प्रहरी हिरासतमै बलात्कारको प्रयास, असई निलम्बित



बाँके ।

हिरासतमा रहेकी महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिनुभयो ।

चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘अब अदालतले सफाइ दियो भने जागिर बच्छ । होइन भने, चौलागाईंको जागिर गयो’ –एसपी अधिकारीले भन्नुभयो ।इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राती दुई बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

‘सोधपुछ’ गर्ने बहाना बनाएर असई चौलागाईंले ती महिलालाई कोठामा बोलाएका थिए । कोठामा बोलाएपछि असई चौलागाईंले बलात्कारको प्रयास गरेका थिए । त्यही समयमा गस्तीमा गएको गाडी फर्किएर आएपछि ‘पोल खुल्ने’ डरले चौलागाईंले महिलालाई छोडेका थिए । बाँके प्रहरीले असई चौलागाईंले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ ।

साउन ११ गते बहुविवाह मुद्दामा प्रहरी हिरासतमा आइपुगेकी महिलालाई असई चौलागार्इंले गलत नियतले राती २ बजे कोठामा बोलाएका थिए । महिलालाई आधाराती असईले कोठामा बोलाएपछि हिरासतमा रहेका थुनुवाले होहल्ला गरेका थिए । राती एक निद्रा सुतेर उठेपछि असई चौलागाईंको नियतमा खोटको भावना आएको थियो । जसले गर्दा उनको जागिर जाने अवस्था आएको छ । बाँके प्रहरीले राती दुई बजे सोधपुछका लागि भनेर महिलालाई बोलाउनु नै गलत भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्