सरकार ! अबचाहिँ घरभाडा निर्धारण गर्ने हो कि ?



अहिले बजारमा जताततै महँगी बढिरहेको छ । घरधनीहरुले पनि महँगी बढ्यो भनेर डेरावालसँग भाडा वृद्धि गरिरहेको पाइन्छ । घरधनीहरुले अहिले फ्ल्याट, अफिस, सटर लिएर व्यापार व्यवसाय गर्ने आदिलाई आफूखुशी भाडा बढाइरहेका छन् । यसरी घरधनीहरुले बढाएको वा मागेको भाडा डेरावालले महँगो भयो भन्यो भने कोठा खालि गर्न लगाउने र नयाँ मानिसलाई झन् महँगोमा भाडा लगाउने गर्दछन् । घरधनीहरु यसरी पुरानो मानिसलाई निकालेर नयाँ मानिसलाई महँगोमा कोठा भाडा लगाउने काम गरिरहेका छन् ।

जताततै अहिले घरधनीहरुको दादागिरी, लुट र ठगको धन्दा मौलाएको छ । नेपालको कानुन अनुसार भाडामा बसेको मितिले २ वर्ष नपुगी घरधनीहरुले भाडा बढाउन पाउँदैनन् । बढाए पनि २ वर्ष पुगेपछि भाडाको १० प्रतिशत जोडेर मात्र बढाउन पाइन्छ । तर यता अहिले घरधनीहरुले डेरावालसँग बसेको मितिले ६ महिनामा नै भाडा बढाउने गर्छन् ।कुनै एउटा कोठा पहिला बस्दा ४ हजार थियो भने ६ महिनापछि त्यही कोठा ५ हजार हुन्छ । सटर पनि ठाउँ हेरेर पहिला बस्दा ५ हजार थियो भने ६ महिनापछि सिधै ६ हजार गरिनछ ।

एक फ्ल्याट १५ हजारमा लिएको थियो भने २० हजार बनाउने गर्दछन् । यसरी घरधनीहरुले भाडा बढाउँदा न सरकार नै बोल्न सक्छ, न डेरावाल नै बोल्न सक्छन् । अहिले घरधनीहरुको कारणले गर्दा डेरावालहरु ३÷३ महिनामा कोठा सर्दै हिँड्नुपरिरहेको छ । जसले गर्दा समयको साथसाथै बालबच्चाहरुको पढाइमा पनि असर पुगिरहेको छ । घरधनीहरु जुन समयमा आफूलाई भाडा बढाउन मन लाग्छ त्यही समय भाडा बढाउने गर्छन् । बढाएको भाडामाथि डेरावालले केही बोलेमा घरधनीहरु निस्केर जानुस् भन्छन् । यसले गर्दा डेरावालहरु त्यही महँगो भाडा तिरेर बस्नुपर्ने वा कोठा छोडेर जानुपर्ने बाध्यता सिर्जना हुने गर्छ । डेरावालहरु अहिले घरधनीहरुका कारण पीडित बनेका छन् ।

अहिले घरधनीहरु पुरानो डेरावालहरुलाई निकाल्दै नयाँ कोठा खोज्न आउने मानिसलाई महँगो भाडा लिई ठगिरहेका छन् । विभिन्न मुलुकहरुमा एउटै घरमा धेरै समय बसेमा भाडामा पनि छुट हुन्छ र त्यो घरमाथि पनि डेरावालको हक लाग्ने गर्छ । तर नेपालमा भने भाडामा बस्नेलाई घरधनीहरुले मान्छे नै होइन जस्तो व्यवहार गर्छन् । घरधनीहरु डेरावाललाई सेवासुविधा केही दिँदैनन् । यसरी पैसा भने महँगो लिने तर सेवासुविधा भने केही नदिने काम घरधनीहरुले गरिरहेका छन् । घरधनीहरु आफ्नो घर भन्दैमा कोठा, फ्ल्याट, सटर आदिको मूल्य आफूखुशी राख्ने गर्छन् । सरकारले भने अहिलेसम्म कुन कोठा, सटर, फ्ल्याट आदिको भाडा कति भनेर निर्धारण गरेको छैन ।

कुन घर व्यापार गर्न, कुन भाडामा लगाउन र कुन घर अफिसको लागि दिने भनेर यसको मापदण्ड अहिलेसम्म सरकारले बनाएको छैन । घरधनीहरु पैसा उठाउन पनि जोखिमपूर्ण, भत्किन लागेका जस्ता घरहरु भाडामा लगाउने गर्छन् तर केही गरी त्यो घर भत्केर डेरावाललाई केही भएमा त्यसको जिम्मा भने लिँदैनन् । अहिले पनि एउटा कोठा पाउनका लागि धेरै सङ्घर्ष गर्नुपर्छ । खालि सटर, फ्ल्याट आदिका लागि अहिले विभिन्न दलालीहरुसँग सम्पर्क गर्नुपर्छ । यता घरधनीहरु पुरानो मानिसलाई विभिन्न बहाना बनाई कोठा सरेर जानुस् भन्ने गर्दछन् ।कोठा खोज्न जाँदा घरधनीहरुले झ्यालमा घरधनीको सम्पर्क नम्बर र कोठा खालि छ भनेर लेखेका हुन्छन् । तर घरधनीहरुले जे भन्छन् त्यति नै तिर्छु भनेर नभन्दासम्म उनीहरु कोठा भाडामा दिने गर्दैनन् । बरु उनीहरु आफ्नो घरको कोठा खालि राख्न नै तयार हुन्छन् ।

घरधनीहरु आफ्नो निजी घर भनेर घर बनाउने अनि भाडामा लगाई पैसा कमाउने तर राज्यलाई भने कर तिर्दैनन् । यता सरकारले सरकारी कर्मचारीको तलब यही साउनबाट १५ प्रतिशत वृद्धि ग¥यो । तर निजी क्षेत्रमा काम गर्ने, संघसस्ंथा, घरायसी काम गर्ने आदिको तलब अहिलेसम्म बढाएको छैन ।केपी ओलीको सरकारले २०७८-४-१ गतेबाट जुनसुकै क्षेत्रमा काम गर्ने वा घरायसी काम गर्ने मानिसहरुको तलब वृद्धि गरेर १५ हजार रुपियाँ दिने निर्णय गरेको थियो तर शेरबहादुर देउवाको सरकारले त्यो पनि कार्यान्वयन गरेन । अहिले घरायसी काम गर्ने मानिसहरु महिनाभरिको ५ हजारमा घरको सम्पूर्ण काम गर्ने गर्छन् । त्यस्तै यता सहकारीमा बजार प्रतिनिधिहरु बिहानको ९ बजेबाट बेलुका ७ बजेसम्म काम गर्ने गर्छन् तर उनीहरुलाई महिनाभरिको ७ देखि ८ हजार मात्र तलब दिएको हुन्छ ।

यता निजी कार्यालयमा काम गर्ने मानिसहरु महिनाको १० हजारमा काम गर्ने गर्छन् । काम गर्ने ठाउँमा महँगी बढ्यो तलब बढेन भन्यो भने कामबाट नै निकालदिन्छ । सरकारले भनी उता यातायात व्यवसायको दबाबमा आएर सार्वजनिक यातायातको भाडा एक वर्षमा चारपटक बढायो । पसलेहरु पनि हप्तैपिछे सामानको मूल्य बढाउने गर्छन् । घरधनीहरु पनि ३÷३ महिनामा भाडा बढाउने गर्छन् । अब भाडामा बस्ने मानिसहरु महँगीको मारमा परी मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । अहिले प्रायजसो मानिसको अवस्था नाजुक भएर आफ्नो बालबच्चालाई सरकारी विद्यालयमा पनि पढाउन नसक्ने भएका छन् । मानिसहरुसँग अहिले कोही आफन्त वा बालबच्चा बिरामी भएमा उपचार गर्ने पैसा पनि छैन । घरधनीहरु महिना मर्नुभन्दा अघि नै घरभाडा माग्ने गर्छन् ।

यसरी घरधनीहरु पैसा भने महिनाअघि नै लिन्छन् तर पैसा तिरेको बिलचाहिँ दिँदैनन् । घरधनीहरु सवारीसाधन घरको गेटभित्र राखेको पनि महिनाको ५ सय देखि १५ सय रुपियाँसम्म लिने गर्छन् । त्यस्तै गरी पानी दिँदैनन् तर पैसा भने दोब्बर लिने गर्छन् । फोहोर, बत्ती, इन्टरनेट आदिको पैसा पनि आफूखुशी लिने गर्छन् ।अहिले पनि घरधनीहरुले तल्लो जात, एक्लो महिला, विद्यार्थी, बूढाबूढी र मजदुरी काम गर्ने मानिसलाई कोठा दिन मान्दैनन् । घरधनीहरुको यस्तो लुट र ठगको धन्दाबारेमा डेरावालले उजुरी र विरोध गर्ने ठाउँ पनि कतै छैन । आफू जन्मिएको ठाउँ छोडेर विभिन्न सेवासुविधाको खोजीमा अर्को जिल्लामा आएर कोठा भाडामा लिएर बस्ने मानिसहरु धेरै छन् ।

नेपालको जनसङ्ख्याको आधारमा ७५ प्रतिशत मानिस अहिले पनि भाडामा नै बस्छन् । भाडामा बस्ने मानिसले पाउनुपर्ने सेवासुविधा के के हो भनेर सरकारले ऐन–कानुन नबनाउँदा डेरावालले घरधनीहरुलाई महिना–महिनामा तिरेको पैसा सस्तो वा महँगो हो भनेर डेरावाल र सरकार दुवैलाई थाहा छैन ।घरधनीहरु राज्यलाई घरबाल कर तिर्नुपर्छ भनेर सबै कोठामा आफन्त बसेको छ भनेर भन्ने गर्छन् तर कोठा भने सबै महँगो भाडामा लगाएका हुन्छन् । यदि वडाबाट सरकारी कर्मचारी अनुगमन गर्न आएमा एउटा कोठाको महिनामा ५ हजार रुपियाँ लिएको छ भने घरधनीहरु डेरावालसँग ५ सय रुपियाँ मात्र लिएको छ भनेर भन्न लगाउँछन् ।

घरधनीहरुले महिना–महिनामा डेरावालसँग उठाएको पैसा अबदेखि सरकारले उठाउने र राज्यले पाउनुपर्ने कर काटेर घरधनीको खातामा हाल्ने गर्नुपर्छ । जसले गर्दा राज्यको ढुकुटीमा राजस्व पनि आउँछ र घरधनीहरुले कर छल्न पनि पाउँदैनन् । सरकार अबचाहिँ घरभाडा निधारर्ण गर्ने हो कि ? कहिलेसम्म घरधनीको शोषणामा डेरावाल दबिएर बस्नुपर्ने हो सरकार ? सरकारभन्दा घरधनी ठूलो हो कि घरधनीसँग सरकार डराएको हो ?
– रविन केसी ।

प्रतिक्रिया दिनुहोस्