ब्राजिल र अर्जेन्टिनाको खेल नहुने



लन्डन, (एजेन्सी) ।

कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा गत साल ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल अब नहुने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको उक्त खेल रद्द गर्ने निर्णय गरेको हो । दुवै देशको फुटबल संघको आग्रहमा फिफाले खेल नै रद्द गर्ने निर्णय गरेको हो । फिफाले दुवै टोलीलाई नियमावलीअनुसार खेलमा सहभागी नभएकोमा जरिवाना तिराउँदै खेल रद्द गर्ने भएको छ । फिफाको नियम अनुसार अब दुवै टोलीले १ लाख ५० हजार स्विस फ्रान्क तिर्नेछन् । छनोटमा ब्राजिल ४५ अंकसहित शीर्षस्थानमा रहँदा अर्जेन्टिना ३९ अंकसहित दोस्रो स्थानमा रह्यो । उरुग्वे र इक्वेडर पनि सीधै विश्वकपमा छनोट भए ।

गत वर्षको अगस्तमा भएको ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेलको नाटकीय रूपमा रद्द हुन पुगेको थियो । सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोनासम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेपछि रेफ्रीले खेल रोकेका थिए ।

केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि अर्जेन्टिनी टोली र रेफ्रीले मैदान छोडेपछि खेल स्थगित गरिएको थियो । स्थगित भएको उक्त खेल पुनः अस्ट्रेलियाको मेलवर्नमा ११ जुनमा गर्ने तय भएको थियो । तर, खेलका लागि अर्जेन्टिना टिमलाई जान अनुमति नदिएपछि त्यो पनि स्थगित भएको थियो । खेलका लागि भिक्टोरिया सरकारले टिकट विक्री सुरु गरे पनि रोक्नुपरेको थियो ।

पछिल्लो समय भने दुवै संघले छनोट खेल २१ सेप्टेम्बरमा गर्न तयार रहेका थिए । तर, विश्वकपको ठीक अघि चोटको डर हुने भन्दै खेल स्थगित गर्न दुवै राजी भए । विश्वकपमा दुवै टोली छनोट भएकाले पनि यो खेलको नतिजाले खासै प्रभाव पर्ने थिएन । कतार विश्वकपमा अर्जेन्टिना समूह सी मा रहेको छ । अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल भने समूह जी मा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुनसँग रहेको छ । विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्