कृष्ण लीला, माइकल अधिकारी र प्रेमगञ्ज सँगसँगै



यो साता एकसाथ तीन नेपाली फिल्म कृष्ण लीला, माइकल अधिकारी र प्रेमगञ्ज रिलिजमा आउने भएको छ। कृष्ण जन्माष्टमीको बिदाको अवसर पारेर आज शुक्रबारबाट एकसाथ तीन फिल्म रिलिजमा आउन लागेका हुन्।

प्रेमकथाको कृष्ण लीला दीपक वलीले निर्देशन गरेका छन्। आरआर फिल्म्स्को ब्यानरमा रोहित कद्मेलको प्रस्तुति, केवल तामाङ र प्रकाशराज कार्कीको निर्माण तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का, श्रद्धा क्षति, बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम, बालकलाकर आयुष गुरागाईंलगायत मुख्य भूमिकामा छन्।

पूर्वी नेपालको इलाम, पाँचथर तथा झापाका रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा लेखन लक्ष्मण सुवेदी, संगीत अर्जुन पोखरेल र बाबुल गिरी, कोरियोग्राफी रामजी लामिछाने र माइकल चन्द, छायांकन शिव ढकाल र सम्पादन अर्जुन जिसीको रहेको छ।

त्यस्तै, बुधबार राजधानीमा सम्पन्न प्रिमियरमा मन पराइएको अर्को फिल्म माइकल अधिकारी सेरोगेसीको कथामा बनेको छ। अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व नेपाल सुन्दरी सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सौगात र सृष्टिका अलावा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरालगायतका कलाकारले अभिनय गरेका छन्।

गोपीकृष्ण मुभिजको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति तथा निरक पौडेलले निर्माण रहेको फिल्म रञ्जित रौनियारले निर्देशन गरेका हुन्। फिल्ममा आर्थिक अवस्था कमजोर भएको दम्पतीले पैसाको लागि अरूलाई बच्चा जन्माइदिने काम गर्न बाध्य भएको कथा हास्य रसमा प्रस्तुत गरिएको छ। शैलेन्द्र कणेल क्षत्रीको पटकथा र संवाद, शैलेन्द्र कणेल क्षत्री र दयाराम पाण्डेको गीत, शम्भुजित बासकोटा र रेवन सिंहको संगीत, राजुविक्रम थापाको छायांकन निर्देशन र मित्र डि गुरुङको सम्पादन रहेको फिल्मको छायांकन इलाम र झापामा गरिएको छ।

अर्को फिल्म प्रेमगञ्ज परिच्छेद सेनले निर्देशन गरेका छन्। प्रेमकथाको फिल्ममा तेज गिरी, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भद्मराईलगायतले अभिनय गरेका छन्। निर्देशक सेनकै लेखनमा बनेको फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत, सञ्जय लामाको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्