ज्ञानेन्द्र काठमाण्डु कान्तिपुरका मार्की खेलाडी



काठमाडाैं  । 

नेपाल टी–२० लिगको ड्राफ्टमा काठमाण्डु कान्तिपुरले मार्की खेलाडीको रूपमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । कान्तिपुर मिडिया ग्रुपको सामित्वमा रहेको काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्रलाई ‘ए’ ग्रेडबाट मार्की खेलाडीमा अनुबन्ध गरेको हो । ज्ञानेन्द्रले १५ लाख रकम पाउनेछन् ।

ज्ञानेन्द्र बागमती प्रदेशका कप्तानसमेत हुन् । यसअघि, उनले एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्स, धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्स र पोखरा प्रिमियर लिगमा काठमाडौंकै कप्तानी गर्दै आएका थिए । ज्ञानेन्द्रको कप्तानीमा ललितपुरले २०१८ मा तेस्रो संस्करणको इपिएल जितेको थियो । ज्ञानेन्द्रलाई किन्न ६ फ्रेन्चाइज नै इच्छुक देखिएका थिए । युवा ओपनर आसिफ शेखलाई पोखरा एभेन्चर्सले मार्की खेलाडीमा किनेको छ । पोखराले शरद भेषवाकरलाई पनि १५ लाखमै ‘ए’ ग्रेडबाट अनुबन्ध गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित कुमार पौडेललाई विराटनगर किंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडीमा अनुबन्ध गरेको छ ।अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल र सुवास खकुरेल भने ‘ए’ मा बिक्न सकेनन् । त्यसैले, उनीहरू ‘बी’ मा झरेका छन् । दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ । दोस्रो राउन्डमा ९२ खेलाडी छन् । ‘बी’ ग्रेडमा २४ र ‘सी’ ग्रेडमा ३६ खेलाडी किन्नुपर्ने हुन्छ ।

नेपाल टी–२० लिग आगामी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवेका रूपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । खेल दिउँसो हुनेछ ।प्रतियोगितामा ‘ए’ ग्रेडमा रहेका खेलाडीले १५ लाख, ‘बी’ ग्रेडमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनुपर्छ । ड्राफ्टमा नाम भने १ हजार भन्दा बढीले आवेदन भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्