तत्काल अन्तवार्ता शुरु गर्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

 ताला नखोले संघर्षमा उत्रने चेतावनी



काठमाडौं ।

नेपाल विद्यार्थीसंघले त्रिबि सेवा आयोगमा लगाएको ताला खोल्न माग गर्दै एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेका छन् । आज आइतबार बिहान आयोले तोकेको प्राध्यापक र सहप्राध्यापकको तय गरेकै मितिमा अन्तर्वार्ता गर्नुपर्नेमाग गर्दै प्रदर्शन गरेको हो ।

नेविसंघले गएको बिहीबार समाजशास्त्र संकायका डीन युवराज लुइटेंलको कार्यकक्षमा तोडफोड गरी शुक्रबारबाट आयोगको मुलगेटमा तालाबन्दी गरेका थिए । नेविसंघले प्राध्यापकमा बढुवा हुन अन्तवार्ता दिने तयारीमा रहेका सहप्राध्यापक लुईटेल लगायतलाई रोक्न तालाबन्दी गरेको अनेरास्ववियुले आरोप लगाएको छ ।

यसअघि माघमा रोकिएको अन्तवार्ता आजबाट सोमबार सम्म सञ्चालन गर्ने कार्यतालिका थियो । आयोगका अध्यक्ष लालुप्रसाद पौडेलको कार्यकाल यही १७ गते समाप्त हुदैन । उहाको कार्यकाल सकिएपछि नेपाली काग्रेस निकट उपप्राध्यपक र प्राध्यापकलाई बढुवा गर्नकै लागि नेबिसंघले तालाबन्दी गरेको स्रोतको भनाइ छ ।

आयोगका अध्यक्ष पौडेलको कार्यकाल सकिएपछि नेपाली कांग्रेस निकटलाई आयोगको अध्यक्ष नियुक्ति गर्ने र पार्टी निकटलाई बढुवा गर्ने सोच अनुसार तालाबन्दी गरेको अनेरास्ववियुको भनाइ छ । केन्द्रीय कमिटी सचिवालय सदस्य एवं त्रिवि इन्चार्ज  मदन विष्टले तत्काल अन्तवार्ता शुरु नगरे संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । हामीले तालाखोल्न दबाब दिएर प्रदर्शन गरेका हौं, हाम्रो मागप्रति वेवास्ता गरे संघर्ष गर्नेछौ । उहाँले तत्काल ताला खोलेर अन्तवार्ता प्रकृया अघि बढाउन त्रिबिलाई आग्रह गर्नु भएको छ ।

तालाबन्दीको कारण आज हुने अन्तवार्ता प्रभावित भएको छ । अब कहिले हुन्छ निश्चित छैन । अनेरास्ववियुका महासचिव समिक बडालले आयोगले तय गरेकै मितिमा अन्तवार्ता हुनुपर्ने बताउनुभयो । भन्नुभयो–नेविसंघका केही साथीहरुले ताला लगाएका छन् । तत्काल ताला नखोले संघर्षका कार्यक्रम सार्वजनिक गर्नेछौ–उहाँको भनाई थियो । नेविसंघले आयोगले अन्तवार्ताको नाममा त्रिविलाई एमालेको भर्तिकेन्द्र बनाउन लागेको आरोप लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्