ट्राफिक जाम र असहज यात्रा



आजकल विशेष गरी अफिस टाइममा ट्राफिक जाम भएकाले काठमाडौँ अस्तव्यस्त देखिन्छ । ट्राफिक जामका कारण नै अस्पताल, कार्यालय, विद्यालय जान मानिसहरु समयमै घरबाट निस्के पनि ठीक समयमा पुग्न पाउँदैनन् । अब झन् दशैँको समय आएको छ । यस बेला पनि ट्राफिक प्रहरीहरुले कडारुपले नियन्त्रण नगरेमा झनै अस्तव्यस्त हुने देखिन्छ ।

अहिले गल्ती गर्ने सवारीलाई ५ सयदेखि हजार रुपियाँ जरिबाना लिइन्छ । अब ट्राफिक महाशाखाले गल्ती गर्ने सवारीलाई ५ हजारदेखि १० हजारसम्म जरिबाना तिराउने भनेर निर्णय गरेमा मानिसले गल्ती पनि गर्दैनन् र राज्यलाई पनि राम्रो फाइदा हुन्छ । ट्राफिकहरु सवारीसाधनहरुले गल्ती गर्दा चिट वा रसिद नकाटी ५ सय रुपियाँ लिएर छोड्ने गरेको पनि सुन्नमा आएको छ ।

आजभोलि पनि ट्राफिकहरुले राज्यको ढुकुटीमा जानुपर्ने पैसा आफ्नो खल्तीमा हाल्ने बेथिति कायमै छ । यसको अन्त्य कहिले हुन्छ ? प्रत्येक नागरिकको मनमा अहिले सरकारी कर्मचारी भनेको घुसिया र भ्रष्टाचारी हुन् र यिनीहरु राष्ट्र र जनताका लागि होइनन् भन्ने कुराको छाप परिसकेको छ । यता यातायात व्यवसायीहरु पनि हामी ट्राफिकलाई हप्तामा बुझाउँछौँ र नबुझाएमा गाडी समातेर हैरान गर्छन् भन्ने कुरा बताउँछन् । नयाँ नीति बनाउन नसक्ने र भएको पनि कार्यान्यन गर्न नसक्ने हुँदा यस्तो भएको हो ।

यातयात व्यवसायीहरुले सरकारले तोकेको भन्दा महँगो भाडा लिएको पनि देखिन्छ । यसको अनुगमन छैन । ट्राफिक महाशाखाहरु जहिले पनि अनुगमन गर्नका लागि कर्मचारी वा स्रोतहरुको अभाव रहेको बताउँदै जागिर खाने, दिन कटाउने र पेन्सन पकाउने काम गर्छन् ।

दिनहुँ सवारी दुर्घटनामा परेर मानिस मर्दा पनि ट्राफिक महाशाखाले कसरी दुर्घटना नियन्त्रण गरेर मानिस बचाउन सकिन्छ भन्ने कुराको खोजी गरेको देखिँदैन । अहिले दिनहुँ ११ जना मानिस दुघर्टनाका कारण मरिरहेका छन् । अब पनि ट्राफिक महाशाखाले यसलाई नियन्त्रण गर्न कुनै उपाय नअपनाएमा अझै कति मानिस मर्ने हुन् ? बाटो र सवारीसाधनहरुका बारेमा जनतालाई कसरी सचेत गराउने र कलिलो उमेर वा नपढेका मानिलाई लाइसेन्स नदिने भनेर अहिले पनि केही निर्णय गरिएको छैन ।

अहिले पनि बाटामा २० वर्ष पुगेका, नम्बरप्लेट मेटिएका, ठूला आवाज निकाल्ने, हर्न बजाउने, मापसे गरेर सवारीसाधन चलाउनेहरु प्रशस्त भेटिन्छन् तर ट्राफिकहरुले त्यस्ता गाडीको अनुगमन गरेको छैन र कारबाही पनि गरेको छैन । यसले गर्दा दुर्घटना बढेको छ भने राज्यको ढुकुटीमा आउनुपर्ने राजस्व गुमिरहेको छ ।

यता सार्वजनिक सवारीसाधनहरुमा मानिसलाई भेडाबाख्रा कोचेजसरी हालिरहेको छ, ट्याक्सीहरुले मिटरमा यात्रु बोक्ने वा नजिकै लैजान नमान्ने, फुटपाथ तथा नो पार्किङमा सवारीसाधन पार्किङ गर्ने गरेको भए पनि अनुगमन र कारबाही एउटै छैन । कति ठाउँमा त अहिले पनि ट्राफिक लाइटहरु छैनन्, भएका पनि बिग्रिएर बलेका छैनन् । त्यसलाई व्यवस्थापन गर्न पनि केही पहल गरिरहेको जस्तो देखिँदैन ।

अहिले पनि कति ठाउँमा आकाशे पुल छैन र भएको जेब्रो क्रस पनि टाढा वा मेटिएर नदेख्ने भएको छ । यसरी जेब्रा क्रस वा आकाशे पुल नहुँदा पारिको मानिस वारि जान र वारिको मानिस पारि जान पनि ट्राफिकहरुले केही सहयोग गरेको जस्तो देखिँदैन । जसले गर्दा दुर्घटना धेरै बढिरहेको पाइन्छ । सीधासाधी जनता हतारमा बाटो काट्दा ट्राफिकले सहयोग नगरेपछि मरिरहेका छन् तर ट्राफिकहरुलाई अहिले पनि ट्राफिक महाशाखाले जनतालाई सहयोग गर्नुपर्छ भन्ने ज्ञान दिएको छैन ।

यता बेलुका ५ बजेपछि भाडाको गाडी चढ्नका लागि मानिसको हानाथाप हुने गर्छ । क्युमा चल्ने गाडीहरु रिजर्भ जाने र गाडीको संख्या कम हुने गर्दा धेरै नै भीड हुने गर्छ । यता यात्रु चढ्ने र झर्ने स्टपमा गाडीहरु यात्रुलाई कुराएर ५ मिनेटदेखि आधा घण्टासम्म राख्ने गर्छन् तर कारबाही छैन ।

पछाडि ट्राफिक जाम भइसक्छ, यता गाडीमा चढ्ने यात्रुलाई पनि आफ्नो जाने स्थानमा जान ढिलो भइसक्छ, तर गाडी भने रोकेर बस्छ । भाडाका गाडीहरुमा विभिन्न कम्पनीहरुको विज्ञापन राखिएको पाइन्छ तर कारबाही छैन । यता ढुवानी गाडीहरु रातिको ९ बजेबाट ४ बजेसम्म मात्र चल्ने भनेर सरकारले भने पनि दिउँसो चल्दा ट्राफिक प्रहरीहरुले कारबाही गरेको छैन । स्कुलका बसमा पनि विद्यार्थीलाई उभ्याएर राखेको पाइन्छ तर अनुगमन छैन ।

एयरर्पोटमा सञ्चालन हुने हरियो प्लेटको टयाक्सीले स्वदेशी वा विदेशीलाई सरकारले तोकेको भाडाभन्दा १० प्रतिशत बढी लिएर ठगिरहेको छ तर अनुगमन छैन । विदेशी बोक्ने हरियो प्लेटको बसले पनि विदेशीलाई महँगो पैसा लिइरहेको, पानी बोक्ने ट्यांकरहरुले पनि मनलागी पैसा लिएको, लामो रोडमा चल्ने गाडीहरुको टिकट काउन्टरले पनि यात्रुसँग महँगो पैसा लिइरहेको छ । यता सरकारले तोकेको ट्याक्सीका लागि भाडा चढ्नेबित्तिकै ५० र प्रत्येक किलो ५० छ तर मिटरमा जाँदा २ सय लाग्ने बाटोमा यात्रुलाई मिटरमा नलग्ने र २ सयको ठाउँमा ५ सय लिने गर्छन् तर अनुगमन छैन ।

अहिले कति दुई पाङ्ग्रे सवारीसाधनहरु हेलमेट नै नलगाई सवार गरिरहेको, सहचालक तथा चालकहरुले जुत्ता लगाएर गाडी चलाउनुपर्ने तर चप्पल लगाएर चलाएको भेटिन्छ तर कारबाही हुँदैन । बाटोमा गुडिरहेका सवारीसाधनहरुको कागजपत्र सही छ वा छैन भनेर पनि ट्राफिकहरुले चेकजाँच गरेको भेटिँदैन ।

बाटोमा गुड्ने कति गाडीहरुको अगाडि साइटको सिसा वा झ्यालको सिसा पनि फुटेको छ तर अनुगमन छैन । ट्राफिकहरुले ट्राफिक नियम पालना नगर्ने सवारीसाधनहरुलाई कारबाही नगर्दा राज्यको ढुकुटीमा पनि राजस्व आएन । यता दुर्घटना तथा ट्राफिक जाम पनि व्यवस्थापन भएन । बाटोमा गुडेका सवारीसाधनहरुमा कतिको कागजपत्र फेल भएको छ भने कतिको त बिलबुक, रोडपर्मिट र कागजपत्र नै छैन । यसको अनुगमन ट्राफिक महाशाखाले गरिरहनुुपर्छ । ट्राफिक महाशाखाहरुले जनताको गुनासो सुन्नुपर्छ भनेर आफ्नो सम्पर्क नम्बर नदिने वा दिए पनि सम्पर्क नै नहुने नम्बर दिने गर्छन् ।

भाडाको गाडीमा जसरी भाडादर राखिएको हुन्छ त्यसरी नै ट्राफिक महाशाखाको नम्बर किन राखिँदैन । यदि कोही जनता समस्यामा परिरहेका छन् भने उसले कसलाई सम्पर्क गर्ने ? पछिल्लो समय ट्राफिक महाशाखा जनताको लागि नभई यातायात व्यवसायीहरुका लागि हुन् भनेर हरेक नागरिक बताउँछन् ।
उपत्यकाभित्र बेलुका साँझ परेपछि भाडाका गाडी पाइँदैन ।

पैसा हुने त राति जुनसुकै समयमा पनि घर जान सक्छन् तर पैसा नहुनेले के गर्नु ? यातायात व्यवस्था विभागले भाडाको क्युमा चल्ने गाडीहरु रातिको ११ बजेसम्म चल्नुपर्छ भनेर निर्णय गरे पनि यातायात व्यवसायीहरुलाई कमाइ पुग्नेबित्तिकै बेलुका ६ बजे गाडी थन्क्याउने गर्छन्, कारबाही छैन । भाडाको गाडी भनेर दर्ता गर्छन् तर निजी प्लेटको जस्तो मन लागेको समयमा चलाएर थन्क्याउँछन् । यस्ता सवारीसाधनलाई पनि ट्राफिक महाशाखाले कारबाही गर्दैन । भाडाका गाडीलाई १५ वर्ष पुगेपछि र निजी प्लेटका २० वर्ष पुगेपछि विस्थापन गर्ने भनेर कुनै निर्णय वा पहल गरिँदैन ।

सवारीसाधनमा चालकहरुले आजभोलि ठूलो आवाजमा गीत बजाउँछन्, जसले गर्दा दुर्घटना हुने सम्भावन बढ्ने हुन्छ । भाडाका गाडीहरुमा ज्येष्ठनागरिक तथा महिलाहरुका लागि भनेर सरकारले सिट निर्धारण गरे पनि उनीहरु उभिएर नै जानुपर्ने बाध्यता छ । साथै व्यवसायीहरु यात्रुसँग पैसा लिन्छन् तर टिकट तथा बिल दिँदैनन् । यसको कारबाही पनि हुदैन । सरकारले दुर्घटना वृद्धि भयो भनेर गाडीको छतमा मानिस नराख्ने भनेर निर्णय गरेको थियो तर अहिले पनि छतमा मानिस राखेर गुडिरहेका भेटिन्छन् । यी सब बेथिति नियन्त्रण गरेर यात्रुलाई सहज यात्रा गराउने कहिले ?

– कविता केसी ।

प्रतिक्रिया दिनुहोस्