माओवादीसँग हामी ओपन नै छौं, गठबन्धन हुनसक्छ : राजेन्द्र गौतम



खोटाङ।

नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले आगामी चुनावमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एमाले माओवादीसँग ‘ओपन’ रहेको बताउनुभएको हो ।

कांग्रेसको नेतृत्वमा समाजवादमा नपुगिने भन्दै नेपालमा वामपन्थीहरु एक हुनुपर्ने गौतमको भनाइ छ । माओबादी केन्द्रसँग चुनावी गठबन्धन गर्न एमाले तयार भए पनि माओबादी आफै निर्णय गर्न सक्ने अवस्थामा नरहेको गौतमको टिप्पणी छ ।

मंसिर ४ गते देशभर एकै पटक हुने संघीय र प्रदेश सभाको चुनावमा प्रगतिशील, लोकतान्त्रीक र देशभक्त राजनीतिक पार्टी तथा संगठनसँग मिलेर जाने एमालेको निर्णय भएको गौतमको भनाइ छ ।

कोही व्यक्तिलाई चुनाव अगाडी नै प्रधानमन्त्री घोषणा गरेर भने गठबन्धन गर्न नसकिने गौतमले स्पष्ट पार्नुभयो । तर समाजवादका लागि वामपन्थीहरुको एकता आवश्यक भएका कारण माओवादीसँग गठबन्धन तथा एकता हुन सक्ने उहाँले दोहो¥याउनुभयो ।

गौतमले माओवादीलाई सधै ढोका खुल्ला रहेको बताउँदै नेकपा एकीकृत समाजवादी पार्टीसँग भने अहिले गठबन्धन तथा एकता केही पनि हुन नसक्ने उल्लेख गर्नुभयो । नेकपा एसलाई एमालेले पार्टीको बैधानिकता नै नदिएको स्थायी समिति सदस्य गौतमले सुनाउनुभयो ।

गठबन्धन गरेर नेपाली कांग्रेसले बहुमत आफ्नो पक्षमा पार्नेगरी सिट बाँडफाँड गर्ने रणनीतिमा रहेको गौतमको आरोप छ । त्यो हुन नसके कम्युनिस्टहरुलाई बाहिर राखेर जसपा, लोसपा लगायतका पार्टीसँग तालमेल गर्दै सरकार बनाउने कांग्रेसको रणनीति माओवादीहरुले पछि मात्र थाहा पाउने उहाँले बताउनुभएको छ । राष्ट्रहित र विकासका कामलाई लिएर एमाले आगामी चुनावमा जाने स्थायी कमिटि सदस्य गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्