डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ



काठमाडौं । 

नेपाल राष्ट्र बैंकले डलर कार्डबाट हुने भुक्तानीलाई कडाइ गरेको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत परिपत्र जारी गर्दै कडाइ गरेको हो ।

डलर कार्डबाट हुने भुक्तानी दुरुपयोग भएको गुनासो आएपछि केन्द्रीय बैंकले विभिन्न १८ वटा कारोबार कोडलाई तोकेरै भुक्तानीमा रोक लगाएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ लाई संशोधन गर्दै वाणिज्य बैंक र विकास बैंकहरू मर्चेन्ट क्याटेगोरी कोड (एमसीसी) हरूमा हुने भुक्तानी नगर्न रोक लगाएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार डलर कार्डबाट अब बिमा शुल्क, मनि अर्डर, सेयर कारोबारको रकम, रियल इस्टेट एजेन्ट तथा म्यानेजरलाई दिने शुल्क भुक्तानी गर्न पाइने छैन । त्यस्तै, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय कारोबार भुक्तानीसमेत रोक लागेको छ । राष्ट्र बैंकले क्यासिनोदेखि अनलाइन जुवाको भुक्तानी, घोडा तथा कुकुर दौडजस्ता खेलको शुल्क, राजनीतिक दल तथा धार्मिक संगठनलाई चन्दा वा सहयोग पनि कार्डमार्फत् भुक्तानी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

अहिले वाणिज्य बैैंक तथा विकास बैंकहरूले एक व्यक्तिलाई ५ सय डलरसम्म खर्च गर्न पाउने गरी डलर कार्ड दिने गरेका थिए । ती कार्डको भुक्तानी दुरुपयोग बढेपछि त्यसलाई रोक्न केन्द्रीय बैंकले निश्चित वस्तु तथा सेवाको खरिदमा मात्र प्रयोग गर्न मिल्ने नीति ल्याएको हो ।

यसैगरी, राष्ट्र बैंकले डलर कार्ड जारी गरेका बैंकहरूलाई वैदेशिक कारोबार रिपोर्टिङ सिस्टम मार्गदर्शन–२०२२ जारी गर्दै विस्तृत विवरण राख्न निर्देशनसमेत दिएको छ । आगामी २०८० साउनदेखि लागु हुने उक्त मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाले वैदेशिक कारोबारको विस्तृत अभिलेख राखेर मासिक रूपमा राष्ट्र बैंकमा विवरण पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्