८४ राजनीतिक दल दर्ता



काठमाडौं  ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ८४ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।

आवेदन दिएकामध्ये ८२ वटा दल दर्ता भइसकेको र दुई वटा दर्ताको प्रक्रियामा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । ८४ दलभित्रकै कतिपय दलले अर्को दलसँग एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न आवेदन दिएका छन् । एउटै चुनाव चिन्हमा चुनाव लड्न चाहने समूह चार वटा रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने दल दर्ताका लागि साउन २२ गतेदेखि साउन ३१ गते कार्यालय समयसम्मको समयसीमा निर्धारण गरेको थियो । तोकिएको समयमा ८४ वटा राजनीतिक दलले आवेदन दिएका हुन् ।

नेपालको संविधानको धारा २७१ मा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका थिए । तीमध्ये आउँदो चुनावमा भाग लिन ८४ वटा दलले आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्