व्यवस्था भन्दा व्यक्तिमाथि ?



नेपालको शासन व्यस्थाको विरुद्धमा पटक–पटक आन्दोलन भयो । नागरिकका अधिकांश आन्दोलन सफल पनि बने । देशमा शासन व्यवस्था त फेरियो तर शासन गर्ने व्यक्तिहरुको सोच र संस्कारमा परिवर्तन हुन भने सकेन । नागरिकले नेताहरुप्रति निकै ठूलो भरोसा गरेर शासन व्यवस्थाको परिवर्तनमा सहयोग गरे ।

देशमा क्रूर राणा शासन ढाल्यो, निर्दलीय पञ्चायत धराशयी भयो, सामन्ती राजतन्त्र पनि टिक्न सकेन । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । तर राजनीतिक नेताहरुले आफूलाई व्यवस्थाभन्दा माथि ठानेर व्यवहार गरेका कारण विश्वमा लोकप्रिय बनेको व्यवस्था पनि हामीकहाँ असफल देखिन्छ ।

देशलाई समृद्ध बनाउने सपनासहित आन्दोलनमा होमिएका धेरैले वलिदानी समेत दिए । निकै ठूलो त्याग र बलिदानबाट प्राप्त अहिलेको परिवर्तनबाट पनि नागरिकले सन्तोक जनाउने ठाउँमा पुगेका छन् । गत प्रतिनिधिसभाको निर्वाचनमा नागरिकले तत्कालीन नेकपालाई झण्डै दुई तिहाइ बहुमत दिए । ६–६ महिनामा सरकार परिवर्तन हुने गलत परम्पराबाट दिक्क भएका नागरिकले पाँच वर्षका लागि स्थानीय सरकारको चाहना अनुसार कम्युनिष्ट पार्टीलाई मत दिएका थिए ।

तर तत्कालीन नेकपाले त्यो जनमतको इज्जत र सम्मान गर्न सकेन । त्यो जनमतलाई तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको जुँगाको लडाइँले अन्नतः पार्टी विभाजित हुन पुग्यो । नागरिकले बहुमत दिएर पठाएको कम्युनिष्ट पार्टी छिन्नभिन्न हुन पुग्यो । शासन व्यवस्थालाई मजुबुत बनाउन तत्कालीन नेकपालाई नागरिकले बहमत दिएपनि पार्टीभित्रको आन्तरिक किचलो र कलहकै कारण जनमतको रक्षा गर्न नेकपा चुक्यो ।

नेता ओलीले दुई पटक संसद् विघटन गरेर संददीय व्यवस्था माथि नै धावा बोल्ने काम भयो । संसद् विघटन गर्ने र पुनःस्थापना गर्ने कार्यले गर्दा राजनीतिक कटुता तीव्र भयो । अहिलेको व्यवस्था र प्रणाली आफैमा गलत छैन । तर त्यसलाई सञ्चालन गर्ने नेताको सनकको कारण व्यवस्थामाथि नै प्रश्न उठाउने काम भएको छ । राजनीतिक दलहरुले देशको भविष्यप्रति गम्भीरतापूर्वक छलफल र बहस गर्नुपर्ने भएपनि सत्ता स्वार्थमा नै बढी ध्यान दिदै आएका छन् । आफू कसरी सरकारमा पुग्ने र सरकार कसरी ढाल्ने राजनीतिक दलहरुको ध्यान यसै विषयमा मात्र केन्द्रित हुँदैआएको छ । परिणामतः व्यवस्था खराब नहुँदानहुँदै पनि नेताहरुको प्रवत्तिको कारण नागरिकमा यसप्रति वितृष्णा जाग्ने क्रम सुरु भएको छ ।

निर्वाचनमा देश बनाउने सपना बोक्ने राजनीतिक दलहरु निर्वाचन जितेपछि देशको भन्दा पनि आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने कार्यमा तल्लीन भएर लागेका छन् । सरकारमा सहभागी भएर राम्रो काम गर्नेतिर भन्दा पनि आफू कसरी भन्ने भन्ने व्यक्तिवादी सोचको कारण विकास निर्माणको काम नै प्रभावित हुँदैआएको छ । सरकारमा काम गर्न जानेभन्दा पनि पैसा कमाउन जाने भन्ने मानसिकताले जबरजस्ती घर गरेको छ । देशले समृद्धिको बाटो अझै पहिल्याउन सकेको छैन । देशको शासन व्यवस्था सही हुँदाहुँदै पनि नेताहरुको सनकको कारण व्यवस्थामाथि नै बारम्बार प्रश्न उठन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्