बैतडीमा भलिबल प्रतियोगिता हुने



बैतडी ।

बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ । खेलकुदका साथै विभिन्न सामाजिक कार्य गर्दै आएका मेनेजर तेजबहादुर चन्द ट्रस्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रस्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

ट्रस्ले यसअघि प्रत्येक वर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि अन्तरपालिका प्रतियोगिताको तयारी गरेको हो । तिहारपछि भलिबल प्रतियोगिताको आयोजना गरिने र त्यसमा दशओटै पालिकाका टिमको सहभागिता रहने ट्रस्टका अध्यक्ष ग्रिस चन्दले बताउनुभयो ।

मेनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगितामा पहिलो हुने टिमलाई नगद १ लाख २५ हजार पुरुस्कार दिइनेछ । यस्तै, दोश्रो हुने टिमलाई नगद ७५ हजार र तेश्रो हुने टीमलाई नगद ३५ हजार पुरुस्कार दिइनेछ । यसका साथै प्रतियोगितामा ३ विधामा उत्कृष्ट खेलाडीले ५ हजारका दरले नगद पुरुस्कार पाउनेछन् ।

सुन्दरखाली खेलमैदान हुने प्रतियोगिताको मिति केही दिनमै तोकिने जनाइएको छ । बैतडीमा भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको ट्रष्टले यो वर्ष उन्नाइस वर्षमुनिको क्रिकेट प्रतियोगिता आयोजना गर्नेसमेत योजना बनाएको छ । शैक्षिक क्षेत्रको उन्नतिका लागि मणिलेक मावि काँडा मेलौलीमा पुस्तकालय स्थापनाका लागि सहयोग गरेको ट्रष्टले अन्य विद्यालयमा पनि सहयोग गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्