भुसमा आगो बढेझैँ कोरोना बढ्दै छ



पछिल्लो केही सातायता कोरोना संक्रमणदर निरन्तर उकालो लागिरहेको छ । संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोना संक्रमण बढे पनि हाम्रो समाजमा बेवास्ता गरिएको छ । साउन लागेयता हिन्दू धर्मावलम्बीहरु मठमन्दिर जाने क्रम बढेको छ ।

जुनै पनि मन्दिरमा भक्तजनहरुको चाप यत्तिकै छ । तर, तीमध्ये कसैले पनि कोरोना मापदण्डको पालना गरेका छैनन् ।मास्क लगाउन हेलचेक्र्याइँ गरिएको छ भने भौतिक दूरी पालना अकल्पनीय विषय भइहाल्यो । यता, हलहरुमा पनि उत्तीकै भीड छ ।

फिल्म हेर्न जाने दर्शकहरु पनि लापरबाह देखिएका छन् । रात्रिकालीन व्यवसायहरुले पनि सरकारले बनाएको मापदण्ड पालना गरेका छैनन् । दोहोरी साँझ, डान्सलगायत मनोरञ्जनात्मक क्षेत्र यतिखेर कोरोना उत्पादन गर्ने कारखाना बनेका छन् ।देशभर रहेका तरकारी बजारमा पनि लापरबाही गरेको देखिन्छ । कालिमाटी, बल्खु, तीनकुने लगायत उपत्यकाका विभिन्न तरकारी तथा फलफूल बजार कोरोना फैलाउने थलो बनेका छन् । व्यापारी र ग्राहक दुवैको मुखमा मास्क छैन । यता, छिमेकी मुलुकबाट तरकारी ओसार्ने चालकहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । जसका कारण कोरोनाले उग्ररुप नलेला भन्न सकिँदैन ।

विदेशी मुलुकबाट नेपाल भित्रिएकाहरु सीधै आफ्नो घर गइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावकारी हेल्थ डेस्कको व्यवस्था गरेको पाइँदैन । उता, हवाईजहाजमा पनि सरकारले कोरोना नियन्त्रणका लागि बनाएका नियम पालना भएको छैन । न क्वारेन्टिनको प्रबन्ध नै मिलाउन सकिएको छ । यसले गर्दा कोरोना झनै बढिरहेको छ ।

लामो र छोटो रुटमा चल्ने सार्वजनिक यातायातका चालक र सहचालक सबैभन्दा धेरै गैरजिम्मेवार छन् । उनीहरु मास्क लगाउँदैनन् । सरकारले भीडभाड नगर्नु भनेर निर्देशन दिइरहेको बेला उनीहरु गुन्द्रुक खाँदेसरह यात्रु खाँद्छन् । सरकारी कार्यालय नै सरकारको मापदण्ड पालना गर्न चुकेको छ । कर्मचारी र सेवाग्राही दुवै कोरोना फेलाउन तम्सिएका छन् । सिस्टमविना सरकारी कार्यालय सञ्चालन हुँदा कोरोना बढ्ने निश्चित छ ।

अस्पतालको हाल पनि बेहाल छ । बिरामी र कुरुवा दुवैले जनस्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । अस्पताल घुमघामका लागि जाने स्थलझैँ बनेको छ । बेफिक्री कोरोनालाई नै चुनौती दिएर हिँड्ने क्रम बढेको छ । जसले ठूलो क्षति निम्त्याउन सक्छ । अस्पतालमै जनस्वास्थ्य मापदण्डको पालना हुन सकेको छैन भने अरु ठाउँमा असम्भवझैँ छ । पार्टी प्यालेसहरुमा अहिले पनि थुप्रै कार्यक्रम सञ्चालित छन् । विवाह, व्रतबन्ध, भोजलगायतका उत्सवहरु पार्टी प्यालेसमै मनाउने गरिएको छ । यता, वित्तीय संस्थामा पनि उत्तिकै भीड छ । तर, सबै क्षेत्र कोरोनाको मापदण्ड पूरा गर्न कहीँ–कतै चुकेको देख्न सकिन्छ ।

भिडियो र फिल्महरुको धमाधम सुटिङ भइरहेको छ । सुटिङमा कलाकारदेखि लिएर हेर्ने दर्शकको भव्य भीड हुन्छ । तर, न भीडले स्वास्थ्य मापदण्डको पालना गर्छ, न कलाकारले । भाटभटेनीलगायत अन्य थुप्रै सुपरमार्केट, होटल, रेस्टुरेन्टको पनि उही हाल छ । अटोशोरुम र वर्कसपले पनि कोरोना उत्पादन गर्न सहयोग गरिरहेको छ । फुटपाथ पसलेहरुले पनि भकाभक कोरोना फैलाइरहेका छन् ।

बाटोमा मास्क नलगाई हिँडेको प्रशस्तै भेटिन्छ । स्वास्थ्य मापदण्ड पालना नगरीकन निस्फ्रिकी हिँड्ने क्रम रोकिएको छैन । स्कुल र कलेजजस्तो ठाउँमा झनै लापरबाही देखिन्छ । स–साना विद्यार्थी पढ्ने ठाउँमा गरेको हेलचेक्र्याइँले कोरोना थप बढाउनेछ । विद्यार्थीले मात्र नभई शिक्षकले समेत मास्क लगाएका छैनन् ।

कतिपय गाउँपालिका, नगरपालिकाले त स्कुल नै बन्द गरिदिएका छन् । पछिल्लो समय हात मिलाउने र अँगालो हाल्ने काम बढेको छ । यसअघि कोरोना देखिँदा सबैले नमस्तेलाई प्राथमिकता दिएका थिए । तर, फेरि पनि हात मिलाउन थालिएको छ । घरघरमा फोहोर संकलन गर्ने र कबाडी लिन आउनेहरुले पनि कोरोनालाई चुनौती दिएका छन् । उनीहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ कोरोनाको तथ्यांक सार्वजनिक गर्दछ । जसअनुसार उपत्यकामा कोरोना संक्रमण हुने दर बढिरहेको छ । अधिकांश भीडभाड हुने ठाउँमा कसरी मापदण्ड पालना गराउने ? यसतर्फ मन्त्रालयको ध्यान गएको छैन । नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, न्युरोड, रत्नपार्कलगायतका क्षेत्रमा यत्तिकै भीडभाड छ ।

दर्शन गर्ने नाममा भारतीय नागरिकहरु धमाधम राजधानी छिरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भनेर नेपाल छिर्नेको क्रम बढेको छ । तर, नाकामा कोरोना चेकजाँच शून्यजस्तै छ । ७७ जिल्लाका सर्वसाधारणहरु काम लिएर, घुमघाम गर्न काठमाडौं आइरहेका छन् । तर, नाकामा उनीहरुको परीक्षण गरिँदैन । गाउँपालिका र नगरपालिकाले कोरोना जाँच्ने कार्यलाई प्राथमिकता दिएको छैन ।

यता, काठमाडौंबाट गाउँघर जानेलाई पनि कडाइ गरिनुपर्छ । उपत्यका भित्रिने साँगा र थानकोट नाकामा जतिसक्दो कडाइ गर्नुपर्छ । उपत्यकाका नगरप्रमुखहरुले कोरोनालाई बेवास्ता गरेका छन् । यता, सुरक्षाकर्मीहरु पनि जथाभावी रुपमा ड्युटी गरिरहेका छन् । आफू पनि सतर्क हुनुपर्छ, अरुलाई सजग बनाउनुपर्छ भनेर उनीहरुमै चेतना नभएको हो ? राजनीतिक पार्टीहरुले जनता भेला गरेर कार्यक्रम गरिरहेका छन् ।कोरोना फैलाउने काम राजनीतिक दलले नै गरिरहेका छन् ।

शिक्षा मन्त्रालयलाई विद्यार्थीको ज्यान ख्यालख्याल भएको छ । गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले भीड कसरी कम गर्ने सोचेका छैनन् । वकालत गर्ने ठाउँ, संग्रहालय र चिडियाखानामा पनि उस्तै पारा छ । स्वास्थ्यमन्त्री कडाइ पनि नगर्ने, निषेधाज्ञा जारी पनि नगर्ने र जनताले तिरेको करबाट तलब भत्ता मात्र खाइरहने ।

खोप लगाएको छ भनेर ढुक्कसँग बस्ने अवस्था छैन । खोप लगाएकाहरुलाई पनि कोरोना लाग्छ भनेर चिकित्सकहरुले भनिरहेका छन् । दैनिक कोरोना बढेको छ भनेर तथ्यांक सार्वजनिक गर्ने तर कम गर्न नतात्ने । बरु, जनतामा त्रास फैलाउनुबाहेक सूचना पनि जारी गर्न छोडिदिए हुन्छ । बेकारमा कोरोनाको तथ्यांक जारी गरेर जनतालाई किन त्रसित बनाउने ?

यसअघिका स्वास्थ्यमन्त्रीहरुले स्वास्थ्य मापदण्ड र निषेधाज्ञा नगरेको भए नेपालमा लाखौं मानिस कोरोनाका कारण मर्थे । त्यत्रो कडाइ गर्दा त यत्रो मान्छे मरेका छन् । अहिलेको पाराले कति मर्ने हुन् ? काम नगर्ने अनि मन्त्री छाड्नुप¥यो भनेर बलिन्द्र आँसु बगाउने । माधव नेपालको पार्टीमा राम्रो व्यक्ति नै छैनन् अनि पार्टी कसरी उँभो लाग्छ ? भएभरको झार सबै त्यही पार्टीमा पुगेका छन् । चाडबाडको सिजन शुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति पनि घोषणा भइसकेको छ । अब कोरोनाले थप भव्य रुप लिन्छ । उद्योग व्यवसायी र यातायात व्यवसायीहरु लकडाउन गर्न नहुने पक्षमा छन् । तर, जनता बचाउने कि व्यवसायी ? सरकारको हातमा छ ।

– अनुसा थापा ।

प्रतिक्रिया दिनुहोस्