नेपाल बन्यो समूह विजेता



काठमाडौं । 

समूह ‘बी’ को विजेता टोली बन्दै नेपाल दशरथ रंगशालामा जारी छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूहको अन्तिम खेलमा सोमबार श्रीलंकालाई ६–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । नेपालको जितसँगै भुटान पनि अन्तिम चारमा पुग्यो । श्रीलंका भने दुवै खेलमा पराजित भएर समूह चरणबाटै बिदा भएको छ । अन्तिम चारमा नेपालको सामना बंगलादेश वा भारतसँग हुनेछ । समूह ‘ए’अन्तर्गत भारत र बंगलादेशबीचको खेलले नेपाली टोलीको प्रतिद्वन्द्वी तय हुनेछ ।

नेपालको जितमा अमिशा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरू लिम्बूु, अमृता जैशी र दीपा शाहीले १–१ गोल गरे । नेपालले पहिलो हाफमा चार गोल ग-यो भने दोस्रो हाफमा दुई गोल गरेको थियो ।

यसअघि नेपालले भुटानलाई ४–० गोलअन्तरले हराएको थियो ।खेलको नवौं मिनेटमा रश्मीको गोलबाट नेपालले सुरूवाती अग्रता लिएको थियो । ११औं मिनेटमा सरूले नेपालको अग्रता दोब्बर पारेकी थिइन् । १७औं मिनेटमा अमृताले नेपाललाई ३–० को अग्रतामा पु-याइन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दीपाले गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा भने पहिलो हाफमा गोल गरेका खेलाडीलाई गोल गर्ने कुनै मौका नै रहेन । यसको सट्टामा परिवर्तित खेलाडीले भने गोल गर्न सफल भएकी थिइन् । ५५औं मिनेटमा रेखा पौडेलको स्थान लिएकी अमिशाले ७७औं मिनेटमा नेपालको लागि गोल गरिन् । यस्तै उनले नै खेल सकिन लाग्दा थप गोल गर्दै नेपालको जित सानदार बनाइन् ।

प्रतिक्रिया दिनुहोस्