यो चै हेर्न बाँकी छ । पार्टी महाधिवेशन सकिनासाथ स्थानीय तहको निर्वाचन भयो, त्यसपछि संसदीय निर्वाचनको तयारी शुरू भएको छ । यसपछि यो पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व भएपछि मूल्यांकन गर्न समय भइसकेको छैन । तर, दिन कस्तो हुन्छ भन्ने विहानीले देखाउँछ भनेझैं परिवर्तनको सुरूवात भएको छ ।

अन्तमा केही भन्नु छ ?

अन्तमा, हामीले राजनीतिक परिवर्तनका लागि धेरै समय कुर्वान ग-यौं, प्रजातन्त्र प्राप्ति र पुनप्र्राप्तिका लागि लाग्यौं । अब यो मुलुकमा खेर फाल्ने समय छैन । राजनीतिक सैद्धान्तिकभन्दा पनि जनताको जनजीविका, देशको विकास र समृद्धिका लागि लाग्नुपर्ने बेला आएको छ । राजनीतिक परिवर्तन भइसकेकोले हामी विकास, समृद्धि र रोजगारीका लागि सचेतताका साथ लाग्नेछौं । आगामी निर्वाचन सफल बनाउन र लोकतन्त्र, विकास र समृद्धिका पक्षमा सबै नागरिकलाई उभिन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्