मौन कूटनीति



अमेरिकी सभामुख न्यान्सी पेलोसीले विवादित ताइवान भ्रमण सकेर फर्कनासाथ चीनले सैन्य अभ्यास शुरु गरेको छ । ताइवानले चीनले ब्यालेटिक क्षेप्यात्र प्रहार गरेको आरोप लगाएको छ । चीनले न्यान्सीलाई भ्रमण नगर्न चेतावनी दिएको थियो । चेतावनीको वेवास्ता गर्दै उनी मंगलबार ताइवान पुगिन् ।

बुधबार उनले ताइवान छाडे लगत्तै चीनले टापुबीचको समुद्र वरपर सैनिक अभ्यास गरेर आफ्नो शक्ति र आक्रोश प्रदर्शन गरेको छ ।
चीनले जस्तोसुकै घटना हुनसक्ने भन्दै अभ्यास क्षेत्रमा अन्य देशका पानीजहाजलाई वैकल्पिक बाटो खोज्न चेतावनी दिएको छ । ताइवानले मुलुकभर उच्च सतर्कता अपनाएको छ । आपत्कालीन अवस्थाबाट जोगिन जनतालाई पूर्वाभ्यास गराइएको छ । चीन र अमेरिकाको द्वन्द्व अन्यत्रको तनाबजस्तो होइन, युक्रेनमाथि रसियाको आक्रमणजस्तो मात्र पनि होइन । दुई महाशक्तिबीचको टकराब हो यसका कारण विश्व नै आतंकित हुनु स्वाभाविक हुनआउँछ । खासगरी एशियाली मुलुकहरु दुई महाशक्तिको द्वन्द्वबाट प्रभावित हुने अवस्था छ ।

ताइवानको विवाद पुरानो हो, यसलाई चीन आफ्नो अंग मान्छ भने अमेरिका स्वतन्त्र मुलुक ठान्छ । नेपालजस्तो विश्वका मुलुक जसले चीन र अमेरिकाबाट सहयोग लिइरहेका छन्, उनीहरु भने कुन पक्षमा उभिने– समस्यामा छन् । नेपाल एक चीन नीतिको समर्थक रहँदैआएको छ तर अमेरिकी दृष्टिकोणको विरोधमा उभिन भने सक्तैन । यसबेला ताइवानमा अमेरिकी प्रभाव बढ्यो भनेर चीनले त्यहाँको सत्ता अपदस्थ गर्ने र त्यसका लागि आक्रमण गर्ने स्थिति बनेको छ ।

तर ताइवानले अमेरिकाको साथ लिएर अझै शक्तिशाली बनेर स्वतन्त्र मुलुकका रुपमा विश्वसामु खडा हुने तत्परता देखाएको छ । न्यान्सीको भ्रमणले अमेरिका र चीनबीच ठूलो दरार पैदा भएको छ । ताइवानमाथि चीनले आक्रमण गरेमा तेस्रो विश्वयुद्ध हुने चेतावनी अमेरिकाको छ । तर चीन अझै संयमित देखिन्छ । चीनको चर्को आलोचक रहेकी न्यान्सीले चीनलाई चिढ्याउन ताइवान भ्रमण गर्नु र दुई देशबीच सत्रुता बढाउनु ठीक थिएन । न्यान्सीको चीन भ्रमणलाई रुस र उत्तर कोरियाले विरोध गरेका छन् ।

नेपाल लगायत विश्वका अधिकांश मुलुकले न्यान्सीको भ्रमण उचित समयमा नभएको टिप्पणी गरिसकेका छन् । न्यान्सीको भ्रमणले ताइवानलाई नै अपठ्यारोमा पारेको ताइवानका जनताको आरोप छ ।युक्रेन र रुसबीचको युद्ध जारी रहेको अवस्थामा अमेरिका र चीनबीच तनाब बढ्नु तेस्रो विश्वयुद्धलाई आमन्त्रण गर्नु हो । एक चीन नीति अनुसार आफूलाई समर्थन गर्न विश्वका मुलुकलाई चीनले आह्वान गरेको छ । हतियारको राजनीतिमा माहिर अमेरिकाले ताइवानलाई अर्बौं रुपियाँ बराबरको हतियार बेच्न राजनीति गरेको आरोप लगाइएको छ ।

अमेरिका–चीन तनाव बढ्दै जाँदा नेपालमा सामरिक, आर्थिक र सामाजिक क्षेत्रमा ठूलो असर पर्नेछ । दुई महाशक्ति मुलुकबीच आमनेसामने हुँदा विश्व अर्थतन्त्रमा थप प्रतिकूल असर पर्नेछ । दुई मुलकको चेपुवामा परेको नेपालले कुनैपनि मुलुकको समर्थन गर्नु हुदैन । चीन वा वाइवानमध्ये कुनलाई समर्थन गर्ने भन्ने प्रश्नमा नेपाल चुप लाग्नुको विकल्प छैन । मौनता पनि कूटनीतिको अभ्यास हो भन्ने सत्य बिर्सनु हुन्न ।

प्रतिक्रिया दिनुहोस्