भदौ १५ मा नमुना मतपत्र छपाइ

समानुपातिकतर्फको भने २० गतेबाट



काठमाडौं । 

जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइ गर्ने भएको छ । मंगलबार दल दर्ता सकिएलगत्तै केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको हो ।

केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले बुधबार नेपाल समाचारपत्रलाई शुरूमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गरिने जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले मतपत्र छपाइ गर्न कागजको टेन्डर पूरा गरिसकेको छ भने केन्द्रले मसी, प्याकिङ गर्न कार्टुन, डोरीलगायतका सामग्री तयारी गरेको छ ।

प्रवक्ता आचार्यका अनुसार भदौ २० गतेबाट समानुपातिकतर्फको ४ करोड थान मतपत्र छपाइ हुँदै छ । छपाइ केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको ४ वटा छापाखानामा हुनेछ र आवश्यक परे केन्द्रको अन्य मेसिन पनि प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

आयोगमा मंगलबार ८४ वटा दलले नाम दर्ता गराएको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलको नाम सार्वजनिक गरेलगत्तै मतपत्र छपाइको काम शुरू हुनेछ । केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा ८ करोड मतपत्र छाप्ने गरी तयारी थालेको छ ।

मतपत्र छपाइ गर्ने निश्चित भएपछि केन्द्रले सीसीटीभी, मेसिन मर्मतको काम शुरू गरेको छ । प्रवक्ता आचार्यले भन्नुभयो– ‘हामीले मतपत्र छपाइ सुरक्षार्थ सुरक्षण मुद्रणालयमा ५० र अन्य स्थानमा गरी करिब ६५ वटा सीसीटीभी जडान गरेका छौं । नमुना मतपत्र छपाइ शुरू हुने एक दुई दिनअघि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको सुरक्षाटोली सरक्षण मुद्रणालयमा पुग्नेछन् । हामीले मतपत्र छपाइ शुरू गर्न लागेको जानकारी पाउनासाथ आयोगका प्राविधिक र सुरक्षा टोली छपाइ स्थलको सुरक्षार्थ खटिनेछन् ।’

मतपत्र छाप्न केन्द्रका करिब २ सय कर्मचारी खटाउने तयारी छ । मुद्रणालयमा प्रवेश गर्दा नेपाली सेनाले सम्पूर्ण सुरक्षा जाँच गर्नेछ । नेपाली सेनाले सुरक्षा जिम्मा लिएपछि प्रेसका कर्मचारीले सेनाकै सुरक्षा निर्देशन मान्नुपर्नेछ । छापाखाना सुरक्षा गर्न १ सय ५० जना नेपाली सेना परिचालित हुनेछन् ।

१ सय ६५ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फको मतपत्र अन्तिममा छपाइ हुनेछ । त्यसअघि संघ र प्रदेशतर्फको समानुपातिक मतपत्र छपाइ हुनेछ । प्रेसका सबै गतिविधि नेपाली सेनाले निगरानी गर्नेछ । सीसीटीभीको अनुगमन सेनाबाटै हुनेछ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आयोगको निर्देशनअनुसार भदौ २० बाट समानुपातिक र त्यसअघि नमुना मतपत्र छपाइ गर्न सबै प्रक्रिया अघि बढाइसकेको बताउनुभयो ।

तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाइ गर्न उच्च सुरक्षा संयन्त्र परिचालन हुनेछ । आयोगले मतपत्र केन्द्रमै प्याकिङ गरी मतदान केन्द्रमा पठाउने व्यवस्था गर्नेछ । आयोगले उपत्यका र शहरी क्षेत्रबाहेकका अन्य निर्वाचन क्षेत्रमा निर्वाचन आउनु करिब एक साताअघि मात्र मतपत्र पु-याउने गरी तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्