गठबन्धनमा भागबण्डा अझै मिलेन



काठमाडौं  । 

सत्तारुढ पाँचदलीय गठबन्धनभित्र आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कसले कति सिट लिएर जाने भन्ने विषय टुंगो लाग्न सकेको छैन । गठबन्धनमा सामेल दलहरूले सिट संख्या दाबीको पुरानै अडान नछाडेपछि निर्णय निस्कन नसकेको हो ।

विगत ३ हप्तादेखि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटका सम्बन्धमा गम्भीर छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

यसअघि नै नेपाली कांग्रेसले सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल भइरहे पनि पुरानै अडान नछाडेपछि आजसम्मका बैठकहरू विनानिष्कर्ष टुंगिएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइराला समूहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सय सिटभन्दा तल झरेर आफ्नो पार्टीले निर्णय गर्न नहुने दाबी गर्दै आएको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा समेत सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा आफ्नो पार्टीले सय सिट पाउनुपर्नेमा डा. कोइरालाले दोहो-याउनुभएको थियो ।

अन्य दलहरूले पनि आफ्नो अडान छाडेका छैनन् । कार्यदलको बैठकले भागबण्डाको आधार तय गर्ने भनिए पनि अहिल्यै निष्कर्ष निस्कने छाँट देखिएको छैन । भागबण्डा मिलाउनका लागि आज पनि गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्