६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन शुरू



काठमाडौं । 

राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन शुरू गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन शुरू भएको हो ।

गत फागुनदेखि ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहारलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्यान्डफिल साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा फोहोरको थुप्रो बढेको थियो । काठमाडौं महानगरपालिका वातावरण विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार बिहीबार बिहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले १८ र समानान्तर निर्माण सेवाले ३० र बाँकी कामपाले गरी ६० ट्रिप फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । ट्रान्सफर स्टेसनमा करिब ८ सय ट्रिप फोहोर थुप्रिएको बताउँदै श्रेष्ठले भन्नुभयो– ‘ट्रान्सफर स्टेसनको सबै फोहोर उठाउन करिब ४ दिन लाग्न सक्छ ।’

कामपाका प्रवक्ता नवीन मानन्धरले काठमाडांै, नुवाकोट र धादिङको प्रमुख जिल्ला अधिकारी, कामपाका प्रमुख कार्यकारी अधिकृत, तारकेश्वर र धुनिबेसी नगरपालिका जनप्रतिनिधि र तीनै सुरक्षा निकायका अधिकारीबीच ३ बुँदे सहमति भएपछि बिहीबारबाट फोहोर उठाउन शुरू भएको जानकारी गराउँदै प्रवक्ता मानन्धरले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘स्थानीयको जायज माग पूरा गर्दै फोहोर व्यवस्थापन गर्नेछौं ।’ ट्रान्सफर स्टेसनको फोहोर ढुवानी थालिएपछि पीडित संघर्ष समितिका संयोजक चन्द्रमान महर्जनले खुसी व्यक्त गर्नुभयो ।

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले महानगरलाई समस्या परेका बेला पेशा व्यवसायीले सहयोग गर्नुपर्छ भनेर हामीले ट्रिपर तथा ट्रक व्यवसायी समितिसँग छलफल गरेर सहयोग गरेका हौं भन्नुभयो ।वातावरण व्यवस्थापन विमागका नायब प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टले निजी र अन्य गरी बिहीबार करिब २ सय ९७ ट्रिप फोहोर विसर्जन भएको जानकारी दिनुभयो । फोहोर विसर्जनका लागि कामपाले व्यावसायिक ट्रिपर चालकलाई प्रति टिप २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपियाँ पारिश्रमिक उपलब्ध गराएको थियो ।

कामपाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनमा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै फोहोर व्यवस्थापनलाई वातावरण र जन स्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिइएको बताउनुभयो । उहाँले भन्नुभएको छ– ‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको छ । तर, लक्ष्यमा म अडिग छु ।’

ल्यान्डफिल साइटमा फोहोरलाई व्यवस्थित रूपमा विसर्जन गर्नुुपर्ने, काठमाडौं महानगरपालिकाले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने र दैनिक औषधि हालेर मात्र फोहोर विसर्जन गर्नुपर्ने सहमतिपछि बिहीबार बिहान ११ बजेबाट फोहोर खसाल्न शुरू भएको थियो । कामपा ल्यान्डफिल साइट प्रहरी प्रमुख पूर्णचन्द्र भट्टका अनुसार कतै अवरोध नभए अबको एक सातामा राजधानीको फोहोर व्यवस्थापन हुनेछ ।

कामपाको पहिलो प्राथमिकता सडक छेउमा थुपारिएको फोहोर उठाउने रहेको छ । विगत दुई महिनादेखि राजधानीको फोहोर पूर्ण रूपमा उठाउन नसक्दा दुर्गन्ध फैलिएको छ ।पछिल्लो एक सातायता गठबन्धन दलका नेताले पानीको मुहानमा फोहोर फालेको, बन्चरेमा मापदण्डविपरीत फोहोर व्यवस्थापन गरेको लगायतका माग राखेर आन्दोलन गरेका थिए । बिहीबार पनि केही स्थानीयले आन्दोलन गर्न खोजेका थिए । तर, प्रहरी टोली पुग्नासाथ स्थानीयले आन्दोलन रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्