मुगु पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा



मुगु । मुगु जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा घोषणा गरिएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणासभा भएको जिल्ला खोप समन्वय समिति सचिव एवं स्वास्थ्य कार्यालय मुगुका प्रमुख उमेश गौतमले बताए ।

जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका ४ वटै सबै स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेकोले सोही प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमुख गौतमको भनाइ छ ।

जिल्ला पूर्णखोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति उपप्रमुख नैली कार्कीको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा भएको थियो । घोषणासँगै कार्यक्रमका सहभागीले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

पूर्णखोप घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही र मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा लगायतले मन्तव्य राख्दै पूर्णखोप सुनिश्चिततासँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए ।

जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकाले भदौ १९ गते घोषणा गरेको थियो । यस्तै सोरु गाउँपालिकाले २० गते गरेको छ भने छायानाथ रारा नगरपालिकाले २१ गते गरेको थियो ।

मुगु जिल्लाको लागि कर्णाली प्रदेश अन्तर्गत ७औं स्थानमा भएको हो भने मुलुकमा ७० औ स्थानमा पूर्णखोप सुनिश्चितता घोषणा भएको जनाइएको छ ।

स्वास्थ्य कार्यालयको अद्यावधिक विवरणअनुसार जिल्लामा राष्ट्रिय खोप तालिका अनुसार १५ महिना मुनिका १ हजार ६ सय ८८ बालबालिकाहरूले खोप लिइरहेको पाइएको छ । यसैगरी जिल्लाभर १६ देखि २३ महिना सम्मका १ हजार १२ जना बालबालिकाहरूले राष्ट्रिय खोप तालिका बमोजिम सम्पूर्ण खोप प्राप्त गरी पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाउको छ ।

खोप पाउने उमेर समूहका सम्पूर्ण बालबालिकाले नियमित खोप पाइरहेको सुनिश्चितता भएसँगै जिल्लालाई पूर्णखोप युक्त जिल्ला घोषणा भएको थियो । पूर्णखोप सुनिश्चितता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ ।

घोषणा कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो भने महाकाली नमुना मावि र रारा बोडिङ्ग स्कुलका विद्यार्थीहरू खोप सम्बन्धी जनचेतना मूलक नाटक प्रदर्शन गरेका थिए । बाजागाजासहित बजार परिक्रमा गरी मनाइएको थियो ।

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्