मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै आरोपमा सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भनेको आरोपमा एक जना सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए ।

उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ । छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए । तर, मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए ।

मन्त्रीका पिएसओले उनी मन्त्री भएको बुझाउन प्रयास गर्दा पनि उनी नमानेको स्रोतले बतायो । उनले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटना गत शुक्रबारको हो ।

प्रतिक्रिया दिनुहोस्