नक्कली जग्गामा इन्जिनियर पक्राउ



काभ्रे । 

बनेपा नगरपालिका वडा नम्बर ५ मा हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा दर्ता भएको मुद्दा प्रहरीले संगठित अपराधमा परिणत गरी थप अनुसन्धान सुरु गरेको हो ।

‘जग्गा ठगीसँगै सरकारी छाप दस्तखत किर्ते अभियोगमा थप अनुसन्धान आवश्यक भएको र उक्त अपराध संगठित देखिएकाले ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगको मुद्दालाई सरकारी वकिल कार्यालयको परामर्शमा संगठित अपराधमा बदलिएको हो’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘सोही अभियोगमा एक पछि अर्को व्यक्ति जोडिँदै गएको अनुसन्धानले देखाएको छ ।

पछिल्लो समय रवि रेग्मीले विक्री गरेको भनिएका जग्गाको प्लटिङ तयार गरी कागजमा कित्ता तयार गर्ने इन्जिनियर पक्राउ परेका छन् ।’ खानि खोला ५ ताल्ढुंगा घर भई बनेपा बस्दै आएका निर्मल लामालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस अघि मालपोत कार्यालय काभ्रेका दुई कर्मचारी शशित भण्डारी र रामविनय यादवलाई पक्राउ गरिएको थियो भने उजुरी परे लगत्तै जग्गा ठगिएका मुख्य योजनाकार भनिएका रवि रेग्मी पक्राउ परेका थिए । उनको योजना सफल बनाउने मध्येका लेखापढी व्यवसायी सीताकुमारी थापा र उनका श्रीमान् फरार छन् । उनीहरू विरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजतलास गरिरहेको छ ।

धादिङ घर भएका रवि रेग्मीले साबिक बनेपा १ हाल बनेपा ५ मा पर्ने खोला किनारको जमिन देखाउँदै ७६ कित्ताको प्लट बनाएर नक्कली कागजात तयार गरी ठगी गरेका थिए । ‘एउटै प्लट देखाएर ठगिनेहरू मध्ये ८ जनाको उजुरी परेको छ’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘थप पीडितहरू आउने क्रम जारी छ ।

अनुसन्धान जारी भएकाले थप विवरण आउनै बाँकी छ ।’ पीडितहरू गणेश मैनालीको ३२ लाख ७० हजार, सिता तिमल्सिनाको ३३ लाख ३ हजार ७ सय ५०, रुकमणी हुमागाईको २३ लाख ३ हजार ७ सय ५०, निर्मला उप्रेतीको ४६ लाख ५१ हजार ८ सय ७५, लालकृष्ण घिमिरेको ५४ लाख, पुण्यवती श्रेष्ठको ३८ लाख ५० हजार ६ सय २५ रहेको छ । जग्गा किन्न बैना रकम दिनेहरू बालकृष्ण श्रेष्ठ ५० लाख र बाबुकाजी श्रेष्ठको ५ लाख रहेको छ ।

प्रहरीले सोही प्लट अन्य गरी ३० वटा भन्दा धेरै पुर्जा यकिन गर्न फरेन्सिक ल्याबमा पठाई सकेको छ । बनेपा ५ मा गुठीमा रुपमा राखेका ज्ञानबहादुर शाही, जीवन शाही, चन्द्रबहादुर शाहीको जग्गाका साथै रेवती दाहाल र अर्जुन दाहालको नाममा रहेको जग्गा देखाउँदै रेग्मीले सर्वसाधारणलाई ठगेका थिए अनुसन्धानमा रेग्मीका २६ वटा खाता फेला परेको छ ।

आफ्नो खाताबाट अन्यलाई पैसा पठाउने गरेको खुलेको छ । उनले डेढ करोड रकम दिएर बैना गरेका ५ वटा जग्गा पनि नक्कली देखिएको छ । नक्कली जग्गाको बैना गर्नेहरूमा सहकारीका सञ्चालकहरू छन् । त्यो कागज र सहकारीका सञ्चालकहरूले पनि आफूलाई थाहा नभएको बताएको छ । प्रहरीले सहकारीका सञ्चालकहरूको बयान लिएको छ । रेग्मीले खरिद गरेका जग्गाहरूको लगत संकलन प्रहरीले गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्