प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

विगत १० वर्षदेखि काठमाडौं महानगरपालिका–२६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य हुनुहुन्थ्यो ।

कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसङ्घको स्कुल सचिव भएका उहाँ २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुँदा कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संस्था नेपाल दलित सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर काम गर्नुभएको थियो ।

उहाँले समय साप्ताहिकमार्फत पत्रकारिता पेश सुरु गर्नुभएको थियो । नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चार माध्यमहरुमा १५ वर्ष विभिन्न पदमा रहेर पत्रकारिता गरेका परियारलाई यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार विज्ञमा नियुक्त गरिएको थियो ।

अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्