कांग्रेसका ४० नेतालाई समानुपातिक उम्मेदवार बन्न रोक



काठमाडौं । 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँण, उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु, महिलामन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठसहित नेपाली कांग्रेसका ४० नेतालाई समानुपातिक उम्मेदवार बन्न रोक लगाइएको छ ।

महामन्त्री गगन थापाले गरेको परिपत्रअनुसार नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको नाम सिफारिस गर्दा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई नदोहो-याउने व्यवस्था छ । परिपत्रमा समानुपातिक सांसदहरूलाई पुनः समानुपातिकको उम्मेदवार नबनाउन प्रस्ट निर्देशन दिइएको छ ।

नेपाली कांग्रेसको भदौ ९ गते जारी परिपत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधानअनुसार, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा वा प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’ परिपत्रअनुसार कांग्रेसका खाँण, बडूलगायत ४० नेताले यसपटक समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् । बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा र किशोरसिंह राठौरले उम्मेदवारी दिनसक्नुहुने छैन ।

त्यसै गरी, सत्यनारायण शर्मा खनाल, सूर्यबहादुर केसी, रामबहादुर विष्ट, सुजाता कोइराला, पुष्पा गौतम, डिला संग्रौला पन्त, मीना पाण्डे, उमा रेग्मी, रंगमती शाही, पद्मनारायण चौधरी, पार्वती डिसी चौधरी, नमिताकुमारी चौधरी र मानबहादुर विश्वकर्माले जनप्रतिनिधि बन्ने भए प्रत्यक्षतर्फ खडा हुनुपर्नेछ । यस्तै, नियति मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली स्नेही, सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, विनोद चौधरी, स्मृतिनारायण चौधरी, नागेन्द्र कुमार, सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा, अतहर कलाम मुसलमान र सरवत आरा खानमको पनि हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्