सरकारले दिने खर्च पाउन ताकेताकै सास्ती

इन्द्रजात्रामा आर्थिक समस्या



काठमाडौं । 

इन्द्रजात्राको लागि सरकारले ७ वर्षअघि देखि खर्च दिने गरेको भए तापनि उक्त रकम जुटाउन हरेक वर्ष ताकेता गर्नुपरेको सरोकारवालाको गुनासो छ । गत वर्षजस्तै यो वर्ष पनि सरकारले इन्द्रजात्राका लागि दिने रकमका लागि ताकेता गर्नुपरेको छ । सरकारले इन्द्रजात्रा मनाउन काठमाडौं महानगरपालिकामार्फत १३ लाख ९२ हजार रुपियाँ दिने गरेको छ ।

सरकारले इन्द्रजात्राका लागि छुट्टयाएको खर्च लिन हरेक वर्ष कहिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय त कहिले महानगरको चक्कर लगाउनुपर्ने अवस्था रहेको व्यवस्थापन समितिले गुनासो गरेको छ । इन्द्रजात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यले यो वर्ष पनि त्यस्तै अवस्था आउने गुनासो गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रिय चाड मनाउन महानगरपालिकाको किन कन्जुस्याइँ गर्छ ? उहाँको प्रश्न थियो । विदेशी पाहुना बोलाएर पर्व मनाउने भनिएको छ, हालसम्म रकम उपलब्ध गराएको छैन ।’

सोमबार मेयर बालेन्द्र साहले बोलाएको बैठकमा बजेटकै कुरा उठाएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘उहाँले हुन्छ, समयमै दिन्छु भन्नुभएको छ तर कहिले आउँछ ?’ यो वर्षको इन्द्रजात्रा मनाउन उपलब्ध गराउने रकम महानगरको बजेट पुस्तकमा उल्लेख भएको छैन । मेयरसँग भएको भेटमा व्यवस्थापन समितिले जात्रा मनाउन महत्वपुर्ण भूमिका खेल्ने २९ वटा गुठीका गुरुहरूलाई दिने रकम कटौती गरिएको विषय उठाएका थियो । प्रश्न उठ्नेबित्तिकै मेयर साहले बजेट तयार भइसकेको अवस्थामा सो विषयमा पछि छलफल गर्ने बताउनुभएको थियो । पाँच दिनअघि इन्द्रजात्रा तयारी समितिले बोलाएको बैठकमा सहभागी नभएका मेयर साहले सोमबार जात्रा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विषयमा छलफल गर्न समितिलाई बोलाउनुभएको थियो ।

बैठकमा मेयर साहले जात्रा मनाउन कुनै कमी हुन नदिने बचन दिनुभएको समितिले जनाएको छ । बैठकमा महानगरले छुट्टयाएको ५ करोड रुपियाँको अक्षयकोषको तत्काल कार्यविधि बनाएर सञ्चालन गर्न माग गरिएको थियो । अघिल्ला मेयर विद्या सुन्दर शाक्यको कार्यकालमा स्थानीय राजपत्र प्रकाशित गरी अक्षय कोष स्थापना गरिएको थियो । अक्षय कोषको स्थापना भए तापनि कार्यविधि नभएको कारण केही गर्न नसकिएको संयोजक शाक्यको भनाइ छ । मेयर साहले अक्षयकोष सञ्चालन कार्यविधि निर्माण गर्न भोलि बुधबार बैठक बस्ने निर्णय गर्नुभएको छ ।

तलेजुका मूल पुजारी उद्धब कर्माचार्यले जात्रालाई व्यवस्थित गर्न एक महिना अगाबै सबै तयारी पूरा गर्नुपर्ने जिकिर गर्दै भन्नुभयो– ‘सधैं आर्थिक अभाव देखाएर सबैलाई खल्लो बनाउनु जायज होइन । एउटै विषयमा सधैं गनगन गर्नुभन्दा समयमै व्यवस्थापन गरे कुनै समस्या पर्दैन । हरेक वर्ष जात्राको लागि रकम पुगेन भन्दै कराउँदै हिड्नु गलत हो । ’ गत साउन २६ गते सम्पन्न बैठकमा मेयर साहले आफैं उपस्थित हुन्छु भनेर उपमेयर सुनिता डंगोललाई पठाएपछि उहाँको चर्को आलोचना भएको थियो ।

यो वर्षको इन्द्रजात्रा भदौ २४ गते पर्छ । साउन १ गतेको छैटौं कार्यपालिका बैठकले यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरूलाई निमन्त्रणा गर्ने निर्णय गरेको थियो ।जात्रा अवलोकन गर्न भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एसियाली मुलुकहरू (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरूलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखहरूका साथमा ४ जना अधिकारीहरूलाई निम्ता गरी कुल सय जना पाहुना बोलाउने तयारी भएको छ ।

यसअघि २०७६ सालको इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरिएको थियो । तीमध्ये ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर र उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए । त्यसपछिका वर्षहरूमा कोभिड १९ संक्रमणका कारण अन्तर्राष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन । महानगरले भगिनी सम्बन्ध राखेका डडेल्धुराको अमरगढी, जुम्लाको चन्दननाथ, नवलपरासी, वर्दघाट सुस्तापश्चिमको रामग्राम, सिन्धुपाल्चोकको मेलम्ची र धनकुटाको पाख्रीबास नगरपालिका प्रमुखलाई बोलाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्