एसी र इन्टरको सुखद सुरुवात



लन्डन । 

इटालियन सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा एसी मिलान र इन्टर मिलानले जितसँगै सुखद सुरुवात गरेका छन् ।
मिलानोमा शनिबार राति भएको खेलमा एसी मिलानले घरेलु मैदानमा उडिनेसमाथि ४–२ गोलअन्तरको पुनरागमन जित निकालेको हो

। घरेलु टोलीको जितमा एन्टी रेविचले दुई तथा थियो हर्नान्डेज र ब्राहिम डियाजले समान एक–एक गोल गरे । उडिनेसका रोड्रिगो बेकाओ र एडम मसिनाले गोल फर्काएका थिए । खेलको दोस्रो मिनेटमा नै रोड्रिगोको गोलबाट मिलान पछि परेको थियो । १२औं मिनेटमा थियो हर्नान्डेजले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको १५औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एडाम मसिनाले गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक स्थितिमा ल्याए । दोस्रो हाफको सुरुमै अर्थात ४६औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई पुनः ३–२ को अग्रता दिलाए । त्यसपछि ६८औं मिनेटमा एन्टी रेविचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मिलानलाई सहज जित दिलाए । यो जितसँगै मिलानले ३ अंक जोडेर छ ।

अर्काे खेलमा इन्टर मिलानले लेचेलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । इन्टरको जितमा रोमेलु लुकाकु डेन्जेल डेम्फ्रेजले गोल गरे । लेचेका असान सिसेको गोल सान्त्वना बन्यो । खेलको दोस्रो मिनेटमा नै रोमेलु लुकाकुको गोलबाट इन्टरले अग्रता बनाएको थियो । उनले माटियो डर्मिएनको पासमा गोल गरे । तर, खेलको ४८औं मिनेटमा असान सिसेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि, इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा परिवर्तित खेलाडी डेन्जेलले गोल गर्दै इन्टरलाई नयाँ सिजनमा जितसहित सुखद् सुरुवात दिलाए । लोउटारो मार्टिनेजको पासमा गोल गरेका डेन्जेल ६८औं मिनेटमा माटियोको स्थानमा मैदान छिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्