२५ दिनपछि अर्थमन्त्रीमा पुनः शर्मा नियुक्त



काठमाडौं । 

नेकपा माओवादीका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । आर्थिक वर्ष २०७९-०८० को बजेट पेस गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि राजीनामा दिएका शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा शर्मामाथि करको दर हेरफेर गरेको विषयमा चर्को विरोध गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो । समितिले झन्डै दुई साता लगाएर अनुसन्धान गरे पनि आवश्यक प्रमाण नभेटेको रिपोर्ट संसद्मा प्रस्तुत गरेको थियो । उक्त प्रतिवेदनका आधारमा शर्मा निर्दोष रहेको ठहर भएसँगै नेकपा माओवादी केन्द्रले पुनः शर्मालाई नै अर्थमन्त्री बनाउने निर्णय गरेको हो ।

आइतबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै पुनः अर्थ मन्त्री बनाउन सिफारिस गर्नुभएको थियो । प्रचण्डको सिफारिसअनुसार आइतबार नै शर्मालाई प्रधानमन्त्रीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।यसैबीच शर्माले आइतबार नै अर्थमन्त्रीको सपथ लिनुभएको छ । प्रधानमन्त्री देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ गराउनुभएको हो । शपथलगत्तै उहाँले साँझ अर्थ मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्नुभएको थियो ।

करका दर हेरफेर गराउन अनधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका थिए ।अध्ययन समितिले अर्थ मन्त्रालयको सीसी क्यामेराको फुटेज हेर्नका लागि फरेन्सिक ल्याबमा चेकजाँच गराएको थियो । तर, उक्त फुटेजमा मानिसको पहिचान हुन नसक्ने भएपछि अन्ततः शर्मा निर्दोष रहेको समितिले निष्कर्ष निकालेको थियो ।

सीसीटीभी फुटेज तीन महिनासम्म राखिने

सरकारले सिंहदरबार परिसरभित्र हुने गतिविधिको सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्ने काम अघि बढाएको छ । गृह मन्त्रालयले तीन महिनासम्म सीसीटीभीको फुजेट अनिवार्य रूपमा राख्न निर्देशन दिएसँगै शहरी विकास मन्त्रालयअन्र्तगत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सिंहदरबार परिसरभित्र जडान गरिएका ४७ वटा सीसीटीभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्न ब्याकअप थप्न लागेको हो ।

अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृहमन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो । सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार सीसीटीभीबाट खिचेका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने प्रावधान छ । हाल राखिएका सीसी क्यामेराबाट २४ घण्टामा फुजेट तयार हुने र उक्त फुटेजलाई तीन महिनासम्म सुरक्षित बनाउन काम अघि बढाउन लागिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका आयोजना प्रमुख मच्चाकाजी महर्जनले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
हाल सिंहदरबार परिसरभित्र जडान गरिएको सीसीटीभी क्यामराको व्यवस्थापन र मनिटरिङ सिंहदरबारभित्र रहेको प्रहरी गणले गर्दै आएको छ । प्रहरीले निगरानी गर्ने भए पनि सीसीटीभीको फुटेज ब्याकअप प्रणाली बलियो नहुँदा १२ दिनपछि आफैं मेटिने गरेको बताइएको छ ।

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र हुनसक्ने कुनै पनि गतिविधिलाई प्रमाणको रूपमा सुरक्षित राख्नका लागि क्षमता बढाउन लागिएको बताउँदै महर्जनले भन्नुभयो–‘सिंहदरबारभित्र जडान गरिएका सीसी क्यामरा गुणस्तरीय छ, हामीले ब्याकअप थपेर तीन महिनासम्म फुटेज सुरक्षित राख्छौं, ९१ दिनपछि फुटेज आफैं डिलिट हुन्छ ।’ उहाँका अनुसार करिब १२ लाख रुपियाँको लगानीमा ब्याकअप थपिनेछ । सिंहदरबारभित्र हाल २१ वटा मन्त्रालयसहित ५४ वटा कार्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्