अपराध गर्नकै लागि हानथाप हो त ?



अघिल्लाजीले सलाईको बट्टा–काँटी सबै ठिक्क पारेर राख्नुभएको रहेछ, हामीले त डढेलो सल्काइदिएका मात्र हौँ, मुलुकको भाग्य–भविष्य डढाइदिएका मात्र हौँ, यसो गर्नुमा हाम्रो कुनै अपराध छैन भन्नु कतिसम्मको जिम्मेवार बयान हो ? फलाना चोरले घर फो¥यो, चोर्न भ्याएन, हामीले त उसले फोरेको ठाउँबाट पसेर चोरिदिएको मात्र हो, हामी चोर होइनौँ, चोर त फलानै हो भन्नु विवेक, विचार, कानुन र नैतिकताका दृष्टिले कति सही तर्क हो ?

तरबार त फलाना महामहिमले साँद लगाएर ठिक्क पार्नुभएको हो, हामीले त घाँटी रेटेर मारिदिएका मात्र हौँ, बन्दुक उहाँले ठीक पार्नुभएको हो, गोली उहाँले नै भर्नुभएको हो, फायर गर्न घोडा पनि थिच्नुभएको हो, सन्जोगवश पड्केको थिएन, हाम्रो गठबन्धनले त्यही बन्दुक समातेर पड्काएको मात्र हो, मुलुक मार्ने योजना त उहाँकै हो भनेर राष्ट्रियता र स्वाधीनताको छातीमा गोली बर्साउनु कुन राजनीति, कुन नैतिकता, कुन दायित्वबोध र कुन कानुनले मिल्ने कुरा हो ?

यदि अघिल्लाले गरेका सबै अपराध महान् पुण्यकार्य थिए, राष्ट्र र जनताका हितमा गरेका महान् कार्य थिए भने त्यस अघिल्लालाई जबर्जस्ती हटाएर पछिल्लाले सत्ताको कुर्सीमा ठडिन आउनुको औचित्य नै के थियो ?सरकार फेरिनु भनेको वधशालामा वधिकहरु फेरिनुजस्तै मात्र हो त ? मुलुकको स्वाधीनता, सार्वभौमिकता र जनताका भाग्य–भविष्यमाथि डढेलो सल्काउने नियतका एमसीसी, एसपीपी, जनसंख्या विधेयक आदि सबै–सबै यथावत् पारित गर्नु नै गठबन्धन बन्नुको उद्देश्य थियो भने यो सबै त अघिल्लो सरकारले पनि मरिहत्ते शैलीमै गर्न खोजेकै थियो, त्यसैलाई सहयोग गरेको भए हुन्थ्यो । अन्यथा यस गठबन्धन सरकार बन्नुको औचित्य नै के थियो ?

जनता भेडा होइनन् । जनता भेडा छैनन् । नेपाली जनता बहादुर देशभक्त जनता हुन् । नेपालका आजका यी शीर्ष भनिने नेताहरु र यिनका पार्टीहरु पनि एक–एक वधिकको भूमिकामा रहेछन् भन्ने यथार्थ जनताले छर्लङ्ग बुझेका छन् । वधिक यो आए पनि त्यो आए पनि रेट्ने जनताकै घाँटी हो भन्ने यथार्थ अब अरु स्पष्ट भएको छ ।यो यस्तो अन्धाधुन्ध परिस्थतिमा कसैले सत्तामा रहेर यी अपराधीहरुका विरुद्ध जनहितका पक्षमा एउटा सानो सिन्को मात्र भाँच्छ भने पनि त्यसको हामी जनताले प्रशंसा गर्नुपर्छ ।

नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिको कदमको नेपाली जनताले उच्च मूल्याङ्कन गर्नु सर्वथा जायज छ । नाजायज त ती नेता, उपनेता र तिनका पिछलग्गुहरु हुन्, जो गल्ती त लगातार भइरहन दिनुपर्छ, सँच्याउन हुँदै हुँदैन भन्ने मुढे धारणा राख्छन् । यी यस्ता अनुहारहरु अब आउने भनिएको निर्वाचनमा जनताका अगाडि भोट माग्न कुन नैतिकताको नाक लिएर जान्छन् ? यो जिज्ञासा आज धेरैका मनमा उब्जेको छ ।

हो, मानिसबाट गल्ती हुन सक्छ । असल मानिसहरुबाट पनि यदाकदा गल्ती हुन सक्छ । असल मानिसहरु गल्ती सकार्छन् । इमानदारीका साथ आत्मालोचना गर्छन् । जनतासँग क्षमायाचना गर्छन् र गल्ती सच्याउँछन् । नेपालका आजका शीर्ष भनिने नेताहरु र तिनका दलका जनजिम्मा पाएका जनप्रतिनिधि भनिएका उपनेताहरुसँग गल्ती सच्याउने र आपूmलाई अलि असल मानिसका रुपमा रुपान्तरण गर्ने चेतसम्म पनि खुलेको नपाइनु आजको एउटा अत्यास लाग्दो सन्दर्भ हो ।

संसारमा घटनाहरुबाट चेत खुलेपछि कति–कति दुर्दम्य अपराधीहरु पनि साधुसन्तमा फेरिएका घटना, कथाहरु छन् । मानव इतिहासमा यसका धेरै दृष्टान्तहरु भेटिन्छन् ।हिन्दीमा एउटा उखान छ– जितना बडा पापी उतना बडा सन्त । सुन्दै पनि यो उखान अनुभवको निचोडजस्तो लाग्छ ।

बूढापाकाहरु भन्छन्, अनुसन्धान गर्ने हो भने नामुद सन्तहरुमध्ये ठूलै प्रतिशत विगतका भयङ्कर ठूला अपराधी पाइन पनि सक्छन् । समाजमा अपराध नखुलेका तर आपैmँ भित्रभित्रै आत्मग्लानिले लखेटिएका कति सहृदयहरु सन्त बनेका पनि हुन सक्छन् । जोगी, संन्यासी बनेका पनि हुन सक्छन् । हाम्रा पूर्वजहरुले विभिन्न अपराधहरुका प्रायश्चित्तको विधान पनि सम्बन्धित शास्त्रहरुमा गरेका छन् ।

कति अपराधीहरुले संयोगवश ती शास्त्र पढ्न पाएका पनि हुन सक्छन् । त्यस्ता स्थितिमा अपराधीका मनमा उठेका पश्चात्तापले पनि प्रायश्चित्त खोजेको हुन सक्छ । यस्तो हुनु आफ्ना क्रियाकर्मप्रतिको उत्तरदायित्व बोध र इमानदारी पनि हो । साथै यो धर्मभीरुताको लक्षण पनि हो ।

जिन्दगीभरि निष्पट्ट अपराधी बानिरहनुभन्दा धर्मभीरु बन्नु समाजका लागि राम्रो हो । हामीसँग अङ्गुलीमालजस्तो भीषण अपराधी महात्मा बुद्धको सङ्गत पाएर बौद्ध भिक्षु बनेको इतिहास छ । रत्नाकरजस्तो भयङ्कर डाँका देवर्षि नारदको सङ्गत पाएर महाकवि वाल्मीकि बनेको इतिहास छ । खोजी पसे इतिहास, पुराणहरुमा यस्ता दृष्टान्तहरु धेरै पाइन सक्छन् ।

अङ्गुलीमाल रत्नाकर र वाल्मीकिको प्रसङ्ग आउँदा विभिन्न राजनीतिक पार्टीका शीर्ष भनिने टाउके नेताका राष्ट्रघाती र जनतामारा व्यवहारबाट पीडित आजका हामी भुक्तभोगी नेपालीहरु शेरबहादुर देउवा, केपी ओली, पीके प्रचण्ड र उपेन्द्र यादव प्रभृतिलाई झ्वास्स सम्झन्छौँ, झल्याँस्स हुन्छौँ ।

यी शीर्ष भनिने नेताहरु र तिनका मातहतका उपनेताहरुले देश र जनताविरुद्धका आफ्ना विगतका अपराधहरुबारे साबिती बयान दिएर, खुल्ला नियतले अपराध सकारेर जनतासँग क्षमायाचना गर्दै इमानदार देशभक्त, जनसेवी व्यक्ति बन्ने प्रतिज्ञा गरे र आचरण सुधार गरेरै देखाए भने तिनीहरुलाई असल बन्ने अवसर दिने कि नदिने ? हिजो बुद्धि बिग्रेर गल्ती गरेका व्यक्तिले आज बुद्धि सप्रेर त्यो गल्ती सुधार्न प्रयत्न गर्छ भने सुधार्ने मौका दिने कि नदिने ? अपराधको मात्रा हेरेर विवेक प्रयोग गर्न सकिने तहमा यो पनि आजको एउटा जल्दोबल्दो प्रश्न हो ।

आज जनसंख्या विधेयक फिर्ता प्रक्रियाको सन्दर्भलाई राष्ट्रपति महोदयले विगतका आफ्ना पनि गल्ती सच्याइएको र अहिले थप गल्ती हुन नदिन र समयमै सच्याउन सदनलाई आग्रह गरेको कोणबाट पनि त हेर्न सकिन्छ । देश र जनताका हितमा लक्षित यस्ता कदमको त प्रशंसा हुनुपर्छ, अनर्गल आलोचना होइन । गल्ती सच्याएर सही बाटो पहिचान गर्दै गन्तव्यतिर अघि बढ्न पाउनु मानिसको नैसर्गिक अधिकार नै हो, हैन र ?

असल कामकुरामा हच्किनेहरु गलत कामकुरामा सहयोगी हुन सक्छन् । व्यवहारमा त्यस्तो देखिएको छ । असल कामका अभियन्ताहरु आफ्ना अभियानमा यदाकदा एक्लै पनि हुन सक्छन् । यो पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्