परराष्ट्रमन्त्री डा. खड्का आज चीन जाँदै



काठमाडौं  ।

चीन र ताइवानबीच तनाव चर्किरहेकै बेलामा चीनको स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार चीनको तीन दिने भ्रमणमा जाँदै हुनुहुन्छ ।

दुई परराष्ट्रमन्त्रीबीच चीनको चिनडाओ शहरमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनडाओ शहरमा बुधबार प्रतिनिधि मण्डलस्तरीय बैठक बस्नेछ । उक्त बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ पक्षको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गर्नुहुनेछ ।

उक्त बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ पक्षको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गर्नुहुनेछ । सोही दिन चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री डा. खड्काको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।चीन भ्रमणमा तीन वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका १८ बुँदे समझदारी र दुईबुँदे आपसी पत्राचारका विषय कार्यान्वयनबारे छलफल हुने बताइएको छ । १८ बुँदे समझदारीमा सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपतकालीन उद्धारमा सहकार्यलगायतका बुँदा उल्लेख छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणमा व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्य गर्ने विषयमा पनि समझदारी भएको थियो ।

यसपटकको भ्रमणमा गत चैतमा चिनियाँ विदेशमन्त्री वाङको दुईदिने भ्रमणका क्रममा भएको आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौता, रेल वे परियोजनाका लागि सम्भाव्यता अध्ययनलगातका ९ बुँदे समझदारीमाथि पनि छलफल हुने बताइएको छ ।त्यसै गरी नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सनका लागि सम्भाव्यता अध्ययन, तातोपानी र केरुङ नाकाको पूर्ण सञ्चालन, काठमाडौं–ल्हासा हवाई उडान शुरू गर्नेलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगै काठमाडौंबाट परराष्ट्रसचिव भरतराज पौड्याल, उत्तर–पूर्वी महाशाखा प्रमुख लोकबहादुर थापालगायत १२ जनाको टोली चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्