कानुनी छिद्रबाट वित्तीय अपराध



काठमाडौं  । 

मैले जब भारतका तीन अर्बपतिको कथामा आधारित डकुमेन्ट्री ‘ब्याड ब्वाय बिलियनियर्स: इन्डिया’ हेरेँ, हेर्दै गर्दा त्यसका पात्र, कथा र परिवेशले मलाई आफ्नै संसारमा पु-यायो । कताकता ती पात्रहरू मेरा वरिपरि नै रहेको जस्तो महसुस भयो ।यसै प्रसङ्गमा एउटा घटना सम्झिएँ । ओरियन्टल सहकारीमा मेरो ससुरालीको केही रकम मुद्दती निक्षेप थियो । उक्त सहकारीको वित्तीय अवस्था र सञ्चालकका गतिविधिबारे समाचार आइरहेको थियो ।

मेरा विभिन्न स्रोतबाट त्यसको अवस्थाबारे सोधखोज गर्दा पनि ठीक छैन भन्ने जानकारी आयो । मैले ससुरालीमा सहकारीबाट निक्षेप निकाल्न सल्लाह दिएँ । उहाँहरू पनि निक्षेप निकाल्न जानुभयो । सहकारीको वित्तीय स्थिति खराब हुँदै गएको र निक्षेपकर्ताहरूले एकैपटक निक्षेप निकाल्दा सहकारी थप संकटमा प¥यो । संकट मोचनका लागि सहकारीले निक्षेपकर्तालाई विभिन्न प्रलोभन देखाउन थाल्यो । ससुरालीले करिब ७५ प्रतिशत निक्षेप फिर्ता लिइसकेका थिए । तर, उनीहरूका छिमेकी चिनजानका एक व्यक्ति सोही सहकारीमा म्यानेजर थिए । उनको आग्रहमा थप चार प्रतिशत ब्याजदर बढाएर बाँकी रहेको २५ प्रतिशत निक्षेप पुनः मुद्दतीमा राख्ने काम भयो ।

त्यसको दुई सातापछि सहकारी समस्याग्रस्त घोषित भयो । पछि बुझ्दै जाँदा ती म्यानेजरले नक्सालका धेरै छिमेकी र साथीभाइलाई त्यसरी नै डुबाएका रहेछन् । तर, आफ्ना निकटका व्यक्तिहरूको पैसा भने निकालिदिएका रहेछन् । वर्षौं भयो, उक्त सहकारीका सञ्चालक सुधीर बस्नेतविरुद्धको मुद्दा, बैंकहरूको लिलामीलगायतका मुद्दा अझै बाँकी छन् । निक्षेपकर्ताको बिचल्ली भएको छ । टोलभरिका मान्छेको पैसा ओरियन्टलमा जम्मा गर्न लगाएका उनी अहिले टोल नै छोडेर बस्न बाध्य छन् । छिमेकी भन्छन्– ‘बाबु बित्दासमेत उनी घर फर्केनन् ।’ सहकारीको कर्मचारी मात्र रहेका उनलाई आफ्ना कारणले छिमेकी डुबेपछि समाजमा मुख देखाउन गाह्रो भयो ।

नेपाल राष्ट्र बैंकले २०७९ भदौ २० मा समस्याग्रस्त नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना ‘क्यान्डिनेट’ आवश्यकता रहेको सूचना निकालेको छ । नेपाल राष्ट्र बैंकको निगरानीमा उक्त वित्तीय संस्था फेरि सञ्चालन गर्ने प्रयास भइरहेको छ, यो राम्रो कुरा हो ।

१२ वर्षअघि उक्त संस्थामा करिब १ हजार ५ सय सेयरधनीको २ अर्ब रुपियाँभन्दा बढी लगानी डुब्ने गरी सम्भवतः अहिलेसम्मकै ठूलो ‘वित्तीय घोटाला’ भएको थियो । सो घोटालाले नेपालको वित्तीय क्षेत्रमा हलचल नै ल्याएको थियो । अहिलेसम्म पनि विभिन्न बैंक तथा वित्तीय संस्थाको करोडौं रुपियाँ उठ्न सकेको छैन । सो फाइनान्सका सेयर लगानीकर्ता, निक्षेपकर्ताको पीडा पनि उस्तै छ ।

भारतका सेयर टाइकुन हर्षद मेहताको बारेमा सोनीलिभमा आएको सिरिज ‘स्क्याम ः १९९२’ ले नेपाल सेयर मार्केट एन्ड फाइनान्सको घोटालालाई सम्झाएको थियो । मैले ढिला गरी हेरेको उक्त सिरिजमा सेयर कारोबारी हर्षद मेहताले भारतको बैंकिङ प्रणालीमा रहेको छिद्रबाट पसेर साम्राज्य खडा गरे । त्यसलाई टाइम्स अफ इन्डियाका आर्थिक पत्रकार सुचेता दलालले पर्दाफास गरिन् ।

सुचेताले श्रीमान् देवाशिष बसुसँग मिलेर ‘स्क्याम ः १९९२ किताब पनि लेखेकी छन् । सोही पुस्तकमा आधारित रहेर ‘स्क्याम ः १९९२’ निर्माण भएको हो । उच्च महत्वाकांक्षाका कारण धेरै जोखिम लिएर हर्षदले काम गरे, उनको एक्कासि जसरी उदय भयो अन्त्य पनि त्यति नै पीडादायी रह्यो ।

राष्ट्र बैंकको उक्त सूचनाले १२ वर्षअघि नेपालको बैंकिङ क्षेत्रकै ठूलो मानिएको वित्तीय घोटालासम्बन्धी घटनालाई पुनः स्मरण गरायो । ‘स्क्यामः १९९२’ को कथाजस्तै लाग्यो, नेपाल सेयर मार्केट एन्ड फाइनान्सको घोटाला पनि । उक्त घोटलाका बारेमा अदालतमा पेस भएका दस्तावेज, पीडित तथा कर्मचारीको बयानलाई अध्ययन गर्दा त्यस्तै लाग्छ ।

पीडित सेयरधनी, पुराना कर्मचारीले उच्च अदालतमा बयान, अदालतमा पेस भएका कागजपत्र, २०६८ र २०७१ को कम्पनीको सम्पत्ति, दायित्व मूल्याङ्कन (डीडीए) प्रतिवेदनलगायतका दस्तावेज अध्ययन गर्दा कानुनका छिद्रहरू कसरी खोजिँदो रहेछ र कसरी ठूला–ठूला वित्तीय अपराधमा मुछिएका व्यक्तिहरू ढुक्क हुन सक्दा रहेछन् भन्ने प्रस्ट हुन्छ ।ती दस्तावेजको अध्ययन गर्दा कुनै ‘कर्पोरेट स्टोरी’मा बनेको चलचित्रका दृश्यभन्दा कम लाग्दैनन् । त्यहाँ फेला परेका तथ्यहरू केलाउँदै गर्दा विवरण एक–दुई शृंखलामा पूरा हुने संकेत देखिँदैन । धारावाहिक नै लेख्नुपर्ने स्थिति उत्पन्न भएको छ । दस्तावेजहरूले के–कस्ता तथ्यहरू उजागर गरेका छन् ? कानुनका छिद्रहरूलाई डिफल्डरहरूले राजमार्गका रूपमा कसरी प्रयोग गरिरहेका छन् । त्यो विषय महत्वपूर्ण देखिन्छ ।

२ वर्षअघि नेपाल सेयर मार्केट एन्ड फाइनान्समा घोटाला हुँदा पनि त्यही कानुन, अहिले इच्छाराज तामाङहरूको मामिलामा पनि त्यही कानुन ? गम्भीर प्रकृतिका वित्तीय अपराधमा कानुन संशोधन गर्ने बेला आएन ?कानुनले दिने सजाय एक ठाउँमा होला तर कानुनका दफाहरू देखाएर उन्मुक्ति पाउँदा ती घोटालाबाट पीडितको आवाज कसले सुन्ने ? पीडितहरूलाई पर्न गएको आर्थिक, सामाजिक, मानसिक क्षतिको पूर्ति के हुन सक्छ ?

जीवनभरको कमाइ डुब्दा कयौंले आफ्नो मानसिक सन्तुलन गुमाएका छन् । कयौं उच्च रक्तचाप, मुटुरोगी भएका छन् । केहीको बिहेबारी रोकिएको छ, कोहीको सम्बन्ध बिच्छेद भएको छ । केही घरबारविहीन भएका छन् । केहीले आत्महत्यासमेत गरिसकेका छन् । यसको भरपाई कसरी हुन्छ ? यो यक्ष प्रश्न हो । नेपाल सेयर मार्केट एन्ड फाइनान्सका कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठ, महाप्रबन्धक सिद्धार्थमान मास्के, वरिष्ठ प्रबन्धक बिटा तुलाधर र न्युरोड शाखाका प्रबन्धक समिता मानन्धरले २ वर्ष ९ महिना जति जेलमा बस्दैमा सबै माफ भयो त ?जनताको २ अर्ब रुपियाँभन्दा बढी रकम कहाँ गयो ? १३ वर्षअघिको २ अर्बको अहिलेसम्म मूल्यांकन कति पुग्यो ? पुतलीसडकको स्टार मललगायतका सम्पत्ति कसको नाममा छ, ती अब के हुन्छन् ? नेपाली सेना, बिमा संस्थानले मुद्दती निक्षेपमा राखेको करोडौं रकम कसरी नेपाल सेयर मार्केट एन्ड फाइनान्सको लेखा प्रणालीबाट हरायो ।

२०६८ र २०७१ डीडीए रिपोर्टले के निष्कर्ष निकाल्यो ? अब सेयर बजारमा कम्पनीको सेयर मूल्य सय रुपियाँ प्रतिसेयरको दरमा कारोबार खुल्छ कि, डीडीए प्रतिवेदनले दिएको सुझावअनुसार ११ रुपियाँ ४७ पैसा प्रतिसेयरको मूल्यमा कारोबार खुल्छ ? यस्ता प्रश्न अनुत्तरित छन् । ती प्रश्नको जवाफ नेपाल समाचारपत्रले खोज्ने प्रयास गर्नेछ ।योगेन्द्र श्रेष्ठले कति घोटला गरेका थिए । अन्य सेयरधनी, कम्पनीका कर्मचारीको बयान के छ र राष्ट्र बैंकको डीडीए रिपोर्टले के–के उल्लेख गरेको छ । त्यसबारे नेपाल समाचारपत्रको अर्को अंकमा समावेश हुनेछ ।

तर, कानुनमा भएका कमजोरीलाई प्रयोग गरेर फेरि पनि योगेन्द्र श्रेष्ठ, सुधीर बस्नेत, इच्छाराज तामाङहरू जन्माउँदै जाने कि प्वाल टाल्ने यसको जवाफ कानुन निर्माताले खोज्नुपर्ने भएको छ । कागजात अध्ययन गर्दा श्रेष्ठले अंशबण्डाको बहाना गरेर छोराहरू सौरभ, गौरव र उत्सवका नाममा सम्पत्ति नामसारी गरेर वित्तीय कानुनी प्रावधानको दुरूपयोग गरेको देखिन्छ । अहिले पनि १ हजारभन्दा बढी सहकारी समस्याग्रस्त अवस्थामा छन् । दिनहुँ सहकारी पीडितहरूको समाचार आइरहेको छ, नेपालमा वित्तीय अपराधका घटना बढ्दै गएको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्