कर्णालीमा कोरोनाको १० हजार मात्रा खोप खेर



काठमाडौं । 

कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाइसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । तर, कर्णाली प्रदेशका नागरिकले भने खोपलाई बेवास्ता गरेका कारण १० हजार मात्रा खोपको म्याद गुज्रेर खेर गएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले नेपाल समाचारपत्रलाई आइतबार दिनुभएको जानकारीअनुसार निर्देशनालयले खोप लगाउनका लागि आह्वान गरे तापनि धेरैले चासो नदिएका कारण १० हजार खोप नष्ट भएको छ । कोरोना संक्रमणको सुरुवाती चरणमा खोप लगाउन भीड बढे पनि कोरोना संक्रमण कम हुँदै गएपछि कर्णालीमा खोप लगाउनेहरूको संख्यामा पनि कमी आएको उहाँले बताउनुभयो ।

निर्देशनालयका अनुसार कर्णालीमा कुल जनसंख्याको ५९ प्रतिशतले कोरोनाको पहिलो मात्रा र ५७ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् अर्थात् १० लाख ७७ हजार ५ सय २८ जनाले पहिलो मात्रा र १० लाख ४६ हजार ७ सय ४९ जनाले दोस्रो मात्रा लगाएका छन् ।

केन्द्रीय खोप शाखाका प्रमुख वसन्त श्रेष्ठका अनुसार कोरोनाविरुद्धको फाइजर खोपको म्याद ९ महिना हुने भए पनि केन्द्रीय खोप केन्द्र टेकुको अल्ट्रा कोल्ड चेनमा रहँदा मात्र यो म्याद कायम हुने र केन्द्रबाट बाहिर निकालेपछि २ देखि ८ डिग्री चिस्यानमा राखिने हुनाले ३१ दिन मात्र खोपले काम गर्दछ । ५ देखि ११ वर्ष र ११ देखि १७ वर्ष उमेर समूहले लगाउने खोप भने कोल्डचेनबाट निकालेको २८ दिनभित्रै प्रयोग गरिसक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्