भारतको जस्तो नेपालले तयारी गर्नुपर्छ



काठमाडौं । 

हालै सम्पन्न साफ यू २० फुटबल च्याम्पियनसिपमा भारतले उपाधि जितेको छ । फाइनलमा बंगलादेशलाई ५–२ गोलअन्तरले हराएर भारतीय युवा टोलीले उपाधि जितेको हो । जबकि, भारत बंगलादेशसँग समूह चरणमा पराजित भएको थियो । समूह चरणमा बंगलादेशले कुनै पनि खेलमा हार व्यहोरेको थिएन ।

तर, भारतले समूह चरणमा नेपाललाई ८–० ले हराउनु नै टर्निङ प्वाइन्ट बनेको थियो । भारतीय प्रशिक्षकले समेत यस कुरालाई स्विकार गरेका थिए । यो खेलपछि नै उपाधि जित्नसक्ने भएको प्रशिक्षकको भनाइ रहेको छ ।अहिले भारतीय टोली दक्षिण एसियाकै सर्वाधिक सफल र बलियो फुटबल टोली बनिरहेको छ । भारतीय टोली हरेक उमेर समूहमै दक्षिण एसियामा अब्बल रहेको छ ।

उनीहरूले उपाधि नजितेको कुनै उमेर समूहको प्रतियोगिता बाँकी रहेको छैन । यति, मात्रै होइन कि भारतीय सिनियर टोलीले एएफसी एसियन कप छनोटमा समेत पहिलो छनोट चरण पार गर्न सफल भएको छ । नेपालले भारतलाई हराउने हो भने भारतले जस्तै तयारी र योजना बनाउनुपर्छ ।

यसबारे पूर्व राष्ट्रिय फुटबलर अनिल गुरुङले नेपाल समाचारपत्रलाई बताए कि भारतलाई हराउन मुस्किल नै छ । उनले बताए—भारतले ग्रासरुटदेखि नै खेलाडी तयार गर्दै आएको छ । उनीहरुले खेलाडीलाई युरोपतिर अभ्यास गराउने जस्ता कार्य पनि गरिरहेको छ । त्यसमाथि भारतीय सुपर लिगमा विभिन्न युरोपियन देशका खेलाडीले खेल्दै आएका छन् । यसले भारतीय खेलाडीलाई बलियो बनाउन मद्दत पुगिरहेको छ । अहिले हेर्ने हो भने भारतलाई दक्षिण एसियामा चुनौती दिने टोली नै रहेको छैन ।

यस्तै, नेपाल फर्केपछि यु २० नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले पनि भारत निकै बलियो भएको प्रतिक्रिया दिए । केसीले भारतसँगको ठूलो अन्तरको हारले नेपाललाई स्तर देखाइदिएको भन्ने टिप्पणी गरेका थिए । उनले बताए–भारतले हामीलाई कुन स्तरमा छौ भनेर देखाइदियो । हामीले दक्षिण एसियामा राम्रो गर्ने हो भने अझ मेहनत गर्नुपर्ने देखिएको छ ।

नेपाललाई सिक्ने अवसर

नेपालको लागि यो प्रतियोगिता केही सिक्ने अवसरको रूपमा रह्यो । नेपाली युवा टोलीले पहिलो दुई खेल जितेर प्रतियोगिता जित्ने छनक देखाएको थियो । पहिलो खेलमा माल्दिभ्स्लाई ४–० ले हराउनु नेपाली टोलीको लागि आत्मविश्वास बढाएको थियो । दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएपछि यसपटक नेपाली टोलीले पक्कै उपाधि जित्ने भन्ने नेपालमा चर्चा भएको थियो । तर, यो चर्चा तेस्रो खेलमा आएर सेलायो, जब भारतले नेपालको गोलपोस्टमा ८ गोल बर्सायो । भारतसँगको हारले नेपाली टोलीको फाइनल पुग्न सपना चकनाचुर भइसकेको थियो । यद्यपि, चौथो खेलमा बंगलादेशलाई १–१ गोलमा रोकेर फाइनल पुग्ने झिनो आसा जगायो ।

नेपाल फाइनल पुग्न भारत माल्दिभ्ससँग हार्नु पर्ने थियो । माल्दिभ्स र भारतबीचको खेल हेर्दा माल्दिभ्सले हराउन सक्ने कुनै आधार पनि देखिएन । भारतले लगातार माल्दिभ्सको पोस्टमा आक्रमण गरिरहेको थियो । यो खेल बराबरी पक्कै हुने अवस्थाको थियो । बराबरी नतिजा नै भारतलाई फाइनल पु¥याउनेको लागि पर्याप्त थियो । यो खेलमा भारतले अन्तिममा एक गोल गरेर जितेको थियो । योसँगै नेपालको यु–२० च्याम्पियनसिप २०२२ को यात्रा समाप्त भएको थियो ।

नेपाल कमजोर

दक्षिण एसियामा नेपाली टोली कमजोर बन्दै गएको छ । नेपालले हराउने भनेको माल्दिभ्स, 
श्रीलंका र भुटान मात्रै भइरहेको छ । हो पनि हो, नेपाल भारतसँग सँधै हार्ने नै भइरहेको छ । जुनसुकै उमेर समूहमा पनि भारत नेपालको लागि बाधक बनिरहेको छ । सिनियरतर्फ गत साफ च्याम्पियनसिपमा नेपाल बल्लबल्ल फाइनल पुग्यो, तर, फाइनलमा उही पुरानै प्रतिद्वन्द्वी भारतले ३–० ले हराएको थियो । यसपटक भारतीय युवा टोलीले भने नेपाली फुटबलले सोच्नै पर्ने पाठ सिकाइदिएको छ ।

नेपालको लागि अहिले चुनौती भनेको दक्षिण एसियामा बलियो र सफल हुनु हो । यो चुनौती पार गर्न नेपालमा पनि भारतमा जस्तै व्यवसायिक लिग हुनु जरुरी छ । नेपालमा वर्षमा मोफसलका प्रतियोगिता, लिग भइरहेका छन् । तर, यतिले भने पुगेको छैन । धेरै विज्ञहरूले भनिरहेका छन् पनि नेपालमा फुटबललाई व्यवसायिक गर्न कदम चाल्नुपर्छ ।

स्वार्थ र राजनीति प्रमुख कारण

अनिल गुरुङले एन्फाको किचलोको कारण पनि नेपाली फुटबल माथि उठ्न नसकेको बताए । उनले भने—‘एन्फामा कार्यकाल चार वर्षको हुन्छ । उनीहरुले काम गर्दै जाँदा फेरि अर्को समूह आएर काम गर्न कोसिश गर्छ । यसले पहिलेले काम गरेको पुरा हुन पाउँदैन अर्कोले नेतृत्व सम्हालेर जान्छ । उसले पनि पहिलेको कामलाई निरन्तरता दिँदैन । यसले नेपाली फुटबलको भविष्य अन्धकार भएको छ । नेपालमा फुटबल खेलेर भविष्य छैन भनेर कति खेलाडी विदेसिएका छन् । नेपालको लिगमा पहिलेको जस्तो चार्म पनि छैन । लिगलाई माथि उठाउने कोसिस गरिरहेको छैन । अर्को एन्फा, राखेप र सरकारले नेपाली फुटबल उठाउन केही योजना ल्याउनुपर्ने पनि भएको छ । यी निकायहरूले गम्भीर भएर सोच्नुपर्ने अवस्था आइसकेको छ । यदि यसमा सहि कदम नचालेमा भोलि हामीलाई माल्दिभ्स, श्रीलंकालाई हराउन पनि गाह«ो हुनेछ ।’

ग्रासरुट असरदार भएन

कर्मा छिरिङ शेर्पा एन्फाका अध्यक्ष हुँदा ग्रासरुटको कार्यक्रम सहरदेखि जिल्ला जिल्ला पुगेको थियो । यो कार्य सह्रानिय पनि छ । तर, कोभिडको कारण यो जसरी जानुपर्ने हो त्यो भएन । ग्रासरुटले नै दक्ष राम्रो खेलाडी उत्पादन गराउँछ । अनिल गुरुङले नेपालमा ग्रासरुटको कार्यक्रम त्यति असरदार नभएको बताएका छन् । उनले बताए–नेपालमा ग्रासरुट त शुरु भयो, तर यसको नतिजा आउन सकेन । शुरु भएको ठाउँमा कस्तो रह्यो भन्ने अनुगमन पनि भएन । ग्रासरुटले राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ । पहिले एकेडेमीमा धेरै खेलाडी थिए, त्यसैबाट टोली तयार हुन्थ्यो, तर, अहिले भने कता–कताबाट खेलाडी ल्यायो । अभ्यास गरायो अनि खेलायो यसले कसरी नतिजा निस्कन्छ र ?

प्रतिक्रिया दिनुहोस्